ख्वै मेरो यौनिक अधिकार ?

तस्बीर श्रोतः एफोरिक ब्लगस्पट डट फि

हेलसिन्की सेन्ट्रल स्टेशनमा यात्रुहरुको राम्रै भिडभाड हुन्छ । र, प्रत्येक पटक म त्यहाँ पुग्दाँ विभिन्न दृश्यपरिदृश्यहरु देखेकै हुन्छु । जस्तो माग्नेहरुले बटुवाहरुबाट पैसा फुत्काउन प्रस्तुत गर्ने सृजनशीलता, एक्ला बृद्धबृद्धाहरु, तरुनी तन्नेरीहरु र हतार हतार हिडिरहेका मान्छेहरुको भीड । तर आज सयौं मान्छेहरुका बीच एउटा जोडी देखेँ, जो लिपिक्कै टाँसिएर दश मिनेटभन्दा बढी समय चुम्बनक्रिडामा ब्यस्त रह्यो । यी दृश्यहरु देखिरहँदा मलाई खासै अचम्म त लाग्दैन सायद बानी परिसकेको भएर पनि होला तर कताकता असहजताको अनुभूति चाँहि हुन्छ । सोच्दछु, कि सार्वजनिक स्थानमा जहाँ सयौं मान्छेहरु ओहोरदोहोर गर्दछन् त्यहाँ कम्तिमा पनि यतिधेरै स्वतन्त्रताको हक नदिएको भए पनि हुने परन्तु युरोप हो – यहाँ एउटा नागरिक अरु नागरिकहरुको अधिकार हनन् नहुनेहदसम्मका लागि आफ्नो स्वतन्त्रताको हक उपभोग गर्न स्वतन्त्र छ । र, यहि समय म मेरो देशको नागरिक भएको नाताले उपभोग गर्न पाउने अधिकार र यस विकसित देशका नागरिहरुलाई प्रदत्त गरिएका अधिकारहरुका बीच अनायाश तुलना गर्न पुग्दछु । बोध हुन्छ यस्तो पनि कि नागरिक भएर खास स्वतन्त्रताको अधिकार प्रयोग गर्न पाएको छैन मैले । त्यस्तै अरु आम नेपालीहरुले !
चुम्बन क्रिडामा मस्त त्यो जोडीलाई देखिरहँदा मैले केहि दिन पहिले एउटा तथाकथित सन्तुलित र उत्कृष्ट समाचार सामाग्री प्रशारण गर्ने एउटा टि.भी.को रिपोर्ट हेरेको याद गरेँ । रिपोर्टमा एउटा टि.भी. प्रस्तोता प्रहरीको एक झुण्ड सहित केहि गेष्टहाउसहरुका कोठाकोठामा छापा हान्दै थियो । रिपोर्टमा भनिदै थियो – प्रहरीको छापाबाट डराएर युवती बाथरुमभित्रबाट चुकुल लगाएर बसेकी छिन र उनका प्रेमी उनलाई बाहिर आउन आग्रह गरिरहेछन् ।  लगत्तै क्यामेराको फोकस बिछ्यौनामाथि पारियो र रिपोर्टमा भनियो – यो बेडको बिग्रिएको दृश्य र खोलिएको कन्डमको बट्टा देखेर नै हामी स्पष्ट हुन सक्छौ कि यहाँ अनैतिक कृयाकलाप भएको थियो । मलाई दया जाग्यो रिपोर्टरको शब्द चयन देखेर, त्यो प्रेमी र प्रेमीकाबिचको आपसी समझदारीमा भएको यौन कार्यालाप कसरी अनैतिक भयो ? के उसोभए हरेक विवाहित जोडीबिच हुने यौनकार्य मात्र नैतिक हो ? कि यौनकार्यका लागि विवाह मात्रै अन्तिम अनि एकमात्र नैतिक विकल्प हो ? कुनैपनि दुई वयस्क ब्यक्तिहरु आपसी समझदारीमा कसैलाई पनि अवरोध नहुने गरी यौन सम्बन्ध कायम गर्नु गैर्हकानुनी कार्य हो ? यस्तो चटक संसारको अरु कुन कुनामा छ ? 
कहिलेकाही समाचारका शिर्षकहरु देख्दा पनि बडो उदेक लागेर आउँछ । यस्तै एउटा उदेकलाग्दो समाचार शिर्षक पढेको थिएँ एकदिन, लेखिएको थियो – राजमार्ग छेउछाउका बनजंगलमा उच्छृङ्खल क्रियाकलाप बढ्दो ! एउटा पत्रकार प्रहरीसँग मिलेर गेस्टहाउसमा छापा मार्न जान्छ अनि ‘अनैतिक कृयाकलापमा संलग्न’ युवायुवतीहरुको कथा देखाउँछ र अर्को पत्रकार फेरि वनजंगलतिर घुम्छ र समाचारमा असन्तुष्टी पोख्छ – सार्वजनिक स्थलमा बढ्दो ‘उच्छृङखल गतिविधी नियन्त्रण’ गर्नका लागि पुलिसप्रशासनको ध्यान पुगेन ! अनि म चाँहि विलखबन्दमा पर्छु यी समाचारहरु पढेर – अब गेष्टहाउसमा छापा मारेपछि वनजंगल नगएर कहाँ जानु त ? 
अव युवाहरु जाग्ने बेला भएको छ आफ्नो अधिकारका लागि । मध्य युगिन परिपाटीमा चल्न खोजिरहेको राज्यसत्तालाई सचेत गराउने बेला भएको छ अब । दश बार्‍ह वर्षका चिचिला नानीबाबुहरुको बिबाह रोक्न नसक्ने सरकारले दुई वयस्कहरुको आपसी समझदारीमा हुने यौनसम्बन्धलाई निषेध गर्ने नैतिक बल छैन । युवाहरुले खबरदारी गर्नु जरुरी छ – रोक्ने बालबिबाह हो, न कि बालिगहरुले आपसी समझदारीमा कायम गर्ने सम्बन्ध !
हेलसिन्की, फिनल्याण्ड

Comments

Unknown said…
kuro ryang thyang sahi ho.........khas gari reproting gardai hidne tv channel prati chai mero ni kada aapatti xa

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)