सुरभित तिमी


म अकिञ्चन*
म नादान*
असमर्थ छु म
सुन्दरताको तिम्रो
गर्नलाई बख्यान ।

ख्वै ढाँटेर वा साँच्चिकै
पौडिदै नयनहरुमा
आफ्ना प्रियतमाका
भन्छन् प्रेमीहरु,
अहाँ ! कति सुन्दर ?
नयन प्रियसीका मेरा !
अरुलाई जस्तो लागोस् परन्तु,
तर मलाई लाग्छ तिम्रा दुई चक्षुहरु
ती हुन मरभुमीका एक जोर रोहोटाहरु*
जो छन उस्तै सुप्रदिप्त
जसमा पाउँदछु म प्रेमका अगाध – छालहरू !

हुन्छन् कहाँ सुन्दर ती
कस्मेटिक नागरीहरू*
जो दुर्गन्ध छरिहरहेछन्
हर साँझ – सुन्दरताको !
सुँघ्छु जब म सुरभित* तिमीलाई
लाग्छ फिक्का ती मलाई
प्रशोधित वासनाहरु
कस्मेटिक नागरीहरु !

तिमी शैवाल* झैं सदावहार छ्यौ
तिमी सतिसाल झैं अटल छ्यौ
हो, तिमी अतुलनीय छ्यौ ।

तिम्रो सूक्ति*
तिम्रो सुषमा*
पाइँदैनन् ती खोजेरपनि रत्ति,
कस्मेटिक नागरीहरुमा
किनभने तिमी झैं छैनन तिनीहरू साँच्चि
थाहा छ ?
तिमी प्राकृतिक हौ, उनीहरु निर्मित हुन ।

कृत्रिम झलमलीमा अलमल्ल म,
म अकिञ्चन,
म नादान
त्यसैले छु असमर्थ
सुन्दरताको तिम्रो
गर्नलाई बख्यान ।

*शब्दार्थः
सुरभित – सुगन्धित, सुवासित
रोहोटो – पानी जमेको सानो खाल्टो
सुषमा – परमशोभा
सूक्ति – मधुरवचन
शैवाल – पानी जमेका ठाउँमा पलाउने हरियो रङको झ्याउ
नागरी – सहरमा बसोबास गर्ने स्त्री, सहरिया स्त्री
नादान – उमेर वा अवस्था नपुगेको
अकिञ्चन – धनविहीन, दरिद्र
4 comments

Popular Posts