प्रवेशिका परीक्षा र जिन्दगीको परीक्षा

२०५८ को आषाढको दोश्रो हप्ता बिहानै रेडियोमा समाचार आयो – परिक्षा नियन्त्रण कार्यालयले २०५८ बैशाखमा लिएको प्रवेशिका परीक्षाको नतिजा प्रकाशित गरेको छ । रेडियोले स्वच्छन्द स्वङ्मेनले नेपाल टप गरेको पनि भन्यो । त्यसपछि के के भन्यो त्यो मैले चासो दिईन । मसँगै रेडियो सुनिरहनुभएको मेरो बुबाले मलाई मेरो सिम्बोल नम्बर सोध्नु भयो र बेनीतिर हानिनु भयो । प्रथम श्रेणीमा उत्तिर्ण हुनेमा म ढुक्क थिएँ । एउटै मात्र घिडघिडो थियो कि विजयले (कक्षाका प्रथम छात्र) जित्लान वा मैले जितुँला ? त्यो सबै लब्धाङ्कपत्र आएपछि जानकारी हुने कुरो रह्यो । बेलुका बुबालाई पर्खेर बसिरहेको म उहाँको मुहारमा धपक्क बलेको चमकले निकै नै खुशि भएँ, अनि बुबाले भन्नुभयो – फर्स्ट डिभिजन ! बुबाले सधैं बोक्ने गरेको झोलाबाट कालो प्लाष्टिक निकालेर दिनुभयो र भन्नुभो – जा, गएर आमालाई दे । यसो चिहाएको त्यो खसिको मासु थियो । आमाले गुनासो गर्दै भन्नुभयो – “मासु किन ल्याउनुभएको ? बाबुलाई खीर मन पर्छ, मैले बाटाघर काईली दिदीलाई भनिसकेकी छु पाँच माना दूध !” त्यो दिन हाम्रो परिवारको लागि विशेष दिन थियो । यसैमेसोमा मैले बुबालाई सोधेँ – बुबा, हजुरको कुन डिभीजन नी ? बुबाले भन्नुभो – “किन ? सेकेन्ड डिभिजन हो !” पछि थाहा भो’ ३९/४० सालतिरको सेकेन्ड डिभिजनको महत्व ! त्यसकारण, मैले चाहेर पनि भनिनँ – “बुबा, हजुरको सेकेन्ड मेरो त फर्स्ट डिभिजन !”
पछिल्ला बर्षहरुमा प्रवेशिका परीक्षामा फर्स्ट डिभिजनमा उत्तीर्ण हुनु विशेष महत्वको विषय नै होईन । प्रायः नीजि विद्यालयहरुको शतप्रतिशत परिणाम र अझ लोभलाग्दो विद्यार्थी संख्या बिशिष्ट श्रेणीमा उत्तीर्ण भैदिनाले प्रवेशिकाको नतिजालाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाइएको छ । सरकारी विद्यालयको नतिजा निराशाजनक भएपनि उत्तीर्ण हुने विद्यार्थीहरुको क्षमताको मूल्याङ्कन गर्ने हो भने नीजि विद्यालयबाट प्रवेशिका उत्तीर्ण गर्ने धेरै कम मात्र प्रतिभाशाली देखिएका छन । सरकारी विद्यालयमा अध्ययन गर्ने विधार्थी अत्यन्तै सीमित श्रोत र साधनको उपभोग गर्न विवश छ । विज्ञान प्रयोगशाला र पुस्तकालय कुन चरीको नाम हो ? सरकारी बिद्यालयमा अध्ययन गर्नेलाई सायदै थाहा हुन्छ । परीक्षाको पूर्वतयारीमा विद्यालयले माखो पनि मार्दैन । बरु, विद्यालयमा नियमित विषय पढाइरहेका शिक्षकहरुले घरमै ट्युशनको ब्यवस्था चाँहि गरेका हुन्छन् । फलस्वरुपः सरकारी विद्यालयको विद्यार्थीलाई मासिक निश्चित शुल्क दिएपछि अप्ठ्यारा भनिएका अङ्ग्रेजी, विज्ञान र गणितको ट्युशन पढ्न पाउने सुविधा प्राप्त हुन्छ । तर उता नीजि विद्यालयमा चाँहि प्रायः भौतिक सुविधाहरु उपलब्ध नै हुन्छन् । अझै धेरैजसो नीजि बिद्यालयले त दश कक्षामा पुग्नासाथ विद्यार्थीलाई होस्टेल बस्नै पर्ने अनिवार्य नियम लागू गरेका हुन्छन् । अभिभावकहरुसँग चर्को शुल्क लिएर शुल्क अनुरुपको सुविधा नदिएपनि विद्यार्थीहरुलाई घोक्न लगाएर र प्रवेशिका परीक्षाको समय केन्द्राध्यक्षसँग “विशेष सेटिङ” मिलाएर कथित उत्कृष्ट नतिजा ल्याउन तल्लिन हुन्छन् ।
यसरी एउटै पाठ्यसामाग्री, एउटै प्रश्न र एकै समयमा देशैभरी प्रवेशिका परीक्षा सञ्चालन गरिन्छ । त्यस्तो परिक्षा जहाँ विद्यार्थीहरु प्रतिस्पर्धाका लागि फरक फरक वातावरणबाट सामेल गराइन्छ । यो पैसा तिरेर पढेकाहरु र पैसा नतिरी पढेकाहरुबीचको प्रतिस्पर्धा बनेको छ । यो शिक्षक शिक्षीका नामका राजनैतिक दलका झोलेहरु र जागिरका लागि अत्यन्तै मेहनत गर्ने सरमिसहरुले अध्यापन गराएका विद्यार्थीहरुबीचको प्रतिस्पर्धा बनेको छ । खैर यो सत्यता एकातिर छँदै छ तर चूरो कुरो एउटा विद्यार्थीका लागि प्रवेशिका परीक्षा उत्तीर्ण गर्नु कति महत्वको विषय हो ? किन हामीले प्रवेशिका परीक्षालाई जीवनकै एकमात्र महत्वको परीक्षा बनाइरहेका छौं ? के प्रवेशिका परीक्षा उत्तीर्ण गर्नु भनेको अब जीवनमा कुनै पनि परीक्षा उत्तीर्ण गर्न नपर्ने हो ? प्रवेशिका परीक्षामा असफल भएर आत्महत्या गर्नेहरुको संख्या बढ्नुमा जिम्मेवार को हो ? शिक्षकशिक्षिका ? विद्यालय प्रशासन ? परीक्षा सञ्चालन गर्ने बोर्ड ? हाम्रो समाज ? वा असफल विधार्थी स्वयं ?
अन्त्यमा, बिर्सनै नहुने कुरो के छ भने – प्रवेशिका परीक्षामा उत्तीर्ण हुनेहरुलाई विभिन्न मोडमा जीवनमा आईलाग्ने अन्य परीक्षाहरु खास महत्वपूर्ण छन् अझै तयार होऊ भनी सावधान गराउने समय भएको छ ।  र, प्रवेशिकामा असफल हुनेहरुलाई यो बुझाउनु जरुरी छ कि जीवन सफलतैसफलताको श्रेस्ता हैन !
1 comment