यून्ती, प्राध्यापिका र देश दुखेको छाती

“दाई, साँच्ची देशका लागि केहि गर्नै पर्ने भएछ, आजको गेस्ट लेक्चरको सेमिनारमा भाग लिएपछि मलाई यस्तो लाग्यो दाई । एकदम अकस्मात् मलाई यस्तो लाग्यो !” सधैं फुटबल विशेषगरी इंग्लिस प्रिमियर, च्याम्पियन्स लिग र ला लिगाका कुरा गरेर नथाक्ने मेरो हितैषी भाई सुवासले आज यस्तो दुखेसो पोखे । त्यो पनि त्यतिखेर जतिबेला म भर्खर कामबाट फर्केर देशकै खबरहरु पढिरहेको थिए । यो अकल्पनीय विषयबाट आरम्भ भएको वार्ताको कारण जान्न म अत्यन्तै उत्सुक भैहाले, त्यस्तै कौतुहुलता मलाई त्यतिखेर पनि लागेको थियो जतिबेला मेरा अर्का हितैषी लक्ष्मीले मध्य अप्रिलको दिन म नेरै आएर भुत्भुताईरहेका थिए –“गुरु, देश छातिमा दुःखेको छ, म कसरी बुद्द र सगरमाथाको कुरा लिएर मात्र गर्व गरुँ ?” लक्ष्मीसँगको यो घटना चाँहि त्यतिखेर भएको थियो जतिखेर एक सञ्चारकर्मी ‘म्याराथुन टक सो’ मार्फत विश्वले चिन्नेछ नेपाल, बुद्ध वाज वन इन नेपालको नारा लगाएर नेपाल चिनाउँदै थिए । 
त्यो म्याराथुन टक सोसँग भन्दा पनि लक्ष्मीसँगको प्रसङ्ग चाँहि अलि भिन्न र अलिकति मन मै विझ्ने खालको छ । भएछ के भने विश्वविद्यालयबाट ४ हप्ते ‘प्लेसमेन्ट’ को शिलशिलामा एउटा वृद्धआश्रममा व्यवहारिक ज्ञान र सिप आर्जन गरिरहेका मेरा मित्रले आफ्नो चार हप्ते बसाईको अन्त्य अन्त्यमा एउटा प्रस्तुती दिएछन – आफ्नो देश सम्बन्धी । अब स्वभावतः नेपालको प्राकृतिक सौन्दर्यको साथसाथमा मानवीय पिडा र अभावका तस्बीरहरुले पनि नेपालको परिचयमा आफ्नो मजबुत उपस्थिती राख्ने नै भए । विचरा मेरा मित्रले पनि समेटेछन् केहि तस्वीरहरु । कथित विकसित भनिएको समाजमा भिन्न लाग्ने तस्विर – सिंगाने केराटीका तस्वीर, सडक बालबालिकाको कन्तविजोग र धर्मशालामा ल्याएर थन्काइएका अभागी बाजे बज्यैहरुका तस्वीर ! प्रस्तुतीको भोलिपल्ट त्यसै वृद्धआश्रममा रहेको एकजनाले उनलाई स्वागत गरेछ उनले सुन्दै नसुनेको फिनिस विशेषण सहित – ह्वामेन्ता (शुभप्रभात) यून्ती ! विचरा उनले ह्वामेन्तासँगै जोडिएर आएको शब्दको अर्थ त बुझेनन् तर शुभप्रभातको अभिवादन पाएपछि मुस्कुराएर भित्र छिरेछन । जव पछि “यून्ती”को अर्थ पत्तो पाए अनिखेर कन्सिरी तात्ने नै भयो । पछि मैले पनि पत्तो पाएँ मेरा हितैषीको छातिमा देश दुख्नुको कारण । अघिल्लो दिनको प्रस्तुतीका केही निम्छरा तस्वीरहरु देखेपछि उक्त फिनिसले नेपालीलाई ठानेछ यून्ती अर्थात पाखे, असभ्य !
र, आजको घटनाचाँहि अलि पृथक छ । “इन्टरनेशल सेमिनार” का नाम दिएर नेपालबाट झिकाइएकी “प्राध्यापिका” को कन्तविजोग प्रस्तुती देखेपछि मेरा हितैषीहरुको मथिंगलमा देशका लागि केहि गर्नै पर्ने सोचले डेरा जमाएछ । उपत्यकाको एक कलेजकी सहायक क्याम्पस प्रमुख रहेकी उनले मुस्किलले आफ्नो प्रस्तुती भ्याइछिन् । नेपालमा नर्सिङ शिक्षाको महत्व र नर्सिङ पेशाका सम्भावना एवं चूनौतीहरुका विषयमा मात्र हैन नेपालका बारेमा पनि प्रस्तुती दिइछन् । तर सुवासको जिकिर थियो – “एउटा इन्टरनेशनल फोरममा प्रस्तुती दिने न शैली थियो, न त अङ्ग्रेजीको चित्त बुझ्दो ज्ञान नै ! अरु त अरु नेपाल सहित दश बार्‍हअरु देशका विद्यार्थीहरु रहेको सेमिनारमा उनले हामी (नेपालीहरु) लाई जवाफ पनि नेपाली मै दिईन । क्या यार दाई त्यस्ता त प्रोफेसर रहिछन् हाम्रो देशाँ !” म चुपचापै रहे । उनले थपे – “कस्तो झुर क्या, त्यो भन्दा राम्रो ज्ञान भएका अरु थिएनन होला कि ?” उनले यसो भनिरहँदा मैले केशव स्थापितको अन्तरबार्ता सम्झिए जहाँ उनले भनेका थिए – फिनल्याण्डमा फोहोर ब्ववस्थापनका बारेमा अध्ययन गर्न आउने एउटा टोली गठन गर्न खोज्दै गर्दा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराइकी श्रीमती हिसिलाले कति झमेला गरिन । नेपाल छाडेर विदेशमा आउने भन्दा वित्तिकै सारै ठूलै भइन्छ भन्ने भ्रम जो छ हामीमा, त्यसैको एउटा ज्वलन्त उदाहरण सायद ती प्राध्यापिकाको आगमन पनि हो । विचरा, कति राजनैतिक दाउपेचले उनले यहाँसम्म पाईला राख्न पाएकी हुन्, अनि कहाँबाट गतिलो हुन्छ प्रस्तुती ? प्रस्तुती गतिलो हुनलाई त नयाँ र योग्यलाई ठाउँ दिनु पर्‍यो नी !
मेरा दुवै जना हितैषीहरुले आ – आफ्नो असन्तोष पोखिरहँदा मैले कुनै जवाफ दिइँन । तर त्यतिखेर पनि र अहिले पनि मलाई लागिरहेको चाँहि के हो भने – हामी साँच्चीकै अब्यवस्थित छौं र मान्छेहरु हामीलाई ‘यून्ती’ देख्छन् ! हामी अनुभव छ तर प्रयोग छैन, अध्ययन छैन त्यसै ठूलो बन्ने रहर छ अनि त हाम्रो प्रस्तुतीहरु कन्तविजोग लाग्दा छन् । ढिलै भएपनि हाम्रा छातिमा देश दुख्नु सुखद संयोग हो । यसले कम्तिमा पनि हाम्रो पुस्तालाई सभ्य, व्यवहारिक र कुशल पुस्ता हुनमा प्रेरित गर्न सकोस् हामी सबैलाई शुभकामना !

यो सृजना अध्ययन गर्ने फुर्सद निकाल्नुभएकोमा यहाँलार्इ हार्दिक आभार - नीराजन शिरीष
Post a Comment

Popular Posts