कठै, हाम्रो नेपाली भाषा !

अतिरिक्त प्रहरी महानिरीक्षक नवराज सिलवाल तस्बीर स्रोतः न्यूज२४
हाम्रो देशमा राष्ट्रियताको निकै नै चर्को बहस हुने गर्दछ । विभिन्न उच्च पदस्थ ब्यक्तिहरूले खास खास ऐन मौकामा राष्ट्रियताको मुद्दालाई विशेष जोड दिएर प्रस्तुत पनि गर्ने गरेका छन् । तर मैले बुझ्न नसकेको खास कुरो चाँहि राष्ट्रियताको ठोस अर्थ के रैछ ? खाली सीमा मिचियो भनेर चर्का कुरा गर्नु ? भारतीय सीमा प्रहरी बलको दस्ता नेपाल छिरेर नेपाली कुटे भनेर चर्को कुरा गर्नु मात्र राष्ट्रियताको सवाल हो र ? के राष्ट्रियतासँग नेपाली भाषा र संस्कृतिको प्रयोग पर्दैन ?
पछिल्लो समय, हामीमा एउटा अत्यन्तै अनौठो भ्रम परेको छ – कि, संवाद, छलफल वा भलाकुशारीमा अङ्ग्रेजी शब्दको प्रयोगले हामीलाई बुद्दिजीवीको पगरी मिल्दछ । अधिकांश हामी कथित पढेलेखेकाहरू संवादका समयमा अङ्ग्रेजी शब्दावलीहरूको भरपुर प्रयोग गर्न खोज्दछौं र गर्दछौं पनि । जब कोही शुद्द नेपालीमा बोल्ने प्रयास गर्दछ वा बोल्दछ अनि हामीमध्य धेरैलाई लाग्दछ – त्यो बेफ्वाँकको नाटक हो ! अङ्ग्रेजी शब्दावलीहरूको प्रयोगका विषयमा धेरैपटक थुप्रै मान्छेहरूसँग मेरो घनिभूत छलफल भएको पनि छ । महाकवी देवकोटाको शब्दलाई सापटी लिएर भन्दा त्यस्ता "अङ्ग्रेजीबाज चश्मा" ढल्काएकाहरूको मिजास बिर्सनलायककै हुन्छ । केहि अङ्ग्रेजीबाज चश्मा ढल्काउनेहरूको जिकिर छ कि अङ्ग्रेजी शब्दहरूको प्रयोग विना संवादमा सरिक हुन उनीहरूका लागि कठिन छ । बानी परिसक्यो । केहिले त यसो पनि भन्छन कि नेपालीमा भन्दा अङ्ग्रेजीमा बोल्नु सजिलो छ । तर ख्वै किन हो आफू त जन्मदाको पहिलो रूवाईमा नै नेपाली लवज लिएर आइयो, पहिलो शब्द आमा सिकियो, बाबा भनियो, पापा, चिची, दादा, दिदी, माम भनेर जानियो । त्यसैले पनि होला, नेपाली भाषाप्रति निकै नै लगाव छ । तर ख्वै यी अङ्ग्रेजीबाजका घरका सबैजना अङ्ग्रेजीका धुरन्धर ज्ञाता थिए हुनन र नेपालीभन्दा अङ्ग्रेजी सहज लागेको होला । परन्तु, सरकारी अधिकारीहरूले नेपालीभाषालाई यसरी हेयका भावले नहेर्नु पर्ने नि !
एउटा यस्तै अङ्ग्रेजीबाज चश्मा पहिरिएका प्रहरीका उच्चपदस्थ अधिकारी नवराज सिलवालले बहुचर्चीत बहसमूलक कार्यक्रम 'साझासवाल' मा प्रयोग गरेको अङ्गेजी शब्दहरू सुन्दा मलाई चाँहि भाउन्नै भएर आयो । मलाई चित्त यस अर्थमा बुझेन कि कार्यक्रममा सरिक सहभागी मध्ये धेरैले उनको कुरोलाई कसरी बुझे होलान् ? के उनी कार्यक्रममा सरिक सहभागीहरूले बुझ्ने गरेर सरल नेपाली भाषामा आफ्ना कुराहरू राख्न सक्दैनथे होला ?
करिब ४५ मिनेटको कार्यक्रममा उनले मुश्किलले ७-८ मिनेट आफ्ना भनाइ राखे हुनन् । संवादको शुरूवात नेपाली शब्द 'निश्चय नै' को समानअर्थी अङ्ग्रेजी शब्द 'Obviouslyबाट आरम्भ गरेका उनले अन्तिम अङ्ग्रेजी शब्द 'Intervene'  जसको समानअर्थी नेपाली शब्द 'हस्तक्षेप गर्नु' को प्रयोग गरिन्जेल ७० भन्दा बढि अङ्ग्रेजी शब्दहरूको प्रयोग गरेका छन । उक्त छलफलमुलक कार्यक्रममा उनले झण्डै १० प्रतिशत भन्दा बढि अङ्ग्रेजी शब्दहरूको प्रयोग गरेका छन । एउटा उच्च पदस्थ सरकारी कर्मचारीले यसरी अङ्ग्रेजी शब्दको ब्यापक प्रयोग गर्नुलाई म एक सचेत नागरिकको हिसाबले कुनै पनि कोणबाट यसको म सकारात्मक विश्लेषण गर्न अस्वीकार गर्दछु । 

नवराज सिलवालले साझा सवालमा प्रयोग गरेका अङ्ग्रेजी शब्दहरूः-

Obviously , Register , Victim, Policy, Rape, Sexual harassment, Attention, Initiative, Concerned, Investigation, SP, Team, Command, Instantly, Unprofessionally, Establish, Generalize, Community, Exactly, Isolation, Support, Media, Majority of, Sensitive, General policy, Informally, Resolve, Right, Sexual offences, Police, Major, Distorted(कुरो बङ्ग्याइएको भावमा), Address (सम्बोधन), Individual, Officer, Case, Amend (सुधार), Take care, Social work, Satisfaction, Sure, Report, Double-victimized, Commitment, Topmost priority,Political party, Organization, Full commitment,  Re-address, Influence,Hundred percentages, Directorate (निर्देशनालय), Resource mobilize, Office, Authority, Assurance(वाचा), Differences, Domestic violence (घरेलु हिंसा), Elements, Justice, Protection, Correction, Access (पहुँच, सुलभता), Internal mechanism (आन्तरिक संयन्त्र), Complain, All in all, Major-issue, Head quarter, Local, Monitor, Intervene 

र, कार्यक्रम नहेर्नुभएको भए तल हेर्नुस --

Comments

भाषा आफैमा माध्यम हो । यसलाई त्यसैको आलोकमा हेरियो भने त्यसबाट नतिजा निस्कन्छ । कुनैपनी भाषा आफैमा निर्विकल्प नहुने तथ्यलाई स्विकार गरेर आफ्नो अनुकुलता र सर्वसाधारणले बुझ्ने गरी जुनुकुनै भाषाका राम्रा शब्दलाई स्थानियकरण गरिनुमा नै भाषाको सम्मृद्धि सम्भव छ । यस अर्थमा निराजन भाईको चासो र चेतनालाई सराहना गर्दै आजको विश्वमा व्यक्तिको अभिव्यक्तिको विराटतालाई केवल भाषाको साँचोमा राखेर सिमित गर्न खोज्नु चै हुँदैन कि भन्ने मेरो मत रह्‍यो । चाहे त्यो कुनै ओहोदामा रहेको होस् या सामान्य नेपाली ।

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)