“दाई, मलाई निको भयो नी !”


प्रिय शान्ति,
तिमी, मेरी साथीकी बैनी अर्थात मेरी पनि बैनी । म यहाँ आफ्ना केहि नीजि समस्याहरूलाई बेवास्ता गरेर भन्दा आरामै छु । तर थाहा पाएँ तिमीलाई बिसन्चो छ ।
तिमीलाई लाग्ला कि तिम्रो विसन्चोको खबर यति टाढा यो यायावरसम्म कसरी आईपुग्यो ? मैले यसकारण तिमी बिमार भएको थाहा पाएँ कि हिजाँल मेरो मुहारप्रिस्थिकाको भित्ताभरि धेरैजना मान्छेहरुले बाँडेको तिम्रो सुप्रदिप्त मुहार अनि सहयोगका लागि तिमीले गरेको याचनाका शब्दहरू छरिएका छन । तिम्रो अस्वस्थताप्रति धेरैले चिन्ता ब्यक्त गरेको देख्दा खुशि लागेको छ यसअर्थमा कि धेरैले तिम्रो उपचार प्रक्रियामा चासो राखेका छन । र, दुःख पनि लागेको छ जब देख्छु तिमीलाई सहयोग गर्नेहरुको फेहरिस्तमा एकदमै कम मानिसहरुको नाम भेट्छु ।  


