Skip to main content

एउटी चेली, यौनसम्बन्ध र लघु मानवहरू


फेरि एकपटक मैले लघु मानवहरूलाई सम्बोधन गर्नु पर्ने भयो । लघु मानवहरूका एकदम सीमित अनि अपाहिज ज्ञानका विषयमा प्रश्न उठाउनु पर्ने भयो । सन्दर्भ एउटा घटनासँग सम्बन्धित छ । आजै मात्र अनलाइन खबरमा एउटा समाचार पढेको थिएँ, मैले । समाचारको शिर्षकले नै मेरो ध्यान आकृष्ट गर्‍यो – ‘नेपाली चेली दुबईमा पक्राउ !’ समाचार अनुसार एक पाकिस्तानी युवासँगको ‘अवैध’ सम्बन्ध कारण त्यहाँको अदालतले नेपाली चेलीलाई एक वर्षका लागि जेल चलान गरेछ । समाचार पढ्दै गर्दा ‘इन्टरनेशन ट्रान्जिट’ का रूपमा विकास हुँदै गएको भनिएको संयुक्त अरब ईमिरेट्स जस्तो देशमा मध्ययुगिन कानुनी ब्यवस्था देख्दा टिठ लाग्यो मलाई, अनि गम्भिर पनि कि यो सोचेर – जहाँका डान्सबारहरूमा विभिन्न देशबाट युवतीहरू आयात गरिन्छ, नाँगा नाचहरू देखाइन्छ त्यो वैध छ । जुन देशको शेख, मोहम्मद विन रसिद अल जायद चालीस जनाका एक्ला पति छन्, त्यो पनि वैध छ दुवईमा । तर एउटी विदेशी कामदार युवतीले अर्को एउटा विदेशी कामदार युवकसँग यौन सम्बन्ध राख्नु ‘अवैध’ छ दुबईमा ! मलाई साँच्चिकै विरोधाभाषपूर्ण लाग्यो त्यहाँको कानुन ! हुन त संस्कार अनुसारको कानुन हुने हो । कति विदेशीहरूलाई हाम्रा कानुन पनि विरोधाभाषपूर्ण नै लाग्छ होला । खैर, मैले यहाँ उप्काउन खोजेको विषय चाँहि त्यो घटनामा हाम्रा नेपाली लघु मानवहरूले ब्यक्त गरेको टिप्पणीप्रति हो ।
अत्यन्तै लघु सोच छ कि हामीहरूको ? प्रतिक्रिया पढ्दै गर्दा मलाई अनुभूति भैरहेको कुरो हो यो । मैले उक्त समाचार पढ्ने समय ब्यक्त गरिएका सबै १४ थान लघुमानवहरूका टिप्पणी जति सबै नकारात्मक थिए । सबैको एउटै मान्यता थियो – चेलीले ठूलो अपराध गरिनँ । सायद धेरैले आफ्ना कुण्ठा पनि ब्यक्त गरेका हुन त्यहाँ । कुण्ठा अर्थात आफूले केटीको प्रेम नपाउनाले दमित भएको यौनेच्छा ! एउटा अल्पज्ञानी लेख्छ – ‘थुक्क ! नेपालीहरू हुँदा हुँदा त्यसलाई पाकिस्तानी ... नै चाहिने ?” त्यो प्रतिक्रिया छाप्ने सम्पादक कस्तो हो ? –प्रतिक्रिया पाए जस्ता पनि राखिदिने ! त्यो टिप्पणी गर्ने मान्छेको बौदिक दरिद्रता पनि उस्तै फेरि । के नेपाली केटीले नेपाली केटासँग मात्र यौन सम्बन्ध राख्न पर्ने हो ? विदेशमा गएका कति नेपाली केटाहरू छन् जो विदेशी केटीसँग यौन सम्बन्धनै राख्दैनन् ? अनि हाम्री चेलीले आफूले मनले चाहेको विदेशीसँग यौन सम्बन्ध कायम गर्न नहुने ? त्यस्तै अर्को एकजना लेख्छ – पैसा कमाउन जे पायो त्यो गर्ने पनि के को चेली ? उसको टिप्पणीमा मैले नबुझेको कुरो – के युवतीहरू पैसाकै लागि मात्र यौन सम्बन्ध राख्छन् ? अनि फेरि मलाई प्रतिप्रश्न गर्न मन लागेको कुरो – हैन उसकी आमाले पनि आफ्ना बुढासँग पैसा लिएर मात्र यौन सम्बन्ध राख्दीरहिछन् कि क्या हो ? 
अझ एउटा टिप्पणीकर्ता त लेख्दछ – “साला भालू (यौन व्यवसाय गर्ने महिलाहरूलाई होच्याएर भन्दा प्रयोग गरिने शब्द) लाई नेपाल फर्काउने हैन, उतै जेलमा सडाउनु पर्छ....!” मानौं कि नेपाल देश भनेको त्यही एउटा उसको मात्र हो, र यहाँ उसको राज छ । समाचार पढेपछि ब्यक्त गरिएका सबै सबै टिप्पणीहरू पढे पछि मलाई लाग्यो – “हैन हामी शारीरिक बनोटमा मात्र हैन मानशिक बनौटमा पनि लघु नै रहिछौं ! कस्तो धरातलीय ज्ञान हाम्रो ?” यौनलाई किन यतिविघ्न जटिल बिषय बनाईरहेका छौं हामी ? हामी आफू चाँहि कति पानीमा छौं ? के सबै नेपाली पुरूषहरू एउटै मात्र नारीप्रति समर्पित छ त ? के सबै नेपाली लोग्नेहरू आफ्ना श्रीमतीहरूप्रति ईमान्दार छन् त ? वैदेशिक रोजगारमा भूगोलको विभिन्न कुनामा छरिएर रहेका पच्चिस लाखभन्दा बढि नेपाली युवाहरू कोही पनि विदेशी युवतीहरूसँग लसपस नै गर्दैनन् होला त ? के एउटी नेपाली नारी आफूले ईच्छाएको पुरूषसँग यौन सम्बन्ध कायम गर्न उसको स्वतन्त्रताको विषय नै हैन त ? हामी आफूले चाँहि जे गर्दा पनि हुने तर हाम्रा चेलीहरू चाँहि पूरै नेपाली मूल्य र मान्यताहरूलाई पछ्याउनै पर्ने बाध्यात्मक परिस्थितिमा रहने ?  हामीले कहिलेसम्म यस्तो दोहोरो चरित्र प्रदर्शन गरिरहने ? 
अब हाम्रो संकुचित मानसिकतालाई विस्फारित गर्नु जरूरी छ । हामीले कम्तिमा पनि बुझ्नु जरूरी छ – कुनै पनि ब्यक्ति स्वतन्त्र छ, र अरूको मानवअधिकार हनन नहुने हदसम्म आफ्नो स्वतन्त्रताको हकको अभ्यास गर्न ऊ पूर्णत अधिकारसम्पन्न छ । चाहे त्यो छोरा होस् या छोरी !
(सम्बन्धित समाचार यहाँ पढ्नुस)
2 comments

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…