Skip to main content

इपियसपिडीत नेपालीहरूलार्इ खुलापत्र

कोरियन भाषा परीक्षा पासगरी कोरिया जान नपाएका इपियस पिडीत मेरा प्रिय नेपाली दाजुभाई तथा दिदीबैनीहरू,
तस्वीर स्रोतः अनलाइन खबर डट कम
म एक विदेशिएको तिमीहरुकै एउटा दाजु/भाई/साथीको तर्फदेखि हार्दिक प्रेम तथा सम्झना स्वीकार गर । आज अचानक तिमीहरुलार्इ म यो पत्र किन लेख्तैछु, त्यो म सविस्तार वर्णन गर्ने नै छु । तर त्योभन्दा पहिले म तिमीहरुलाई मेरो परिचय संक्षेपमा राख्न चाहन्छु ।  उमेरले म २८ बर्षको युवा हुँ । विवाहित पनि छु । अध्ययनका शिलशिलामा फिनल्याण्डमा छु । अध्ययन पनि गर्दैछु । नेपालमै बि.सं. २०६२ मा नै मैले स्नातक तह उत्तीर्ण गरिसकेको छु । स्नातकोत्तरका लागि फिनल्याण्ड, नर्वे र जर्मनी मध्य एउटा देशमा आउन चाहन्थेँ । तर ती देशका कुनैपनि विश्वविद्यालयमा मैले स्नातकोत्तरका लागि भर्ना पाइँन । कारण, यी देशमा स्नातकोत्तर तहमा भर्ना हुनका लागि स्नातक तहको पाठ्यक्रम चार वर्षको हुनुपर्दो रहिछ । फलतः युरोपमा आएर अध्ययन गर्ने मेरो चाहनालाई साकार पार्न मैले फिनल्याण्डमा स्नातकका लागि आवेदन दिएँ । आईएलटिएस पनि गरेँ । प्रवेश परीक्षामा सामेल भएँ । र, उत्तीर्ण भएपछि यहाँ आउन योग्य ठहरिएँ । र, विभिन्न तिकडमपछि म यहाँ आईपनि पुगेँ । तिकडम यस अर्थमा कि कलेजमा नियमित शुल्क नलागे पनि खाना र बस्नको बन्दोबस्तका लागि मेरो प्रायोजन गर्ने मेरो पिताजीको नियमित आर्थिक स्रोत देखाउनु पर्थ्यो जुन न्युनतम बार्षिक १२ लाख हुन आउँछ ।
मैले भन्नै पर्ने हुन्छ - परीक्षाको तयारी, आर्थिक व्यवस्थापन र प्रवेशाज्ञा (भिषा) आवेदनका बखत मैले संघर्षका कठिनतम् दिनहरु गुजारेको छु । त्यसैले म तिमीहरुले कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नका लागि गरेको मेहनत, लगानीको मर्म पनि बुझ्दछु । म तिमीहरुको ती कठीन मेहनतको उच्च कदर गर्दछु । परन्तु, कोरियामा काम गर्नका लागि जान पाउनैपर्छ भनी कतिपय तिमीहरुले अड्डी कसेर आमरण अनसन गरेको खबर पढ्दा र आफ्नो माग पूरा नभए केहि दिनपछि नेपाल बन्दको समेत कार्यक्रम गर्ने तिमीहरुको धम्की र घुर्काइको भाषाका बारेमा थाहा पाएपछि भने केहि नलेखी रहन सकिनँ ।
विदेश तिमीहरुले सोचेजस्तो सजिलो छदै छैन । देशमै जस्तो झाराटार्ने कामले विदेशमा न कोरियन वन कमाउन सकिन्छ, न युरो न त रिंगेट नै । हुन त तिमीहरुको रुमानी कल्पनामा विदेशको झिलिमिली मात्र होला, तर नबिर्स केहिगरी तिमीहरु कोरिया पुगिनै हालेछौ भने त्यो तिमीहरुको जीवनकै कठिनतम दिनहरु हुनेछन् । हुन त म आफै नेपाल छाड्नुअगाडि निकै नै उत्साहित थिएँ । यहाँ आइसकेपछिका दुईचार दिन पनि निकै नै उत्साहित रहेँ । जब कामका लागि दौडधुप गर्न शुरु गरेँ र काम नपाएर रित्तो हात कोठामा फर्किन विवश हुन्थेँ त्यतिखेरका कुनैपनि मेरा साँझहरु ओभाना थिएनन् । हुन त तिमीहरुलाई मैले जस्तो काम खोजिरहनु पर्दैन तर काम पाएपछिको मेरो अनुभवसँग कोरियामा काम गर्न जानेहरुको अनुभूतिचाँहि थोरै भएपनि समानान्तर हुन सक्लान । त्यसकारण मैले लेख्नैपर्ने हुन्छ जुन काममा मेरो जति मेहनत अहिले बग्दैछ त्यति नै मेहनत र लगनशिलता मैले मेरै देशमा बगाउन सक्ने हो भने म निश्चिन्त छु – त्यसको प्रतिफल मैले यहाँ प्राप्त गरेभन्दा ज्यादा हुन्छ । अझ महत्वपूर्ण कुरो त म यहाँ जुन स्तरको काम गर्दैछु त्यो कामले मलाई सिकाउने केही पनि हैन तर विवशताको बाबजुद मैले काम गर्नैपर्ने हुन्छ । हुन त लागेको होला तिमीहरुले भाषा परीक्षामा शतप्रतिशत अंक ल्याएको छौं नभएपनि ९० भन्दा माथि अंक हासिल गरेका छौं, काम सहज र भव्य हुनेछ । यदि त्यस्तो सोच पालेका छौं भने मेरो विनम्र आग्रह छ – नपत्याए तिमीहरुको जस्तै अंक प्राप्त गरेर कोरियमा पसिना बगाईरहेका युवाहरुलाई सोध कि तिमीले गर्नुपर्ने काम के हो ? कति जोखिमपूर्ण काम छ त्यहाँ ? साहूले कस्तो ब्यवहार गर्दछ ? र, कति मानसिक दबदबामा बस्नुपर्दछ त्यहाँ । तिमीहरु किन अबुझ बन्छौ आखिर ? के कोरिया पुगेका सबै नेपाली युवा श्रमीकहरुको सहज दिन बितिरहेछन् त्यहाँ ? महिनौपछि सबैको छुट्टीको दिन मिलाएर उनीहरुले मनाएको छुट्टीको रमझमको तस्बीरहरु वा घुमघामको तस्बीरहरु हेरेर यदि तिमीहरुले कोरिया साँच्चीकै स्वर्ग हो भन्ने बुझेका छौ भने मेरो अनुरोध यत्ति छ – कृपया ती हसिँला तस्विरहरुमा लुकेका पीडाहरु देख्ने कोशिस गर !
मैले निर्क्यौल गरिसकेँ कि मेरो अध्ययन कार्य सिध्याईसकेपछि म यहाँ कुनैपनि हालतमा बस्दिनँ । मलाई सधैंभरी पाईखाना सोहोर्नु छैन । रातरातभरी माइनस २५ को ठिहीमा पत्रिकाहरु बाड्नु छैन । कम्मर दुख्ने गरी होटलको बिस्तरा मिलाईराख्नु छैन । नआउनु थियो आईहालेँ तर यो दलदलमा सधैं फस्नु छैन । त्यसकारण पनि मैले तिमीहरुलाई अनुरोध गर्न चाहेको हुँ – कृपया कोरिया जान पाउनै पर्छ भन्ने तिम्रो बालहठ त्यागिदेऊ । आँखा खोलेर हेर – जति पनि सम्भावना छन्- स्वदेशमै । सम्भावनाहरु पहिल्याऊ । श्रम र विवेकको समुचित प्रयोग गर्न सक्ने हो भने विदेशमा आएर कसैको दास बन्नुपर्दैन, त्यहि मालिक हुन सकिन्छ । म निवेदन गर्दछु – चूनौतीहरुबाट नभाग !
Post a Comment