तिम्रो रोग र संघर्षको बारेमा पढ्दै गएपछि मलाई लाग्यो कि लाखौंमा विशेष एकदुईजनामा पर्नु सधैं सबैका लागि वरदान नहुँदो रहिछ । कहिलेकाही यो कस्तो बिडम्बनापूर्ण हुँदो रहिछ हगी ? हेर न केहि मानिसहरु लाखौंमा एकदुईभित्र परेर कस्तो सम्पन्नशाली छन् । कम्ता खुशि त छैनन उनीहरु । तर तिमी, मेरी प्रिय बैनी यो तिमीलाई के भएको ? कस्तो रोग लागेको ? कस्तो विधीको विधान लिएर आएकी तिमीले जीवनमा ? बार्‍ह वर्षको उमेरमा बाबाको माया सदाका लागि गुमाउन पुग्नु, आर्थिक अभावले पढ्दापढ्दै बिचैमा अध्ययन कार्य छाड्न विवश हुनु, एसएलसी सिध्याउँदा बित्तिक्कै जागिरको खोजीमा हिड्नु, जागिर पाउनु अनि फेरि अध्ययनलाई निरन्तरता दिनु । यहाँसम्म त संघषपूर्ण नै भएपनि जीवन जिउनुको खास आनन्द तिमीले लियौ भन्ने लाग्छ । तर यो कस्तो बज्रपात तिमीले सहन गर्नुपरेको ? सुन्दैछु, तिमी हाइपोप्लास्टिक एनेमिया रोगबाट ग्रसित रहिछ्यौ । र, बोन म्यारो ट्रान्सप्लान्टका लागि २० लाख रकमको जोहो गर्नुपर्ने पनि रहेछ । यो थाहा पाइसकेपछि म यति निरीह र निशब्द भएकी यहाँ अभिब्यक्त गर्नलाई मसँग शब्दहरु छैनन् । सम्झेँ – तिमी मेरै सहोदर बैनी भएकी भए ? सोचेँ – तिम्रो ठाउँमा म भएको भएँ ? म अनि मेरा परिवार कसरी ब्यवस्थापन गथ्र्यौ होला यो सब ? अनि रिंगटा लाग्यो मलाई सबै सम्झेर कस्तो अभिताप ब्योहोरी रहेछन् तिम्रो परिवार । कति विवश छन तिम्रा दाजु । म कल्पना पनि गर्न सक्दिन, मेरा प्रिय मित्र लोकेशको ठाउँमा म भैदिएको भए कति निरीह जीवन बाँचिरहेको हुन्थेँ होला ? कसरी गुज्रिरहेका हुन्थे होला मेरा प्रत्येक अभिशप्त जस्तै लाग्ने पलहरु ? यो लेख्तै गर्दा मेरा ओठ थर्थराइरहेछन सम्झेर गाउँमा एक्लै प्रौढ जीवन बाँचिरहेकी आमालाई के लाग्दो हो ? कस्तो अभिभूत जीवन हैं हामी अकिञ्चनहरुको ? 
प्रिय बैनी, मैले धेरै पटक सुनेको अनि पढेको छु – बाँच्नु पाउनु प्रत्येक मानिसको अधिकार हो । र, भोगेको छु – यो बह्माण्डमा थुप्रै अकिञ्चन मानिसहरुले बाँच्ने अधिकारको भरपुर उपभोग गर्न पाएका छैनन् । त्यसकारण पनि म ठोकुवा गर्न सक्दिनँ, तिम्रो जीवनरक्षाको प्रत्याभुति यो दुनियाले गर्छ वा गर्दैनन् । किन्तु, मेरो विश्वास छ, तिम्रो बाँच्ने उत्कट चाहनालाई मानिसहरु अरण्यरोदन ठान्ने छैनन् । आफ्नो सामथ्र्यले भ्याएसम्मको सहयोग गर्न जुट्नेछन् । यसै मेसोमा म पैसा हुने, र राम्रो कमाई हुने दम्भ भएका/नभएका सबैलाई एकमुष्ट आह्वान पनि गर्नेछु – ए, महाजनहरु हो, जीवन बाँच्ने चाहना लिएकी मेरी बैनीको इच्छालाई निभ्न नदेऊ । तिमीसँग भएको अथाह धनको एक औंस उसको जीवन रक्षाका लागि छुट्याईदेऊ । बैनी, तिम्रो प्राण रक्षाका लागि वैदेशिक रोजगारमा निमग्न नेपाली बन्धुबान्धबहरुले पनि धेरथोर सहयोग जुटाउने नै छन् । म पूर्ण प्रतिज्ञा त गर्न सक्दिनँ, तर तिमीलाई विश्वास दिलाउन चाहन्छु कि म मेरा केहि नजिकका साथीहरुलाई एउटा सप्ताहन्तमा एक दुई केस वियर खरिदका लागि खर्च गर्ने चारपाँच यूरो तिम्रो जीवन रक्षाका लागि खर्च गर्न आग्रह गर्नेछु । तर मलाई थाहा छैन, यो दुनियाँमा कति यस्ता मेरा साथीहरु होलान जसले आफ्नो मस्तीभन्दा अरुको जीवनको पर्वाह राख्दछन् !
बैनी शान्ति, म पनि एउटा लाचार मान्छे नै हुँ । तिमीजस्तै गरिव परिवारको सन्तान । मेरा पनि तिम्रो दाजुका जस्तै थुप्रै जिम्मेदारीहरु छन् – आफ्ना परिवारहरुप्रति । खैर, म यहाँ मेरा ब्यक्तिगत कुरामा उति अलमल हुन चाहन्नँ । तर तिमीलाई विश्वास दिलाउँछु हप्तामा ३ दिन काम गरिरहेको मैले मेरो दुईदिनको कमाई तिम्रो उपचार खर्चका लागि आवश्यक रकममा थप गर्नेछु । अर्थात ६४ यूरो ! थाहा छ – बिस लाख उपचार खर्च आवश्यक पर्ने यस अवस्थामा मैले दिन सक्ने यो सिमीत रकमले खास कुनै अर्थ राख्दैन । किन्तु, अपेक्षा राखेको छु मलाई माया गर्ने मेरा साथीहरुले तिम्रो जीवन रक्षाका लागि सक्दो सहयोग गर्नेछन् । अनि बैनी तिमीले देखेको बाँच्ने सपनाले मूर्त रुप लिनेछ । म चाहन्छु कि हामी फेरि एकैसाथ म्याग्दीको साहित्यिक मञ्चमा उभ्भिन पाऔं । मलाई तिम्रा गजलहरु सुन्नु छ । मलाई तिम्रो कोकिल स्वरमा मलाई गरेको सम्बोधन सुन्नु छ – “दाई, मलाई निको भयो नी !”
सप्रेम,
नीराजन शिरीष
फिनल्याण्ड
प्रिय पाठकहरू, शान्ति बैनीले लेखेको एउटा गजल यहाँहरूका लागि ---


स्वतन्त्रताको लामो श्वास तान्न पाए हुन्थ्यो
अवला यी नारीको इज्जत धान्न पाए हुन्थ्यो

अधिकार त धेरै पायौं कति गर्ने विकास अव
बैधानिकताको बाण पनि हान्न पाए हुन्थ्यो

फैलिदैछ बस्तीमा महिला हिंसा बलात्कारी केश
यो सब निर्मूल पार्ने ‍‍ओखती छान्न पाए हुन्थ्यो

नभएको होइन यहाँ नारी हस्ताक्षरको बिजारोपण
त्यहि बीजलाई स्बालम्बनले झान्न पाए हुन्थ्यो

Post a Comment

Popular Posts