Skip to main content

त्यो प्रभात छिट्टै आओस्


एक जना भन्छ – “देश बर्बाद भो !”
त्यसैमा अर्कोले थप्छ – “नेताहरुले देशलाई खत्तम बनाए !”
सबभन्दा निराश अर्कोले सुस्केरा हाल्दै बोल्छ – “नेपालमा बसेर केहि हुँदैन, भविष्य बनाउन विदेश नगई हुँदैन ।”
स्वदेशमा हुँदा म स्वयं संलग्न भएका वार्तालापहरुमा मैले सुन्ने गरेका गुनासाहरु हुन् यी । म आफैले बोल्ने गरेका वाक्यांशहरु पनि यिनै हुन । र, प्रायः सबैतिर सबैजसोले सधैंभरी संवादमा समाहित गरेका तिक्तताहरु समेत हुन् यी । म जान्दिनँ भनिएका सबै यथार्थ हुन या होईनन् तर मैले बुझेको यत्ति हो – देश अत्यन्तै गम्भिर परिस्थितीबाट गुज्रिरहेको छ । संक्रमणकालीन अवस्था अझ लम्बिदो छ । हुन्छ भनिएका कुराहरु भैरहेका छैनन् । आम मानिसहरु हतार अनि निराश मनस्थितीमा छन् । देशको बागडोर संचालनको जिम्मा पाएका तथाकथितहरु ‘कुहिरोको काग’ भएका छन् । सहमतिको रटान दिदै उनीहरुले आ–आफ्नै डम्फु बजाईरहेका छन् । कर्तव्य बोध गरेर जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने क्षमता हामी सबैमा करिबकरिव समाप्त भैसकेको डरलाग्दो परिस्थितीको निर्माण भैसकेको छ । अझ गम्भिर विषय त सधैं बुढो पुस्तालाई केहि गर्न दिएनन् भनी आरोप लगाउँदै आएका युवापुस्ता भनौंदाहरुको प्रतिनिधि कोहिपनि अग्रगामी कदम चाल्न तत्पर छैन । यो पुस्ता बुढा पुस्ताहरुले भने जस्तै काँचो र अपरिपक्व हुनमा नै रमाएको छ । त्यसैमा मज्जा लुटेको छ ।
अनि अर्कोतिर आफूलाई सदा सोझो र निम्छरो ठान्ने हामी जनताहरु चाँहि देशको विग्रदो परिस्थितीको हिस्सेदार आफू पनि हो भन्ने तथ्यलाई हृदयगंम गर्नबाट भागिरहेका छौं । खाली दोष लगाउनु र सराप्नु बाहेक खास ठोस पहलकदमी हामीले लिन नै खोजिरहेका छैनौं । फगत चिया पसलमा “देश बर्बाद भयो” भन्ने गुनासाहरु गर्दैमा हाम्रा प्रभातहरु बित्ने गरेका छन्, र भट्टिहरुमा “नेपालमा बसेर भविष्य नबन्ने” गफ चुट्दैमा हाम्रा साँझहरु खेर गैरहेकै छन् । हामीलाई लागिरहेको छ – गफ गर्नु, गुनासो गर्नु अनि खुइय सुस्केरा हाल्नु जनताका हैसियतमा हामीलाई स्वतः प्राप्त अधिकार हुन यी । बेफ्वाँकका गफगाफमा जुट्नुको अलावा देश निर्माणका खातिर हाम्रा पनि केहि महत्वपूर्ण दायित्वहरु छन् भन्ने “हरिज्ञान” हामीलाई कहिल्यै आउन सकेको छैन । बरु सकभर जसरी हुन्छ, नेताहरुलाई गाली गर्नु र त्यसैबाट प्राप्त भ्रामक आत्मसन्तुष्टिमा रमाउन सक्नु मै खुशि लागिरहेछ हामीलाई । बिचरा हामीहरु ! 
बिर्सिनै नहुने कुरो के हो भने संविधान निर्माणका लागि संविधानसभामा प्रतिनिधिहरु पठाउने हामीहरु नै हौं । उनीहरु अर्थात हाम्रा प्रतिनिधीहरुले संविधान बनाउन असफल भए भन्नुको मतलब हामी पनि धेरथोर यस मामिलामा असफल नै भयौं । अब एकपटक हुनै नहुने एउटा गम्भिर त्रुटी भएको छ ।  त्यो त्रुटि जिम्मेवारी पाएर पनि पूरा गर्न असफल हाम्रा नेताहरुले गरे, अनि चुपचाप रहेर त्यसको अनुमोदन हामीहरुले गर्‍यौं । यसको सिधा अर्थ संविधानसभाको अवसानमा केहि भूमिका हाम्रो पनि छ । त्यसरी भैसकेको त्रुटिलाई समयमै हामीहरुले महशुस गर्नु जरुरी छ । ईन्कार र निषेधले कहिल्यै पनि कसैको भलो हुँदैन । अब हामी सबै एकै स्थानमा उभिनु जरुरी छ । जतिसक्दो छिटो ताजा जनमतमा गएर नेपाली भूगोल सुहाउँदो संविधान निर्माण गर्नु आवश्यक छ । 
अब हामीले त्यो आगत निर्माण गर्नुछ जहाँ सम्पूर्ण नेपालीहरु पूर्ण आत्मसम्मानका साथ नेपाली भएर बाँच्न सकुन । हाम्रा हिमालजस्तै खुलेर सबै नेपालीले हाँस्न सकुँन । र, आफ्नो भविष्य आफ्नै मातृभूमिमा देख्न सकुन । सकौं । जय नेपाल !
1 comment

Popular posts from this blog

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?" मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!" "कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।
यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर…

सामाजिक संजाल, म अनि मेरा साथीहरू

अचानक १६ डिसेम्बरको दिन, अभूतपूर्व साहसका साथ मैले एउटा निर्णय लिएँ । विद्यमान सामाजिक संजालहरूबाट बाहिरिने । उसो त बेलाबेलामा म सामाजिक संजालहरू विशेष गरी फेसबुकबाट दुईचार दिनका लागि विश्राम लिने गर्दथेँ । त्यसरी विश्राम लिदा एकाध साथीभाईहरूले बडो प्रेमपूर्वक मसँग संचार सम्पर्क स्थापित गर्थे। फेसबुकमा निकै नै सक्रिय हुने मलाई छिट्टै फर्किनलाई आग्रह पनि गर्थे । उनीहरूको आग्रह सँगसँगै म फेरि त्यहि भर्चुअल दुनियाँमा सामाजिक सम्बन्धहरूको नविकरण गर्ने कामलाई निरन्तरता दिने गर्दथे । ट्विटरमा खासै सक्रिय नहुने मलाई इन्स्टाग्राममा बेलाबेलामा तरह तरहका तस्बीरहरू पोस्टिनु मन पर्थ्यो । तर, फेसबुकमा चाँहि म अचाक्ली नै सक्रिय थिएँ । तर ८ बर्षदेखिको फेसबुकको खातालाई सदाका लागि निष्क्रिय पारेपछि मसँग चल्तिका सामाजिक संजालमा प्रोफाइल रहेन ।  अतः बितेका आधा महिनादेखि म साँच्चिकै सामाजिक जीवन बाँच्ने प्रयत्नमा लागेको छु ।
उसो त सामाजिक संजालबाट बाहिरिनुलाई कतिपयले साथीभाईहरूको विशाल संजालबाट आफूलाई विमूख पार्नु हो भनेर बुझ्ने गर्दछन् । यहिँ नेर म फेसबुकमा मसँग जोडिएका करिब १२०० जना साथीहरू र मसँग जोड…