दिलमायाको दिलमा शिरीष फूलेको दिन

प्रिय सानुसँग

६ वर्ष पूरै बितेर आज सातौं वर्षमा प्रवेश गरेछ – दिलमायाको दिलमा शिरीष फूलेको ! पत्तो नै नपाइकन एकै झिमिकमा छ वर्षहरु पार भएको अनुभूति भएको छ मलाई आज, सायद सानु पनि उस्तै अनुभव गर्दैछिन होला । त्यो दिन परम्परा अनुसार सानुको सिउँदो रंगाउँदै गर्दा मलाई याद छ त्यो अत्यन्तै किफायती बिबाह थियो । योजनाले त खास त्यो किफायति बिबाह थिएन, तर परिस्थिती त्यस्तै बनेको थियो । ऋणधन गरेर तडकभडकको विवाह गर्ने प्रचलनको खिलाफ भएका कारणले पनि मेरो आफ्नो स्वंयको आर्जनले सम्पन्न गरेको बिहे थियो त्यो । सानुका लागि १६ हजार दाम मंगलसुत्र किन्नमा खर्च भएको थियो । मलाई थाहा छ त्यो अत्यन्तै कम मूल्यको थियो, मुश्किलले आधा तोलाको हुनुपर्छ त्यो । तथापी मेरो मेहनतको १६ हजार थियो त्यो जतिखेर म मासिक ८ हजार ३ सय आम्दानी गर्ने गर्दथेँ । अनि मलाई थाहा छ बिहेको भोजमा जम्मा १० के.जी. जति खसिको मासु ल्याइएको थियो – त्यस्तै ४ हजार चानचुन खर्च गरेर । तर साँझको कार्यक्रम चाँहि भब्य नै थियो । मेरी मृदुभाषी मातारीका थुप्रै साथीहरु जम्मा भएका थिए त्यो रात । र, रत्यौली पनि भएको थियो । रत्यौली सुन्दासुन्दै म भुसुक्कै भएको थिएँ त्यो रात । भोलीपल्ट मातारी सुनाउँदै हुनुहुन्थ्यो – बिहान चारबजेसम्म चल्यो रत्यौली । र, यसरी करिब २५/२६ हजारमा हाम्रो शुभविवाह सम्पन्न भएको थियो ।
एउटा छुटाउनै नहुने कुरो के छ भने, बि.सं. २०६४ को बैशाख ४ गते अर्थात हामीलाई गृहप्रवेश गराएको दिनभन्दा तीनदिन अगाडि मैले उनलाई भगाएर ल्याएको थियो, त्यो पनि ठूलीआमा (आमाको दिदी) को घरमा । मैले केटी भगाएर ल्याउने कुरो म स्वयं, अनि मेरी पत्नीलाई समेत पत्तो नभएको अवस्थामा ठूली आमालाई थाहा हुने कुरै भएन । मुसलधारे पानी परेको त्यो साँझ हामी बेनीबाट ट्याक्सीमा रत्नेचौरका लागि हिड्यौ । साथमा थिए मेरा अनन्य मित्र राजकुमार । त्यो रात सायद उनी पनि सधैं सम्झन्छन् होला, करिव ३ कि.मी जति यात्रा गरेपछि जंगलको मध्यभागमा आएर ट्याक्सी हिलोमा फस्न पुग्यो । यति त आपद परेन लेखेर अभिव्यक्त गर्न सक्दिनँ म । करिब आधा घण्टा सम्मको भगिरथ प्रयत्नबाट पनि ट्याक्सी अगाडि बढन नसकेपछि प्रकाश दाई ट्याक्सी लिएर बेनी फर्कनु भयो । हामी चाँहि तीन जना भएर जंगलको बाटो रत्नेचौरतिर लाग्यौं । मोबाइलको धिपधिपे उज्यालोमा डर हटाउन राजकुमार र म चर्कोचर्को आवाजमा कुरा गर्दै हिड्यौं, दिलमाया खास बोलीनन् । बिचरा ! के बित्दै थियो उनको मनमा कुन्नी !? चुपचाप हिडिरहिन् । पानी सिमसिम परिरहेको थियो । करिव पैतालिस मिनेटको पैदलयात्रा पछि हामी ठूलीआमाको घरमा पुग्ने पनि र पानी पनि मुसलधारे वर्षिन थाल्यो । 
बिहान राजकुमार घरमा गए बुबाआमासँग कुरा गर्न । घरको जेठो छोरो विशेष रहर पनि थियो होला बुबाआमाको । किन्तु, हुने कुरा भैसकेको थियो – एकदम अचानक । म साँझ मात्र घरमा पुगेँ । आमा बाबालाई ढोगेँ । बाबा खास बोल्नु भएन । एकदम चुपचाप लाग्यो । घर पुग्नुभन्दा पहिले बाबाको डर थियो मलाई, के भन्नुहोला कि भनेर । तर घर पुगेपछि महशुस गरेँ – बुबाले मेरो पो डर मान्नु भैराखेको जस्तो, सायद सोचेर होला – “केहि भनिहाले पनि जवाफ फर्काइहाल्ला वा झगडा गर्न तम्सेला !” बाबाको मुहारमा मलिनता पढेपछि मलाई सारै दुःखबोध भयो । बोलेँ – “बुबा, त्यस्तै अपर्झटमा भो, असजिलो नमान्नु हैं । हुन त फर्काउन आउने रे भोली कि फकाईदिउँ र बा !” खासमा दिलमायाको घरबाट फोन पनि आएको थियो –“सर, यो वर्ष हामी पोखरा घर सर्दै छौं, मन्दिरमा गएर बिहे गरौंला उताबाट हजुरले पनि बाबाआमा ल्याएर आउनुहोला, भोली सानुको फुपु र दाई आउँछन् उसलाई फर्काइदिनू हैं !” बाबाले एकछिन पछि मसिनो स्वरमा बोल्नुभयो – “ल्याएपछि किन फर्काउनू ? भो, छाड्दे !” आमा पिढीको छेउमा उभ्भिनूभएको थियो, एउटा हातले पालीको दलिनमा समातेर, हेरेँ आमातिर, आमा अनुहारमा चमक गुमे जस्तो पाएँ । धक मानीमानी नजिक पुगेँ, आमाले भन्नुभयो, मैले सुनिनँ । ख्वै मैले केहि मेसो पाइँन, मसिनो स्वरमा केहि भन्दै हुनुहुन्थ्यो । सायद गुनासो थियो होला – जेठोबाठो छोरो सरसल्लाह केहि नगरी आफ्नै मर्जी गर्‍यो । 
अन्तरजातिय बिबाह भएका कारण पनि शुरुमा अलिकति अप्ठ्यारो नै भयो । घरमा त त्यस्तो केहि अप्ठ्यारो थिएन, सायद पिताजी कम्युनिष्ट हुनुको फाइदा प्रत्यक्ष मैले प्राप्त गरेँ । उसो त २०३० सालतिरै मेरो आफ्नै मामाले अन्तरजातिय बिबाह गर्नू भएकाले मलाई सजिलो भएको हुनुपर्छ । तर आफ्ना केहि मानिसहरुले चाँहि हाम्रो बिबाहलाई उती रुचाएनन् त्यतिखेर । धेरैलाई कुरो गर्ने मेसो बनेछ – मामाले मर्गनी ल्यायो, भान्जाले छन्त्यालनी भित्र्यायो ! केहीले चाँहि मेरी पत्नीले बनाएको खाना नखाने पनि भनेछन्, मैले सार्वजनिकै उद्घोष गरिदिएँ जसले मेरो पत्नीले बनाएको खाना खाँदैन ऊ मेरो कोही हैन, म त्यो मरे नून बार्दिन, त्यो जिउँदो छउन्जेल त्यसको आँगनमा पाइँला राख्दिनँ । ख्वै मेरो उदघोषले हो कि पत्नीको मिजासले हो पछि बिस्तारै सबै ठीक हुँदै गयो ।

