परदेश, नयाँ काम र पुराना यादहरु

कामदारको पोशाकमा आफैलाई कैद गर्दै
परदेशमा ६ महिनासम्म कामविहिन भएर बस्नुको एउटा पिडा थियो, अब त्यो पिडा समाप्त भएको छ । र, नयाँ पिडा शुरु भएको छ – रोजगार हुनुको । हुनु त खुशि हुनु पर्ने हो – बेरोजगारी भएर बस्नुपर्ने दिन – विशेषगरी विश्वविद्यालयमा पठनपाठनको तालिका नभएको दिन र सप्ताहन्तका २ दिनहरुमा समेत बेफुर्सदी बनिने भइयो भनेर । तर, काम पाएर पनि धेरै त्यस्ता कारणहरु हुँदा रहेछन् जसले गर्दा बेखुशी हुनुपर्ने । कारणहरु फरक होलान्, भोगाईहरुमा भिन्नता होलान् तर त्यसबाट उत्पन्न पिडा करिवकरिव उस्तै हुन्छन् । मलाई यस्तो पनि लागेको छ, कतै प्रायः मान्छेहरुका काम पाउँदाका शुरुका दिनका अनुभूतिहरु सायद उस्तै पनि हुन्छन् कि ? 

एकजना भाईको नजिकको सम्बन्धमा रहेका एकजना दाईले आफूले काम गर्ने ठाउँमा तीनजना अरु बेकामे मान्छेलाई काममा लगाईदिने अठोट गरेर प्रक्रिया शुरु गरेपछिबाट आरम्भ भएको छ – मेरो रोजगारीको कथा ! मैले अहिलेसम्म नदेखेका ती सज्जनले (काममा लागेको केहि महिनापछि वहाँसँग मेरो भेट भएको थियो) आफूले काम गर्ने कम्पनीका सुपरभाइजरलाई उनको सम्पर्कमा रहेका भाइसहित म र अर्को साथीको नम्बर उपलब्ध गराईदिएपछि एकै दिन विभिन्न समयमा अन्तरवार्ताका लागि बोलावट भएको थियो । बिहान आठबजे ती भाइको पालो थियो । सुपरभाइजरसँग एकछिन उसको कार्यालयमा पसेका उनले जागिर पाइएन भनेर निस्किए । पछि बताए – दिउँसोको समयमा पनि काम गर्नु पर्छ भन्दा सक्दिन भनेछन् भाईले र फलतः उसोभए काम दिन नसक्ने बताएछ सुपरभाइजरले । त्यो बिहान निरशमय भो । दिउँसो अन्तरवार्ता भनिएको ममा कुनै उत्साह रहेन । किन्तु, दिउँसो काम गर्न सक्छु भनिदिएपछि मेरो हातमा चाँहि उसले कामको सम्झौता–पत्र थमाईदियो । मपछि अन्तरवार्ताको पालो परेको साथीले चाँहि राहदानी नै बोक्न बिर्सनु भएछ, काम भएन । गएका थियौं तीनजना काम बन्यो मात्र एकजनाको । खासमा खुशिभन्दा धेरै बेखुशी भएर फर्किएका थियौं हामी– त्यो दिन । हेलसिन्कीबाट ४० कि.मी उत्तरपश्चिमको दिशामा रहेको हाम्रो निवासमा फर्कदा त्यो दिन हामीले टिकट नकाटी रेलको यात्रा गर्‍यौं । कामविहिन हामीहरुलाई प्रतिब्यक्ति ३ यूरो २५ सेन्ट खर्चनु चानचुनको कुरो थिएन पनि ।

