पशुपतिनाथ, फुटबल र बली

प्रतिभाशाली नेपाली स्ट्राइकर अनिल गुरूङ तस्वीर स्रोत गोलडटकम
अफगानिस्थानसँगको सेमिफाइनल खेल हामीले त्यतिखेरै हारिसकेका थियौं जतिखेर बज्दाबज्दैको अफगानी राष्ट्रिय गीतको धुन बन्द भयो (गरियो ?) । अनि दर्शकहरुले हुटिङ गर्न बाध्य भए – एन्फा मुर्दावाद ! यति ठूलो प्रतियोगितामा हाम्रो कस्तो तयारीको नमुना थियो त्यो ? त्यो प्राविधिक गडबढी नै थियो भने पनि त्यसको खास र विश्वसनीय कारण सार्वजनिक हुनैपर्छ । तत्काललाई त्यो घटनालाई मैले अफगानी खेलाडीहरुलाई खेल शुरु हुनुपूर्व ‘मानसिक रुपमा विक्षिप्त पार्ने’ उद्देश्यले नियोजित हो भन्ने ठानेको छु ।
निसन्देह हाम्रो खेल सनसनीपूर्ण थियो । कुनै पनि विश्वस्तरीय टोलीको भन्दा कमको थिएन हाम्रा खेलाडीहरुको खेल कौशल । त्यसै भनेका पनि थिएनन् हाम्रो यहि टोलीको खेल प्रस्तुतीलाई फिफाका अध्यक्ष ब्लाटर कि बार्सिलोनाको झल्को दिलाउने प्रस्तुती । उनले यो पनि भनेका थिए कि यो टोली र बार्सिलोनामा मात्र एक फरक छ त्यो हो यो टोलीमा मेस्सी छैनन् । विश्व फुटबल संगठनका सबभन्दा महत्वपूर्ण हैसियत र ओहोदामा रहेका ब्यक्तिले पक्कै हावादारी टिप्पणी त गरेनन होला ? उसोभए हामी किन दक्षिण एशियाली क्षेत्रको फुटलबमा पनि खास प्रस्तुती दिन असमर्थ छौं ? किन हाम्रा खेलाडीहरु आफ्ना २० हजार भन्दा बढी घरेलु दर्शकका अगाडि “होपलेस” हुन्छन् ? किन असक्षम हुन्छन् खेल जित्न ? सम्पूर्ण आम फुटबलप्रेमी नेपालीहरुको मनमा लागेको प्रश्न हो यो । यसको चित्तबुझ्दो जवाफ को सँग होला ? एन्फाको नेतृत्वसँग ? प्रशिक्षकसँग ? वा खेलाडीहरुसँग नै ?
समाचारहरुमा पढिए अनुसार, च्याम्पियनसिप प्रारम्भ हुनुपूर्व दशरथ रंगशालामा पञ्च बलि दिइएछ । उसो त नेपालका खेल हुँदाका दिन नागको मूर्तिलाई कपडाले छोपिएका “निर्लज्ज” तस्बिरहरू छापामा नदेखिएका पनि हैनन् । र, प्रत्येक खेल हुने दिन नेपाली टोलीलाई पशुपति पनि लगिने गर्दो रहिछ । यसलाई म बिडम्बना मानुँ या हाम्रो निरीहता ? आस्था मानुँ या पराजित मानसिकता ? मठ मठाधिस डुलेर इच्छाएको फल पाइँदैन भन्नेको ज्वलन्त उदाहरण त हामी सबै आम गरिव नेपालीहरु छँदै छौ नी । मागेरै पाउने भएको भए ६५ प्रतिशत नेपालीहरु किन गरिवीको रेखामुनी बाँच्न विवश हुन्थे ? किन ४६ प्रतिशत नेपालीहरु बेरोजगार बस्नु पर्थ्यो ? किन प्रवेशिका परीक्षामा सामेल