हराएको सामान नहराउने देश

“अस्ती काम परेर तिमीलाई कल गरेको थिएँ, कल ‘रिसिभ’ पनि भएन, पछि कल ‘ब्याक’ पनि गरिनौं !” मे महिनाको अन्तिम दोश्रो हप्तातिर सहपाठी शिल्पासँग गुनासो गरेको थिएँ मैले । जवाफमा उनले आफ्नो मोबाइल हराएको जानकारी गराएकी थिईन । गुनासो गरिरहेको मलाई सहानुभूति प्रकट गर्न कर लाग्यो । र, ढाढस दिदै भनेँ –“भेटिन्छ, चिन्ता नलेऊ । धेरैले भनेको सुनेको छु यहाँ हराएको सामान नपाउने भन्ने हुँदैन ।” उनले पनि मैले जस्तै सुनेकी रहिछिन । खैर मलाई मनमनमा लागेको थियो – पाँचसात सय यूरोको मोबाइल ख्वै के भेटिएला र ?!
तर मोबाइल हराएको ९/१० दिनपछि उनको हातमा उस्तै मोबाइल देखेँ । सोधे पछि थाहा भयो – हराएको मोबाइलका बारेमा भिआर अफिस (रेल सेवाको कार्यालय) को 'लस्ट एण्ड फाउन्ड' शाखामा ८/९ दिनपछि सम्पर्क गर्दा, उनको मोबाइल एक सज्जनले भेट्टाएर बुझाइदिएका रहिछन् । २५ यूरो तिरेपछि उनले हराएको मोबाइल फिर्ता पाईछिन । केहि महिना पहिले अर्को एकजना सहपाठीले अलिकति दामसहित विभिन्न महत्वपूर्ण कागजात भएको हाते झोला पार्कमा हराएकी रहिछन । पछि पुलिसकोमा जाँदा ब्याग कसैले बुझाइदिएको रहिछ । र, उनले आफ्नो हराएको सामान प्राप्त गरिछिन । यस्तो सुन्दा मलाई अचम्मै लाग्यो । यो कस्तो देश हो जहाँ हराएको सामान हराउँदैन । जहाँ हरायो भने नभेटिने एउटै चिज छ – साइकल ! साइकल बाहेक तपाइँ जे सुकै हराउनुस त्यो तपाइको स्वामित्वमा पुनः प्राप्त हुन्छ । छैन त अचम्म ?
यसो सोच्दछु, हाम्रो देशाँ एउटा केही सामान भेटियो भने सबभन्दा पहिले त्यो भेट्ने मान्छेले भगवानले जुराइदिएको ठान्छ । र, स्वतः आफ्नो स्वामित्वमा आएको ठान्दछ । मलाई राम्ररी याद छ, तिनताका म मावल बस्थेँ र आठ नौ बर्षको थिएँ । एकदिन मभन्दा २/३ वर्ष कम उमेरको एकजना साथीसँग बाटोमा हिड्दै थिएँ । मैले र त्यो साथीले एकसाथ आइसी सयको नोट बाटोमा देख्यौं । ऊ पनि – उ पैसा भन्ने मैले पनि ओहो पैसा भन्ने एकैसाथ भो । म खुर्र दगुरेर पैसा टिपेँ र मामाघरतिर बुर्कुसी मारेँ । त्यो मेरो फुच्चे साथी भुत्भुतिदै थियो । मैले केहि पर्वाह नगरी हठात् मामाघर कुदेको थिएँ । केहिबेर पछि उसकी आमा मेरी बोइसँग त्यही विषयमा कुरा गर्न आइन । उनको जिकिर थियो – “पैसो त शुरुमा हाम्रो रामकिस्नेले देखेको हो रे, तिम्रो नातीले टिपेर दगुरेछ !” मेरी बोईले चाँहि मतिर देखाउँदै भन्नु भो – “त्यो मलाई थाहा छैन, त्यसैलाई सोध् ।” मैले प्रष्ट भन्देँ – पैसो एकैचोटी देखेको हो, रामकिस्ने पनि दगुरेथ्यो उसलाई मैले जित्देँ, मैले टिपेँ । यो पैसा मेरो हो अब ।” “के कुरा गर्छ यो ? सँगसँगै देखेको भए त पैसा बराबरी हुनुपर्यो नी !” उनले बिच्किदै भनिन । मेरो पालो म पिउँदापिउँदैको चियाको गिलास त्यत्तिकै छाडेर मामाको घरबाट खेतैखेत आफ्नो घरतिर कुदेको थिएँ ।
कहिले हो सर्वाधिक बिक्रि हुने खबरपत्रिकामा अनुजा नामकी एउटी युवतीले ९० लाख भेट्टाएर फिर्ता गरिन रे भन्ने पढेको थिएँ । पछि फेरि अर्को पत्रिकाले खन्डन गर्यो त्यो नब्बे लाखको समाचारको कि अनुजा नामकी युवती दिमागी सन्तुलन ठिक नभएकी केटी रहिछन, संवाददातासँगको नजिकको सम्बन्धको फाइदा उठाउँदै हुँदै नभएको कुरा छपाउन लगाएकी रहिछन ! पछि साबित पनि भो समाचारै झुटो रहिछ । हुँदै नभएको कुरोले तहल्कै पिट्यो । तर जेभएपनि अर्काले भुलवशः छाडेको सामान वा नगद फिर्ता गर्ने संस्कार बसाल्नु पर्छ भन्ने मेरो मान्यता हो । र, फिनल्याण्डमा आएपछि नजिकैबाट यहाँका मानिसहरुको इमान्दारितालाई अध्ययन गरेपछि मनमा निकै कुरा खेल्न थालेको छ मेरो । हुन त हामी नेपालीहरुले आफैलाई सारै सोझा, इमान्दार छौ भनेर स्वघोषित पगरी गुथाएका पनि छौं तर दावी गरिए जस्तो हामीमा इमान्दारीता छ भन्ने विषयमा चाँहि मलाई निकै नै संशय छ !

Comments

nakul said…
yahaa ta harayako bhetin kuraa nagarau paaya samma chorera bhaagchhan
Mukti Poudel said…
हाम्रो देशमा यस्तो त सपनामा पनि हुँदैन

Popular posts from this blog

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

नेताको छोरा १ - समाज, विकास र चुनाव

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा