“इज नेपाल अ गुड कन्ट्री टू लिभ?”

“इज नेपाल अ गुड कन्ट्री टू लिभ?” केहि हप्ता पहिले कामबाट ट्राममा फर्कदै गर्दा कोसोभोको एकजना साथीले सोधेको थियो मलाई । संवादका क्रममा मैले ‘दुईचार वर्ष यतै (फिनल्याण्डमा) काम गरेर आफ्नै देशमा फर्कन्छु भन्दैगर्दा उसले राखेको जिज्ञासा थियो यो । र, त्यो साँझ उसलाई मैले उसले राखेको जिज्ञासाको प्रतिउत्तर दिन पाइँन कारण ट्रामबाट झर्नु र जेब्रा क्रसिङमा हरियो बत्ति बल्नु एकैपल्ट भो जसले गर्दा ऊ रेल भेट्न उत्तरतिर रहेको ट्रेन स्टेशन जान ओरालो कुद्यो, म बस भेट्नलाई पूर्वतिर उकालो चढेँ ।
मध्यशहर (सिटीसेन्टर) बाट मेरो निवाससम्मको २५ मिनेटको बसयात्रामा उसको त्यो जिज्ञासा मेरो दिमागमा दिगमिग दिगमिग भैरह्यो ! जवाफ भेटिनँ । खाना खाएर एकछिन खबरहरु हेरेँ । प्रायः बिहान र साँझमा गरी म दुईपटक देशका खबरहरु हेर्ने गर्छु । त्यो साँझ त्यो दिनको मेरो दोश्रो कोटा पूरा गरेँ खबरहरु हेरेँ – नागरिकन्यूज, इकान्तिपूर, माइसंसार, अनलाइनखबर, सेतोपाटी अनि आफ्नै गाउँठाउँको खबर हेर्नलाई बेनीअनलाइनको वेभसाइट खोलेँ । दक्षिण एशियाली फुटबल च्याम्पियनसिपमा उपाधी चुम्ने लक्ष्यसहितको नेपाली टोलीको विशेष तयारी बाहेकको गर्व गर्न लायकको समाचार केहि भेटिनँ मैले ।
त्यो साँझ यता मैले बाढीले चिथोरेको गरिव नेपाली बस्तीको ब्यथा, बलात्कार, हत्या, बन्द, विरोध, भ्रष्ट्रचार, अनियमितता अनि ठगीका थुप्रै खबरहरु पढेँ । बिचमा नेपाली फुटबल टोलीको उत्कृष्ट प्रदर्शनीको खबरले निकै उत्साहित म नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको खबर पढेपछि खिस्रिक पर्न विवश बनेँ । कसम त्यो साँझ करोडौं नेपालीहरुको झैं एकदम विचलित र हतास मनस्थिती मेरो पनि भएको थियो । म सन्न भएको थिएँ त्यो साँझ । जब हामीले हाम्रै मैदानमा हामीले जित्दै आएको टोलीसँग खेल हार्नुपर्‍यो, त्यो निकै नै पिडादायी थियो ।
यसै बिचमा सहमतिको खिचडी नपाकिरहेको बेला सरकार गठन र चारदलीय संयन्त्रको राजनैतिक रवैयाका विरुद्धमा आन्दोलनरत भनिएका ३३ दलीय मोर्चाहरु सहमति नजिक पुगेको खबर पनि पढेँ । गोलमेच सम्मेलन गर्ने निर्णय भो भन्ने खबर पढेँ । मनमा आशा पलायो अब संविधान जारी गर्ने गरी संविधानसभाको निर्वाचन हुने भो भनेर मन आल्हादित भो । तीनदशकपछिको सुन्दर परिकल्पना गरी मैले लेखिरहेको उपन्यास बि.सं. २१०० को लेखनकार्य राजनैतिक अस्थिरताबिच एकवर्ष यता अगाडि बढाउन सकेको थिइन, राजनीतिक सहमति भएको खबर पढ्दाको साँझ थप तीन पृष्ठ लेखेँ । मनमा लागेको थियो – कि छिट्टै म मेरो कोसोभोको मित्रसामू “ह्वाइ नेपाल इज अ गुड कन्ट्री टू लिभ” विषयमा केहि प्रष्ट र विश्वसनिय आधारहरू प्रस्तुत गर्न पाउनेछु ।
गोलमेच सम्मेलन गर्ने सहमति भएको पर्सिपल्ट त्यो सहमति तुहिएको खबर पढेँ । मैले फेरि निराश बन्नुपर्यो । हुँदाहुँदा हिजो त यस्तो पनि खबर पढेँ कि बन्द अवज्ञा गरेको आरोपमा यात्रुवाहक बसमा आगजनी गरेछन् – कथित क्रान्तिकारीहरुले ! हे भगवान ! म एकपल्ट फेरि स्तब्ध भएँ हिजो । कस्तो ताण्डब मच्चाइरहेका हुन् यिनीहरुले ? परिवर्तनका नाममा हिजो १७ हजारको बलि चढाउने यिनीहरु, ऐतिहासिक धरोहर, पुलपुलैसा, टेलिफोन टावर, प्रशासनिक भवन जलाउने पनि यिनैहरु, अब हुँदाहुँदा क्रान्तिको नाममा मान्छेहरुलाई जिउँदै बसमा जलाउन खोज्ने पनि उनैहरु ! उनीहरुलाई थुक्न मन लाग्यो, थुकेँ । खबर पढेपछि म शौचालय गएँ – उनीहरुको क्रान्तिको अगुवा भनिएको ख्याउटे बृद्ध र राजनैतिक सहमति गर्न नसक्ने दलका कथित शिर्षस्थ नेताहरु मैले दिशा गरिरहेको कमोटभित्र छन भन्ने परिकल्पना गर्दै पन्ध्र मिनेटसम्म दिशा पनि बसेँ । 
अहँ मैले मेरो कोसोभोको साथीलाई चित्त बुझ्ने गरी उसको प्रश्न “इज नेपाल अ गुड कन्ट्री टू लिभ” को जवाफ भेट्टाउन सकेको छैन ! के मेरो परिवारका अन्य सदस्यहरु नेपालमै भएका आधारमा मैले नेपाल फर्किनु पर्ने हो ? के नेपाल मेरो जन्मभूमि भएकै कारण मैले मेरो देश बस्नयोग्य देश भन्नुपर्ने हो ? म सन्न भएको छु । हो, म बिलखबन्द भएको छु ! कठै मेरो हविगति ! बिचरा म नेपाली !

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)