भएका मध्ये ५७ प्रतिशत बिद्यार्थीहरु अनुत्तीर्ण हुन्थे ? मन्दिरमा बोका काट्दैमा चाहेको पाइदैन भन्ने त विजयकुमार गच्छदारहरु प्रधानमन्त्री बन्न नसकेकैबाट बुझ्नु पर्ने हो नी । मठाधिस डुल्दैमा राजसंस्था त जोगिएन, ज्ञानेन्द्र शाह “जनताको नासो जनतालाई” नै बुझाउन बाध्य भए ! यत्रा छ्यालब्याल नमुनाहरु हुँदाहुँदै एन्फा पञ्चबली गराउँछ, नागको मूर्तिलाई छोप्छ र खेलाडीहरुलाई पशुपतिमा दर्शन गराउन लैजान्छ भने भन्नु के नै रह्यो ? तथापि एन्फा पदाधिकारीहरुले मिहिन पाराले बुझ्नु जरुरी छ – जवसम्म हामी भगवानको कृपामा खेल जित्ने दिवास्वप्न त्यागेर उद्देश्यप्राप्तिका लागि आवश्यक तयारी, लगाव, लगानी र दृढसंकल्प गर्दैनौ तबसम्म हाम्रा नतिजाहरु यस्तै नै आउनेछन् अर्थात हात्ति आयो हात्ति आयो फुस्सा !
केहि समय पहिले नेपालमै आयोजित यू– १६ प्रतिस्पर्धाबाट चर्चामा आएका विमल घर्ती मगरका बारेमा पढ्दै जाँदा थाहा लाग्यो कि एन्फा एकेडेमीमा उनको भर्नाका लागि प्रहरीको हाकिमको भनसुनबाट सम्भव भएको हो । भनेपछि, एउटा राम्रो खेलाडीले एन्फा एकेडेमीमा भर्ना पाउन भनसुन गराउनु पर्दो रहिछ भने त्यो एकेडेमीले देशभरीबाट प्रतिभाशाली लडकाहरु छानेर कुशल खेलाडीका रुपमा विकास गराउँछ भन्ने कुरोमा हामीले कत्तिको विश्वास गर्ने ? किन हाम्रा खेलसंस्थाहरू ‘हाम्रा हैनन राम्रा’ ले ठाउँ पाउनुपर्छ भन्ने मान्यता राख्दैनन ? नातावाद कृपावादको माखेसाङ्लो तोडिएर जवसम्म विमल घर्तिमगरहरु विना भनसुन आफ्नो प्रतिभाको आधारमा सिधैं एन्फा एकेडेमीमा भर्ना हुने वातावरण बन्न सक्दैन तबसम्म नेपाली फुटवलको समुज्ज्वल भविष्यको सपना नदेखेकै राम्रो । नदेखाएकै उत्तम !
राष्ट्रको सबै क्षेत्रको समान विकासमा ध्यान दिनुपर्ने सरकार र आफूलाई राष्ट्र निर्माणको मसिहा ठान्ने कथित राजनैतिक दलहरुको खेल नीति के हो ? खेलमा सुधार र देखिने नतिजाका लागि स्पष्ट खेल नीति र त्यसको कार्यान्वयन आवश्यक हो कि हैन ? खेलको मर्म नबुझेकाहरुलाई राजनीतिक हस्तक्षेपगरी खेल बिकासको जिम्मा दिने काम कहिले बन्द हुन्छ ? खासखास खेलका विकास र प्रवर्द्धधनका लागि आवश्यक लगानीको ब्यवस्थाका लागि कुनै पनि भूमिका नगर्ने अनि ट्वीटर वा फेसबुकमा खेलबाट आशा राखेको छु भन्दैमा एकपटक सरकार प्रमुख भैसकेका लालध्वजहरु ट्वीटीदैमा हुनेवाला केहि छैन । चेतना भया !
Post a Comment