Popular posts from this blog

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?" मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!" "कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।
यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर…

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

डा. गोविन्द केसीका शुरूवात तिरका अनशनहरूमा मेरो पूर्ण समर्थन थियो । मैले पनि आफ्ना सामाजिक संजालका भित्ताहरूमा निकै खरा खरा वाक्यहरूसहित तीनका पुछारमा ह्यासट्याग आइएमवीथडाकेसी लेखेकै हुँ । मलाई लुकाउनुपर्ने केहि छैन । डा. केसीका शुरूवाती मागहरू भनेका चिकित्सा क्षेत्रमा बढ्दो राजनैतिक हस्तक्षेप अनि तीसँगै यस क्षेत्रमा बढ्दै गएका विकृती विसंगतीहरूको अन्त्य हुनुपर्छ भन्नेमा केन्द्रित हुन्थे ।तर डा. केसी जति नै निष्ठावान, त्यागी या देवरूप नै किन नहोस उनको, उनका काँधमा बन्दुक राखेर आफ्ना विभिन्न खालका अभिष्ट पूरा गर्न खोज्नेहरूको एउटा ठूलो जमातबाट उनी घेरिएका छन । यो मिथ्याको आरोप हैन । निसन्देहः डा. केसी अनशन बस्नुपूर्व उनले अनशन बस्न थालिसकेपछि स्वास्थ्य क्षेत्रमा महशुस हुनेगरी परिवर्तन भएकै हुन । त्यसको जस पूरापूर उहाँलाई जान्छ । तर यसको अर्थ यो हैन कि स्वास्थ्य क्षेत्र सुधारका लागि सबै कुरा वहाँले नै भनेजसरी हुनुपर्छ । बिडम्बना यो छ कि वहाँको शुरूको अनशन देखि नै माग पूरा गर्ने बहानामा सरकारले एउटा बेथितीको पृष्ठपोषण गर्ने कामको श्रीगणेश गरेको छ । केसीको एक सुत्रिय माग थियो बरिष्ठताका आ…