Skip to main content

आमा महान छिन् उनलाई नबिर्स !

आमासँग । तस्बीरः स्वयं
”बाबु, मैले भाततरकारी पकाएर राख्देकी छु, आफू पनि खानु अनि भाईलाई पनि ख्वाउनु । खानेबेलामा कल नगरी खानु नी फेरि । त्यहाँ कल गरेको थाहा पाएँ भने बेलुका तिमेरुलाई मैले जान्या छु !” हामीलाई बिहानको चिया ख्वाईसकेपछि, पिढीमा बसेर गुहकार्य गरिरहेका हामीहरुलाई डोको बोकेर घाँस काट्न जान ठिक्क हुनुभएकी हाम्री आमाले प्रत्येक भोर मलाई यसैगरी सम्झाउनु हुन्थ्यो । त्यसपछि आमा घाँस काट्न लाग्नुहुन्थ्यो । भाई पुलुक्क मतिर हेर्थ्यो । म आँखा तरेजस्तो गर्थे ।  
आमा घाँस काट्न गैसकेपछि हामी चाँहि भान्छातिर दगुरी हाल्थ्यौं । आमाले भनेजस्तो कहिल्यै पनि झगडा नगरी खाना खाने काम गरेनौं हामी दुईभाईले । जहिले झगडा हुन्थ्यो, कसले पहिले पस्कने भन्ने विषयमा, कसले पस्कदा धेरै भात भुँइमा छर्यो र त्यो छरिएको भात कसले टिप्ने भन्ने कुरामा, अनि कुँडेबाट दुध हाल्दा कसले एक डाडु दुध धेरै हाल्यो र किन बराबर गरेन भन्ने विषयमा । दाई भएकाले अलि दादागिरी मेरै हुन्थ्यो, भाईपनि जण्डै हो मान्छे ऊ पनि लड्न कस्सिन्थ्यो । अन्तिममा रुने उही हुन्थ्यो । फकाउने म हुन्थेँ । “पैसा भएको बेलामा पाँच रुपैया दिन्छु, अहिले नरोइ र बेलुका आमालाई पनि नभन्दे” भनेपछि भाई फुलिन्थ्यो पनि । यसरी आमाको र हाम्रो बिहान शुरु हुन्थ्यो । 
मैले लेखिरहनु जरुरी छैन आमाको महिमा ! केहि अपवादलाई छाड्ने हो भने संसारका हरेक छोराछोरीलाई आफ्नी आमा विशेष नै हुन्छन् । र, मेरा लागि मेरी आमा धेरै विशेष हुनुहुन्छ । 
आमाको वात्सल्य, प्रेम र कहिलेकाही दिनुभएको गाली ती सबै विशेष छन । राजनैतिक धपेडीका कारण बुबा सधैं घरबाहिर हुनुपर्ने भएकाले हाम्रा लागि आमा, बुबा र साथी सबै हाम्री आमा नै हुनुहुन्थ्यो । त्यसकारण पनि बच्चाहुँदा बुबाभन्दा हजारौं गुणा विशेष मलाई मेरी आमा लाग्थ्यो । करिबकरिब सम्पूर्ण घरब्यवहार आमाले नै धान्नुभयो । के गर्नुभएन ? परिवारमा कसैले नगरेको रक्सी पार्ने कामदेखि भूजा भुट्नेसम्म । आमाका दुखका ती पलहरु याद गर्दैगर्दा आमाका लागि खास विशेष केहि गर्न नसकिरहँदा सारै दुखको अनुभूति हुन्छ । मेरी आमाको सबैभन्दा विशेष गुण भनेको भित्र जतिसुकै पीडा होस बाहिर सबैका अगाडि खुशि हुन सक्नु हो । आमाका तीनवटै दिदीका श्रीमान्हरु राम्रो आय भएका हुनुहुन्थ्यो । जेठो ठूली आमाको श्रीमान मास्टर, माईली ठूलीआमाको बुढा ठेक्कापट्टा र साईली ठुली आमाको लोग्ने इन्डियन आर्मी तर हाम्रो बाबा चाँहि सिर्फ राजनीति । कहिलेकाही म दुखेसो पोख्थेँ आमासँग बुबा यो अर्थउपार्जन नहुने क्षेत्रमा लाग्नुभयो भनेर, आमा भन्नुहुन्थ्यो – “तेरा बाले पैसा नकमाएर के भो ? नाम कमाउनु भएको छ ।” मैले फेरि दुखेसो गर्थेँ – “आमा नामले खान दिदैन ।” आमाको जिकिर हुन्थ्यो – “पैसाले सबै किनिदैन ।” त्यतिखेर म आमाको कुरामा सहमत हुदैनथेँ, र एक्लै भुत्भुती रहन्थेँ । अहिले महशुस हुने गर्छ – हो त, पैसाले सबैथोक किन्न नै कहाँ सकिन्छ र ?