Comments

Namrata Bibas said…
अत्यन्तै राम्रो लाग्यो ।
Unknown said…
भेटहरु धेरै पल्ट भएका थिए तर विवाहको वारेमा भन्नुभएको थिएन, अहिल्य यो लेख पढेपछि थाहा पाए । लेखाईमा कुनै सेन्सर नै छैन । जस्तो आखाँले देख्छ त्यहि नै शव्दमा उत्रिएको छ । यस्ता ओजनदार लेखनवाट म पनी केहि लेख्न सिक्दैछु । निराजन गुरुलाई फेरीपनी धन्यवाद ।
Pawan Paudel said…
भनेजस्तै लेखाईमा कुनै सेन्सर देखिएन् । यसभन्दा अगाडीका पोस्टहरु पढ्दा पनि कुनै सेन्सर भेटिएन् । यही त हो नि ब्लगको फाइदा । म मनमनै सम्झदै छु आफ्नो जीवनसाथीलाई भगाएको दिन राती जंगलको बाटो हिड्नु पर्दा नयाँ ठाउँ नयाँ अनुभव दिलमायाको दिलमा कस्तो कुराले डेरा जमायो होला ? Everything is fair in Love and wareसायद त्यसैले होला । शिरीषले सार्वजनिकै उद्घोष गरिदिएको जसले मेरो पत्नीले बनाएको खाना खाँदैन ऊ मेरो कोही हैन, म त्यो मरे नून बार्दिन, त्यो जिउँदो छउन्जेल त्यसको आँगनमा पाइँला राख्दिनँ ।

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)