आई हेट स्टालिन !

अस्ति सँगै कामगर्ने ग्रिसको साथीसँग राजनैतिक ब्यवस्थाका बारेमा छलफल हुँदा उसले मेरो चित्त दुख्ने तरिकाले भनिदियो – आई हेट फकिङ कम्युनिष्ट ! मैले सोधेँ – कम्युनिज्मका बारेमा तिमीलाई के थाहा छ ? उसले भन्यो – उनीहरु तानाशाह हुन्छन् । जनतालाई मत दिने अधिकार हुँदैन । मैले जिकिर गरेँ – कम्युनिष्ट हुँदैनन् तानाशाह ! उसले अलि चर्को आवाजमा प्रश्न गर्‍यो – स्टालिनका बारेमा । म चुपचाप रहेँ । मैले भनेँ – ठूलो राज्यको शासक बन्ने उनको महंगो सपनाका लागि म स्टालिनका केहि कामहरुप्रति असन्तुष्ट छु । उसले आश्चर्यता प्रकट गर्दै भन्यो – तैले असन्तुष्टी प्रकट गरेर के भो अरु कम्युनिष्टहरुले पूजा गर्दछन उसलाई । मैले प्रतिवाद गरेँ – उनका धेरै राम्रा सुधारका कामका लागि उनी पूजा गर्न लायक ब्यक्ति पनि हुन, तथापि कम्युनिष्टहरु ब्यक्तिको देवत्वकरणमा विश्वास गर्दैनन् ।
उसले भन्यो – स्टालिनले आफ्ना विचारविरोधी लाखौ मान्छेहरुलाई मर्‍यो । मैले जिकिर गरिनँ – कम्युनिष्ट शासन आउनुपूर्व रुसका जारहरुले पनि हजारौं फरक मत राख्नेहरुलाई मारेका थिए । मैले यस कारण यो कुरामा अड्डी लिइँन कि मानिसहरुको हत्याको पुष्ट्याई हत्या हुन सक्दैन । जस्तो हत्यारालाई हत्या नै गरेर उसको अपराधको सजाय दिनुपर्छ भन्ने मतको विपक्षमा म छु । तर उसलाई मैले के भनेँ भने स्टालिनले आफ्नो शासन ब्यवस्थाका समयमा रुसी जनताहरुलाई सम्भव भएसम्मका सुविधाहरु प्रदान गरेका थिए । स्टालिनको समयकालमा रहेका रुसी महिलाहरु ती त्यो पहिलो पुस्ताको महिलाहरु थिए जसले आधुनिक अस्पतालमा शिशु जन्माउने सौभाग्य प्राप्त गरेँ । पुरुष बरावर शिक्षा, स्वास्थ्य र रोजगारमा बराबरीको हक पाए । के त्यो राम्रो गरेनन उनले ? मैल अरु पनि भनेँ – तिमीले जसलाई निशर्त तानाशाह भनेका छौ उसैको समयमा हो रसियामा सबभन्दा बढि विकास भएको, सबभन्दा धेरै सडक र रेल सञ्जालको विकास भएको । इतिहासका पाना पल्टाएर हेर त्यहि तानाशाह थियो – जसले आफ्ना जनताहरुका लागि सामाजिक सुरक्षाको व्यवस्था गर्‍यो । श्रमको निश्चित कोटा पूरा गरेका श्रमीकहरुले राज्यबाट अझ बढि सुविधा प्राप्त गरे । श्रमीकहरुलाई क्षमता विकासको लागि तालिम प्रदान गर्न स्वयंसेवकहरु बस्तीबस्तीमा पठायो । अन्त्यमा मैले उसलाई यो पनि जानकारी गराएँ – तिम्रो सम्झनामा रहोस् सन् ३० को दशकमा रुसमा साक्षरताको अभियान यति तिब्र पारिएको थियो कि जसको प्रत्यक्ष प्रभाव रुसी जनताको औसत आयू बृद्धिमा पर्‍यो । तिमीलाई थाहा होस् – जब मान्छे साक्षर हुन्छ, उसले आफ्नो स्वास्थ्यको ख्याल राख्दछ र उसको जीवनयापनमा गुणस्तर बृद्धि हुन्छ । र, साक्षरताको अभियान चाल्ने उनी पहिलो रुसी शासक हुन ।
उसलाई बिस्तारै चुप बस्न कर लाग्यो । किनकी, उसले कम्युनिष्टका बारेमा राम्रा केहि पनि सुनेको थिएन । उसले जति थाहा पाएको थियो, ती सबै नकारात्मक टिप्पणीहरु मात्र थिए । सकारात्मक पाटाहरु न उसले पढ्ने चेष्टा गर्‍यो न त उसलाई कसैले सुनायो ।
