काङ्ग्रेस, म्याग्दी र एउटा दावी


कहिलेकाही अप्रसाङ्गीक प्रसङ्गहरुले उधुमैसित मेरो मथिङ्गल हल्लाउँछन् । र, यो पटकपनि केहि दिनदेखि मेरो मगज उधुमैसित हल्लेको छ । यो सामान्य हल्लाई पनि होइन । सामान्य कम्पन भएको भए म यसरी बेचैनीपूर्वक यो लेखीरहेको हुनेपनि थिइँन । म यहाँहरुलाई निवेदन गर्दछु कि मेरो मनोविज्ञान त्यति सारो कमजोर छैन जस्तो एउटा जिर्ण घर दुई चार रेक्टर स्केलको भूकम्पको कम्पनलाई थेग्न नसकेर धराशयी हुन्छ ! र, दिमागी कम्पनको कारण हो – म्याग्दी काङ्ग्रेसका विद्वान (?) एवं जिम्मेवार पदाधिकारीको सार्वजनिक दावी । उनको दावी छ, कथंकदाचित संविधानसभाको दोश्रो चुनाउ भैहाल्यो भने म्याग्दीमा नेपाली काङ्ग्रेसले जित्नेछ !

दावीकर्ताले दावी गरे जस्तो उनको दावी पढेर न मलाई हाँसो उठ्यो न त तीतो नै लाग्यो । हचुवाको दावी मीठो लाग्ने कुरै थिएन त्यसकारण त्यो कुरो साँचो पनि लागेन । उनको दावीलाई नपत्याएको वा नपचाएको पनि होइन । बरु त्यो दावी पढ्दै गर्दा म्याग्देली काङ्ग्रेसीजनहरुको हलुका सोचाई र विश्लेषण अनि म्याग्दी काङ्ग्रेसका प्रचार विभाग प्रमुख एवं उक्त भ्रमपूर्ण दावीका दावीकर्ताको सार्वजनिक हुँकारप्रति टिठ लागेर आयो । सारै दया जागेर आयो । त्यसकारण त्यो दावीलाई मैले पचाउने र पत्याउने कारण पनि देखिनँ । अझ सबैले बुझ्ने भाषामा भन्दा त्यो टिम्किएको कुरो बाहेक अर्थोक केहि होईन । लडाईमा जान डराएर नाम काटेर भागेको एउटा भगुवा सिपाहीले लडाइमा शत्रुका सिपाहीहरुलाई छप्काएको वर्णन सुनाउँदा सुन्नेहरुलाई जति श्रुतिप्रिय हुन्छ परन्तु त्यो निम्छरो सिपाहीको यथार्थ विगतको पर्दाफासले जुन कुरो पर्दाफास हुन्छ त्यसपछि भगुवा सिपाहीको विश्वसनीयता माथि जोसुकैले निर्विवाद प्रश्न गर्ने ठाउँ रहन्छ । परिणामतः भगुवा सिपाहीको वीरगाथाले हावा खान्छ । हो त्यस्तै हावा खाने दावी हो यो उहाँको घोषणा पनि !
इतिहासले छर्लङ्गै देखाएको छ – म्याग्दीको राजनीति । अझ विशेष काङ्ग्रेसको राजनीति ! २०५६ सालमा कोइराला दरवारको गोप्य खोपीबाट म्याग्दीका काङ्ग्रेसीहरुसँग समेत अपरिचित म्याग्दीतिरै घर बताउने एउटा करोडपति हेलिकप्टरबाट सदरमुकामको खुला मन्चमा ओर्लियो । ऊ आफूमात्र ओर्लिएन हातमा एउटा टिकट पनि लिएर ओर्लियो – सांसदको उम्मेदवारीको ! बिचरा, सबै जिल्लाराम भए उबेला । जिल्ल पर्नेमा एउटा यिनै दावी कर्ता पनि हुनन । हेलिकप्टर ओर्लिदाको दिन दावीकर्ता पढाउँदा पढाउँदैको पाठ अपूरो छाडेर, चक र डस्टरलाई त्यसै बेवारिसे पारेर पेटी नकसेको पाइन्टलाई माथिपट्टी दोबारेर उनी पनि कोलेलम ठोके –खुलामन्चमा लाइन लाग्न । भव्य स्वागत भो । त्यो महामानवको नाम थियो – कर्णेल नारायण सिंह पुन ! म बबुरो तीनछक परेको थिएँ – हैन सेनाको मान्छे पनि चुनाव लड्ने ? कुरो बुझेपछि थाहा लाग्यो, सेवानिवृत कर्णेल रहिछन उनी । नारायणसिंह पुन मात्र भन्दा सोझा म्याग्देलीहरुमा आफ्नो उम्मेदवारको परिचय स्थापित गराउन नसकिने देखिएपछि काङ्ग्रेसीहरुले नेपाल सेनाका सेवा निवृत प्राविधिक अधिकृतको “कर्णेल” पदलाई त्यसै गुमनाम हुन दिएनन । पुनले समेत बिर्सेको उनको पुरानो हैसियतलाई म्याग्देली काङ्ग्रेसीहरुले राम्रैसँग स्थापित गराईदिए । अर्थात म्याग्दीको मुहार परिवर्तनका लागि रुख चिन्हमा मतदान गरी कर्णेल नारायण सिंह पुनलाई अत्यधिक बहुमतले विजयी गराऔं !