७ मार्चदेखि मेरो समय मैले कम्पनिको चाहनाअनुरुप प्रयोग गर्नेगरी बेचेर आएको थिएँ– त्यो दिन । र, गएको बिहिबारबाट त्यो सम्झौता लागू पनि भयो । काम गर्ने शुरुको दिन म तोकिएको समयभन्दा आधाघण्टा पहिले कार्यस्थलमा पुगेँ । चिनेको एउटा पनि अनुहार थिएन त्यहाँ । केहि नेपालीहरु पनि थिए तर खासै बोलचाल भएन । सायद पहिलो दिन भएर होला दुईजना नेपाली बाहेक कोही पनि खुलेनन् । एकजनाले चाँहि परिचय गरेँ । तीनवर्षजति भएको रैछ उनले त्यहाँ काम गर्न थालेको । अर्को एकजना चाँहि युवती थिईन । जोसँग म आफै गएर परिचय गरेँ । नेपाली युवतीहरु परिचयको शुरुवात हतपत आफैले गर्दैनन्, उनले पनि गरिनन् । त्यसकारण, म आफैले कष्ट गर्नु पर्‍यो । कुरा गर्दै गएपछि थाहा लाग्यो – फिनल्याण्ड आएको ६ महिना भएको रहिछ उनको । र, काम थालेको चाँहि पाँच दिन । एकछिन पछि समूह नाइकेले हाम्रो हातमा कामको जिम्मेवारी थम्याईदिए । मेरो चाँहि शुरुको दिन भएकाले तालिम जस्तो हुँदो रहिछ अनि काम पनि अलि कम । युवतीको जिम्मामा ११ वटा कोठाहरु थिए भने मेरो भागमा ८ वटा ।

त्यो बिहान, साढे दश हुन दश मिनेट बाँकि हुँदा मलाई मेरो समूह नाइके बंगलादेशी साथीले नौतले पानीजहाजको दोश्रो तल्लामा पुर्याए । जहाज भर्खर स्वीडेनबाट आएको रहिछ । यात्रुहरु निस्कदै थिए । कम्पनीको सरसफाई कर्मचारीले लगाउने पोशाक लगाए जहाजतिर लम्किदै गर्दा मैले झुक्किएर पनि कुनै यात्रुको अनुहार हेरिनँ । मनमा अलिअलि लघुताभाष भएर हुनुपर्छ । ख्वै कति राम्रा युवतीहरुलाई मैले हेरिनँ, कति जोडी हसमुख जोडीहरुमा मेरो आँखा पुगेन त्यो त मलाई थाहा भएन तर उँधो मुन्टो लगाएर पानीजहाजभित्र छिर्ने लामो प्यासेजमा हिड्दै गर्दा मैले एकसाथ शिक्षक भएर पढाएका दिनहरु याद गरेँ । विद्यालयमा कार्यक्रम सञ्चालन गरेको याद गरे । विभिन्न संस्थाहरुमा कार्यक्रम अधिकृत भएर चेकमा हस्ताक्षर गरेको पलहरु याद भए । र याद भए ती दिनहरु जतिखेर म एकसाथ १०–१५ कर्मचारीहरुलाई कामकाबारेमा बुझाइरहेको हुन्थे ! 

र, अन्त्यमा सबै यादहरु स्मृतिमा बिस्मृत गराउन करै लाग्यो । सोही अनुरुप गरेँ । अनि शुरु भयो मैले थालनी गरेको नयाँकामको पहिलो दिन – बंगाली साथीको निरीक्षणमा आठ थान कोठाहरु र आठ थान शौचालयहरु सफा गर्ने, त्यस्तै १८ थान बिस्तरा चिरिच्याट्ट पारेर मिलाउने । ७ मार्चको दिन साढे दशबजे शुरु गरेको काम तीन बजे समाप्त भयो । त्यो काम जुन मसहित ५० भन्दाबढी नेपालीहरुले गर्दै आएका छन् । फरक यत्ति छ – कसैले भर्खरभर्खर शुरु गरेका छन्, कसैले ६–७ वर्षपहिलेदेखि गर्दैआएका छन् ।

पहेंलो पृष्ठभूमीमा लेखिएका वाक्य पछि अद्यावधिक गरेको हुँ ।

Comments

Unknown said…
लेख साह्रो मन छुने छ । अव केहि पाउन केहि गुमाउनै पर्छ निराजन सर । तपाईको लेखले हामीजस्ता लाई प्रेरणा दिन्छ ।
Unknown said…
sarai gajab ko article rahaecha sir ko maan nai choyo aasa cha aru pani auto biography padhna paeeyaela ....
Unknown said…
Nice.its better not to compare with your past.thats make you happy

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)