संवादका क्रममा उसले मलाई भनेको थियो, म प्रजातान्त्रीक राष्ट्रवादी हुँ । मैले भनेको थिएँ – जुन तिमीले अहिले भनेका छौ नी त्यो एडल्फ हिटलर सन् २० को दशकमै भनेको थियो । अर्थात समाजवादी राष्ट्रवादी ! कति मान्छे मारेको थियो हिटलरले ? उसले भन्यो – मलाई हिटलर मन पर्दैन । अब उसलाई भन्नु मेरो केहि थिएन । म चुपचाप बसेँ ।
आदर्शहरु पढ्नका लागि मात्रै हैनन् । म विश्वास गर्दछु ती शिरोधार्य गर्नका लागि हुन । ऊ जस्तै मेरा पनि केही साथीहरु छन् जो समाजवादमा विश्वास गर्दछन् र ती मध्ये धेरै कमलाई मात्र थाहा छ समाजवाद पछि समाज जाने भनेको साम्यवादमा हो । समाजवादमा पुगिन्जेलसम्म जनताहरुले राज्यबाट धेरै सुविधाहरु प्राप्त गरिरहेका हुन्छन् जस्तो अहिले केहि समाजवादी मुलुकहरु नर्वे, डेनमार्क, फिनल्यान्ड लगायतका नागरिकहरुले प्राप्त गरेका छन् । राज्यले निशर्त जनताहरुको बृतिविकाशमा ध्यान पर्‍याउने गर्दछ । तर अझैपनि यो शासन ब्यवस्थामा सुधार गर्न सकिने थुप्रै पक्षहरु छन् । यो व्यवस्थामा वर्ग हुन्छ – धनी र गरिव । हो, यही वर्ग भत्काउने कुरो, वर्गविहीन समाजको परिकल्पनालाई साम्यवाद भनिन्छ । र, त्यही साम्यवाद हो कम्युनिज्म । अर्थात कलेक्टीभिज्म ।
मलाई थाहा छ, विश्वमा चाहे कम्युनिष्ट क्रान्तिका नाममा होस या समाजवादी क्रान्तिका नाममा होस लाखौं मान्छेहरुको रगत बगेको छ । बगिरहेको छ । भोली पनि बग्ने नै छ । तर आदर्श स्थापनाका लागि लाखौं मान्छेहरुलाई शहिद बनाइने कुरामा म असहमत नै छु । तर यसले त्यसको अपहरिहार्यतालाई अस्वीकार गर्न सक्दैन । अनि अर्को कुरो म जनताको मुक्तिका नाममा हुने तानाशाहीको पनि विरोधमा पनि छु । तर यथार्थ यो हो कि केही निश्चित समयका लागि त्यो तानाशाह पनि जन्मनै पर्छ । कम्तिमा पनि व्यवस्थालाई सहि मार्गमा ल्याउन । यो आवश्यक छ । तर तानाशाही राज्य व्यवस्थाको औचित्य लामो समयसम्मका लागि पुष्ट्याई गर्न सकिदैन । यो पनि ध्रुवसत्य नै हो ।
र, अन्त्यमा साम्यवादलाई फरक नजरले हेर्नेहरुले साम्यवादको आदर्शलाई बुझुन । फगत उत्तर कोरियामा कम्युनिष्ट नेताको शालिकमा त्यहाँका जनताहरुले फन्को लगाउनु पर्ने व्यवस्था छ भनेर अफवाहहरु नफैलाऊन, कम्युनिज्मले ब्यक्तिको देवत्वकरणमा विश्वास गर्दैन । मानिसहरुले यो पनि नभनुन – कम्युनिष्ट भनेका तानाशाहहरु हुन । मान्छेहरुले बुझुन – समाजमा व्याप्त असमानता, अन्याय, अत्याचार र थिचोमिचोमा पिल्सिएका गरिपगुरुवाहरुको मुक्तिका लागि सिङ्गो राज्यव्यवस्थाका विरुद्ध मुक्ति युद्ध लड्नेहरु कम्युनिष्ट हुन । उनीहरुसँग वर्ग विहिन समाजको परिकल्पनाको आदर्श हुन्छ भन्ने कुरो नेपाली लोकतन्त्रबादी बुज्रुगहरुले बुझुन । र, मान्छेहरुले यो पनि बुझुन – छिमेकी देशको ग्रान्ड डिजाइनमा तयार पारिएको युद्ध त्यो जनयूद्ध हुन सक्दैन । भलै त्यहाँ लाखौं योद्धाहरु सर्वहाराको मुक्तिकै लागि लडेका किन नहुन । दुईचार विदेशी दलालहरु परिवर्तनकामी योद्धाहरुको सहादतलाई भर्‍याङ बनाएर “बिप्पा” गर्न गए त्यो एउटो कुरो हो । महाकाली बेचे त्यो एउटा पाटो हो । तर क्रान्तिको यथार्थ त स्टालिनले नै भने झैं नै हुन्छ आखिर कि “यू क्यान नट मेक अ रिभोलुसन वीथ सिल्क ग्लोभ्स !” हुन पनि क्रान्ति रगत नबगी हुँदैन !
2 comments