दावीकर्ताको भागमा के कति द्रब्य झारिदिए पुनले त्यो त म जान्दिनँ तर त्यतिबेलाको निर्वाचनमा काङ्ग्रेसबाट चुनाउ लड्न चाहने दुइचार थान आकाङ्क्षीहरुलाई सात अङकको दाम चढाएको सुन्नमा आयो । मगरको छोरो सोझो भएर पैसाको खोलो बगाएको थिएनन करसाहबले । उनको धुर्तता त मनकामना एअरवेज र कर्णाली एअरवेजको भित्री कथा पढेपछि छर्लङ्गै हुन्छ । तर, म्याग्दीमा चुनाउ लड्दा नराम्ररीसँग फसाइए पुन । उनले मा.वि. स्कुललाई पचास हजारका दरले बाडेनन मात्र, चुनाव प्रचारप्रसारको अभियानकै दौडान कार्यक्रम स्थलमा “डिजेल” लेखेको पछाडि बोक्ने झोलाबाट स्थानीय क्लबहरुलाई दशौ हजार दिए । काङ्ग्रेसीहरुले त्यतिखेर हौसाउनुसम्म हौसाए पुनलाई जिताउनुभो भने म्याग्दीमा विकासले फड्को मार्छ । विकासले फडको त त्यस्तै हो चुनाव ताका कर्णाली एअरवेजको हेलिकप्टरहरुले म्याग्दीमा निकै फन्का मारे । तीनले कहिले गुन्डाहरु झारे बुथ क्याप्चरका लागि । कहिले पैसा र चारतारे झण्डा झारे । र, चुनाउको परिणाम आउँदाका दिन टनका टन अबिर र फुलमाला झारे ! विश्वमै दुर्लभ हुने हेलिकप्टरबाट फूल बर्साउने उत्सब म्याग्देलीहरुले नजिकैबाट नियाल्न पाए । यसरी अरुलाई ठगेर र अपारदर्शी कारोबार गरेर केहि वर्षमा करोडपति भएका कर्णेल पुनको आर्थिक ब्यवस्थापन र म्याग्देली काङ्ग्रेसीहरुको आतिथ्यतामा एउटा अपूर्व उत्सव हेर्ने संयोग जुराइयो निरीह म्याग्देलीहरुलाई ! 
यसरी एउटा पूजिवादी पार्टीको नवधनाढ्य कर्णेल पाइलट म्याग्दीमा उदायो । हाईहाई भो । बिचरा जब उसले मृत्युवरण गर्नुपर्यो – उसको मृतआत्माको चीर शान्तिको लागि जिल्ला विकास समितिको सभाहलमा राखिएको शोक पुस्तिका बेवारिशे भो । १८ हजार मत लिएर चुनाउ जितेको मान्छेको शोक पुुस्तिकामा १०० जनाको हस्ताक्षर जम्मा भएन । अरु त अरु ५६ को चुनाउ ताका पुनको पैसाले खेत, ट्याक्टर किन्ने र आवासीय विद्यालयको तला थप्नेहरुले पनि हस्ताक्षर गरेनन । कारण उनी मर्नेबेलामा काङ्ग्रेस थिएनन् । मृत्युमा समेत राजनीति गर्ने काङ्ग्रेसीहरुले म्याग्दीमा चुनाउ नजित्ने कुराको पहिलो बलियो आधार हो !