बच्चैदेखि कविता लेख्थेँ म । मैले पहिलो कविता चार कक्षामा हुँदा लेखेको थिएँ– मेरो बिरालो शिर्षकमा । र, आमा नै हुनुहुन्थ्यो त्यसको पहिलो श्रोता । मलाई सधैं हौस्याउनुहुन्थ्यो – राम्रो छ भनेर । हुँदाहुँदा केहि आयश्रोत नै नभएकी मेरी आमाले मैले आइ.कम पढ्दै गर्दा लेखेको उपन्यास छाप्नका लागि तीन हजार उपलब्ध गराउनु भएको थिएँ । मैले एक साँझ भनेको थिएँ – “आमा मैले उपन्यास लेखेको छु, छाप्नु पर्यो । ५ हजार लाग्छ रे । हजुरले तीन हजार खोज्दिनु परो । पछि उपन्यास बेचेर म फिर्ता गर्छु ।” एक हप्तापछि आमाले ३ हजार उपलब्ध गराईदिनुभो । उपन्यास छापाखानामा बुझाएँ । छापियो पनि “पीडा र विछोड” शिर्षकमा । बेच्न दिएको उपन्यासको ठेली साथीहरुले लग्न त लगे, उपन्यास बेचे कि बेचेनन कुन्नी पैसा भने दिएनन् । र, आमाले खोजेको ऋण मैले फर्काउन सकिनँ । उपन्यास प्रकाशित भएको दुईवर्षपछि आमाले भन्नुभयो – “बाबु, अब यो लेख्ने काम गरेपनि छपाउने काम चाँहि नगर, तेरो उपन्यास छाप्दाको तीनहजार मैले अस्ति मात्र तिरिभ्याएँ ।” अहिले सम्झन्छु, सायद आमाले त्यतिखेर त्यो ऋण नखोजिदिएको भए, मैले उपन्यास प्रकाशन गर्न असमर्थ रहेको भए यसरी म साहित्यकर्ममा सक्रिय सायदै हुने थिएँ । हरेक असहजिलाहरुमा साथ दिने मेरी आमा मलाई त्यसकारण पनि निकै प्रिय हुनुहुन्छ । मेरी मार्गदर्शक, मेरी संरक्षक र मेरी पालनकर्ता ! 
भगवती माइजु, गोरीमैयाँ फुपु र मेरी आमा तीन जना मिलेर सधैं लुकी लुकी चुरोट पिउने । आमाले मेरो बाबा र कान्छो हजुरबाको अगाडि कहिल्यै चुरोट पिउनुहुन्थेन । म जान्दिनँ डरले हो वा सम्मानले तर मलाई आमाले चुरोट पिएको कत्ति मन पर्ने थिएन । खासमा मलाई के परेको थियो भने चुरोट पिउने मान्छेहरुको आयु एकदमै छोटो हुन्छ । अनि म आमालाई सधैं चुरोट छाड्नका लागि दबाब दिदैँ भन्थेँ – आमा, चुरोट छाड्नुस, यसले क्यान्सर हुन्छ रे, छिटै मरिन्छ रे । आमाले सधैं बाटाघरे बज्यैको उदाहरण दिनुहुन्थ्यो । भन्नुहुन्थ्यो – “चुरोट खाएर मर्ने भए बाटाघर बज्यैको चौरासी हुन्थ्यो ? नडराई मलाई केही पनि हुँदैन ।” आमाले यसो भन्दा म ढुक्क हुन्थेँ तर संशय चाँहि रहिरहन्थ्यो । त्यसकारण चुरोटको निहुँमा आमासँग झगडा गर्न कहिल्यै छाडिनँ । अन्ततः आमालाई हार्न करै लाग्यो, र मैले सातकक्षा पढ्दै गर्दा उहाँले सधैका लागि चुरोट छाडिदिनु भयो पनि । 
आमासँग बाल्यकालमा बिताएका प्रत्येक पलहरु अविष्मरणीय छन् । सबै लेखीसाध्य पनि छैन । अझ आमाका महानता, उहाँको त्याग र समर्पणका ब्याख्या गर्ने विशेषण पनि त छैन । त्यसैले आमाका बारेमा लेख्दैगर्दा मलाई यत्ति अनुरोध गर्न मन लागेको छ – “आमाको प्रेम अतुलनीय छ, तुलना नगर । उनको त्याग र समर्पणका कथाहरु अमूल्य छन् ब्याख्या गर्ने धृष्टता नगर । त्यसैले आमा महान छिन् उनलाई नबिर्स !”
4 comments

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…