दोश्रो बलियो तथ्य, निष्ठाको राजनीति नेपालमा हुँदैन । छैन । म्याग्दीमा ? कुनै समय म्याग्दीमा प्रमुख जिल्ला अधिकारी भएर आएका ज्ञानेश्वर नामधारी घुस्याहा प्रजिअको शब्दलाई सापटी लिएर भन्दा म्याग्दी सुनको अण्डा दिने कुखुरा पाइने जिल्ला हो । अर्थात पैसा सबभन्दा हावी छ म्याग्देली राजनीतिमा । अब म्याग्दीलाई लालकिल्ला भनेर घोषणा गर्ने कम्युनिष्ट भनिने एमालेको उम्मेदवारमा समेत सिफारिसमा पर्न अर्थुङ्गे गाविसमा महल हुनुपर्ने अघोषित प्रावधान हुन थाल्यो भने काङ्ग्रेसमा हुने आर्थिक चलखेलको पुष्टि त अहिलेकै चुनाउको लागि सिफारिसको प्राथमिकतामा परेका उम्मेदवारहरुको सूची र सम्भावित उम्मेदवारका बारेमा भैरहेका टिकाटिप्पणीबाटै प्रष्टै हुन्छ । यसमा म्याग्दी काङ्ग्रेसले जित्ने दावी गर्ने महान राजनैतिक विश्लेषकले थप केहि प्रष्टयाउनु आवश्यक नै छैन । खासमा निष्ठाको राजनीति गर्ने काङ्ग्रेसीहरु म्याग्दीमा दुर्लभ नै छन । वा छँदै छैनन भन्दा पनि हुन्छ । यहि मेसोमा दावीकर्तालाई प्रश्न गर्न मन लाग्यो मलाई – हैन यहाँहरुको कार्यसमितिको बैठक बर्षमा कति पटक बस्दछ ? गाउँतिर राजनीतिक प्रशिक्षण लिएर कत्तिको जानुहुन्छ ? यहाँका नेताहरुलाई ठेक्कापट्टा, ब्यापार, ढिकुटी सञ्चालन र वकालती कामकारबाहीबाट कत्तिको फुर्सद हुन्छ हो ? के यहाँका नेताले प्रत्येक नयाँ शैक्षिक वर्षमा आफ्नो बोर्डिङमा नयाँ भर्ना कति भए भन्ने बाहेक गरिव जनताका छोराछोरीले स्कुल जान नपाएको बारे सोच्नसम्म फुर्सद छ ? के यहाँका ब्यवसायी नेतालाई इट्टा भट्टाबाट कति इट्टा निकालियो र बिक्रिबाट कति नाफा हुँदैछ त्यसको हिसावकिताब गर्न बाहेक रुमको एउटा गरिव जनताको झुप्रो पहिरोले लग्यो, उसको परिवारलाई अर्को ठाउँमा पुर्नस्थापन गराउन के गर्नुपर्ला भन्ने हिसावकिताब राख्न आउँछ ? ठूलो आर्थिक फाइदा गर्ने लोभमा पिडकलाई समेत न्याय दिलाउन वकालत गर्ने यहाँका वकिल नेताहरुलाई साँच्चिकै थिचोमिचोमा परेका निर्धा गरिपजनहरुलाई न्यायोचित कानुनी उपचार गराउने हरिज्ञान छ ? मलाई प्रश्न गर्न मन लागेको छ कि आफ्नो क्लिनिक अगाडिको चोटामा घामको न्यानोमा “काठमान्डु पोस्ट” पढ्दै औषधी किन्न आउने ग्राहकको पर्खाइमा रहेका यहाँका डाक्टर नेतालाई छेराउटीले थल्लिने लुलाङ्का दलित विद्यार्थीहरुको स्वास्थ्य जाँचको लागि निशुल्क स्वास्थ्य शिविर चलाउनु पर्छ कि भन्ने कहिल्यै लागेको थियो र छ होला ? त्यसकारण मेरो सिधा प्रश्न हो यहाँलाई कि हरेक पल आफ्नो नीजि सम्पत्तिको बढोत्तरीका लागि लम्पट भएर लाग्ने तपाइँका कुन नेतालाई चुनाउमा टिकट दिलाएर तपाइँ म्याग्दीमा चुनाउ जित्ने दावा गर्दैहुनुहुन्छ महाशय ? गम्भिरतापूर्वक सोचिदिनुस एकपटक चुनाउ जित्ने हैन पहिला जनताको मन जित्ने अभियान चलाउनुस । पैसा र आश्वासन बाडेर हैन । जनहितका काम गरेर, उनीहरुको विश्वास जित्ने काम गर्नुस । विश्वास लुट्ने काम हैन !
नेपाली काङ्ग्रेसले म्याग्दीमा चुनाउ जित्न नसक्ने अर्को बलियो कारण के हो भने म्याग्देली जनताहरुले पत्तो पाइसकेका छन कि एकदुई दिन हेलिकप्टरमा गाउँ डुल्न आउने र गाउँको स्कुललाई ५० हजार दिएर चुनाव जित्ने रणनीति बनाउनेहरुसँग देश विकासको खास खाका हुँदैन । उनीहरुलाई चुनाउ जित्नु, सरकार बनाउनु र राज्यश्रोतको चरम दुरुपयोग गर्नुबाहेक केही गर्नुछैन । हुन त दावीकर्ताको भनाइ अनुसार नेपालमा कम्युनिष्ट सत्ता नौ महिनाभन्दा बढि टिक्दैन । तर ख्वै किन हो दावीकर्ताले उल्लेख गर्न बिर्सनुभएछ कि बहुदल पश्चातः दुईदुईपटक सम्म स्पष्ट बहुमत ल्याउँदा पनि एकमना सरकार चलाउन असक्षम नेपाली काङग्रेस खासमै नेपाली राज्यसत्ताको बागडोर सञ्चालन अयोग्य दल हो । सत्ताका लागि पार्टीभित्रै रस्साकस्सी हुने, प्रयोग हुने र किनबेच हुने संस्कारले जकडिएको रुग्ण र एउटा बूढो दल हो नेपाली काङग्रेस । करिब ८० बर्षका बृद्धले नेतृत्व गर्ने दलबाट नेपाली जनताले चाहेको परिवर्तन सम्भव छैन भन्ने दिब्यबोध समस्त नेपाली जनताहरुसँगसँगै मताधिकारप्राप्त म्याग्देली मतदाताहरुलाई पनि भएको होला भन्ने मेरो विश्वास हो । बरु, दावीकर्ताले पनि बुझिदिनु पर्ने हो धोद्रो लागेको रुखबाट कामलाग्ने काठपात बन्दैन ! 
अन्त्यमा, दावीकर्ता लगायत निष्ठावान काङ्ग्रेसीहरुलाई मेरो निवेदन यति मात्र हो – तरुणको अर्थ ६० वर्ष नाघेको होईन ! तसर्थः यसलाई निशुल्कै सहि एउटा सुझाव ठानेर शिरोधार्य गरिदिनुहोला कि बि.पी कोइरालाले देखेको समृद्ध नेपालको सपना म्याग्देलीहरुले कालोमोसो दलेर बजार डुलाएका, उहिलेउहिले पञ्चायतकालमा आफै हेडमास्टर भएको स्कुलमा आगो झोसेकाहरु वा अरु कोही सिनेमा ब्यापारी वा सुनपसलेहरुसँग सुरक्षित छैन त्यो सपना त धनबहादुर छन्त्याल र बिक्रम बोगटीहरूसँग हुन सक्दछ ! सपना, योजना र विकासको प्रष्ट मार्गचित्र कोर्न सक्ने प्रजातान्त्रिक समाजबादको खास अर्थ बुझेका वि.पी. बादीहरुलाई समयमै पहिल्याऊ र म्याग्दीमा काङ्ग्रेसले पनि जित्न सक्छ है भनेर जनताहरुका बिच विजयी जुलुश लिएर आऊ । फगत कोठामा बसेर म्याग्दीमा हाम्रो जित सुनिश्चित छ भनेर कोकोहोलो नमच्चाऊ । तिमिहरुले बुझ्नु जरुरी छ – श्रीमतीले पस्केर खाना दिएको खाना क्वाप्प खानुजस्तो सजिलो हैन चुनाउ जित्ने कुरो ! ख्याल ठट्टा नठानिदेऊ यसलाई ! ए साँच्ची अचेल गाउँतिर राजनैतिक संयन्त्रमा बस्ने काङ्ग्रेसीहरु भेट्टिन थाल्या छन् हो ? हो भने चाँहि अलि अलि धिपधिपे ज्योति बल्यो है तिम्रो उम्मेदवारको जमानत सुरक्षित हुने !
Post a Comment