मेरा जीवनका २८ प्रेरक ब्यक्तित्वहरू

१. मेरी बोई
बोर्इका साथमा म
“कुईरा आँखा कति राम्रा थिए त नी यसका !” बच्चा छँदा म जन्मिएको विषयमा कुरा चल्दासाथ बोईले त्यसो भन्ने गर्नुहुन्थ्यो । म आफ्ना 'न कुईरा न काला' आँखाहरूका बारे मेरी बोईले गरेको तारिफ सुन्दा त्यसै गदगद हुन्थेँ । मेरो बारे बोईले कुनैपनि नराम्रो कुरो देख्नुभएन । एउटैमात्र उहाँको गुनासो – लुगा धुन अल्छी मान्छ ! 
मेरो बाल्यकाल मावलमै बित्यो । जागिरका शिलशिलामा मामा सपरिवार धेरैजसो घरबाहिर नै हुनुभयो ।  मावलमा म र बोईमात्र हुन्थ्यौं । सोर्‍ह महिनाको फेरमा दुईबच्चाकी आमा बनेकी आफ्नी कान्छी छोरीको जेठो छोराको पालनपोषण उहाँकै जिम्मामा रहन गयो । अर्थात, मलाई मेरो बोईले हुर्काउनुभयो भन्दा फरक पर्दैन । म मामाघरमा पुल्पुलिएरै हुर्किए । दूध र भात ख्वाएर हुर्काउनुभो बोइले मलाई । अध्ययनका लागि बेनी जानुपूर्व अर्थात कक्षा आठ पढुन्जेल म धेरैजसो बोईसँगै बसेँ ।  बोईलाई म मेरो जीवनको पहिलो गुरुको रुपमा त्यसकारण लिन्छु कि जसले मलाई साथीहरुसँग झगडा गर्नबाट निरुत्साहित गर्नुभो । जसले मलाई प्रत्येक दिनजसो घर्तीथर बज्यैका दुईभाई छोराहरु नरे र कुष्णेमामा बच्चा छँदा कसरी मिलेर बस्थे भनेर सत्य कथा सुनाउनुहुन्थ्यो, र दुईभाई झगडा गर्न हुँदैन भनेर हजारचोटी सम्झाउनुहुन्थ्यो । 
अनावश्यक रुपमा अरुका घरमा जाने र बाहिरफेर डुल्नुका साटो थुपुक्कै बसेर पढ्नलाई हौसला दिनुभयो । जीवनमा सधैं द्धितिय हुने मलाई मेहनत गरे शितल/पार्वती झैं ‘फर्स्ट’ भइन्छ भनेर प्रेरणा दिनुभयो । तीनचार कक्षा पढ्दै गर्दा कहिलेकाही सुनाउनु हुन्थ्यो – “म घर्तिथर जाँदा शेरेकी छोरी (पार्वती) थपक्कै बसेर पढेकी थिई, त्यस्तरी पढेपो ‘फर्स्ट’ भइन्छ !” पाँचमा पुगेपछि पार्वती तृतीय भईन प्रथम स्थान शितलले कब्जा गरिन म दोश्रोमैं यथावत ! त्यसपछि बोइले सुनाउन थाल्नुभयो, "म फुलबारीमा घाँस काट्न जाँदा देखेकी थिए उत्तमकी छोरीले (शितल) हातमा पुस्तक समातेर पढ्दै हिडेकी थिईन !" बोईले जति सम्झाएपनि स्नातक उत्तीर्ण नगरुन्जेल म द्धितिय नै भएँ ! 
मेरा शैशवस्थाका महत्वपूर्ण पलहरु बोईसँग बितेका छन । त्यसकारण पनि मैले धेरै कुराहरु बोईको सानिन्ध्यताबाट नै सिकेँ । मलाई राम्रा आनिबानीका बारेमा सिकाउने मेरी बोई मेरो पहिलो पथप्रदर्शक हुनुहुन्छ । पहिलो गुरू हुनुहुन्छ ।

२. कँडेल सर
मेरी बोईपछि मलाई अत्यन्तै प्रभावित पार्ने ब्यक्तित्वमा म कँडेल सरको नाम लिन रुचाउँछु । गंगाप्रसाद कँडेल सर – मेरो जीवनसँग जोडिएको एउटा यस्तो नाउँ जुन नामसँग जोडिएर मैले आज पर्यन्त एउटा पनि नकारात्मक पक्ष भेटेको छैन । मेरो शैशवकालसँग जोडिएका हर ब्यक्तिहरुसँग केहि न केहि खोट म पाउँछु – जस्तो बोई र आमाको धुम्रपान गर्ने बानी, बाबाको मदिरापान गर्ने बानी तर कँडेल सर मेरो बाल्यकालमा जोडिन आउनुभएको एउटा यस्तो ब्यक्ति जसको नराम्रो मैले केहि पाइँन । अहँ केहि थोक पाइँन ।
पढाउनेहरु त गाउँकै कति थिए कति ती मध्ये मलाई राम्रो लाग्नेहरुमा श्लोकिय भाकामा गणित पढाउने शैली र कथा वाचन गर्दा रुवाउन सक्ने क्षमता राख्ने भएका कारण चण्डी गुरु, नैतिक शिक्षा पढाउने र विद्यार्थीहरु प्रायःलाई तिमीको सम्बोधन गर्ने जगन्नाथ गुरु, नेपाली भाषामा विद्धताका हिसाबले केशव गुरू अनि सामाजिक पढाउनुहुने अशोक मल्ल सर हुनुहुन्थ्यो । तर जब म कँडेल सरलाई स्मरण गर्न पुग्छु । ख्वै किन किन उहाँप्रति यतिविघ्न सम्मान जागेर आउँछ कि जीवनको यो क्षणसम्म आईपुगुन्जेल मैले जतिपनि गुरुगुरुआमाहरु भेटेँ उहाँहरुलाई एकातिर र एक्लो कँडेल सरलाई अर्कोतिर राखेँ भनेपनि म मलाई प्रेरित गर्ने गुरुमा कँडेल सर नै पाउँछु ।
सात कक्षामा पढ्दै गर्दा कँडेल सर आउनुभएको थियो हाम्रो स्कुलमा । अङ्ग्रेजी पढाउनलाई । बागलुङ्कै एक प्रतिष्ठीत नीजि बिद्यालयमा अध्यापनरत रहँदा बागलुङ बिहुँका कँडेल सरलाई हाम्रो स्कुलमा ल्याइएको थियो । सबै बिद्यार्थीहरुलाई समान ब्यवहार गर्ने कँडेल सरले कहिल्यै पनि प्रतिभाका आधारमा विद्यार्थीहरुलाई विभेद गर्नुभएन । कक्षाको दोश्रो छात्र भएपनि म लगायत मेरा प्रायः साथीहरुको अङ्ग्रेजी कमजोर थियो । मेरा अरु सहपाठीहरु यस विषयमा के धारणा राख्दछन कुन्नी तर इमान्दारीकतापूर्वक भन्दा अङ्ग्रेजी सिक्नलाई गार्हो छैन बरु निरन्तर अभ्यासको जरुरी छ भनेर मेरो कलिलो दिमागमा छाप पार्ने काम कँडेल सरले नै गर्नुभएको हो ।
हाम्रै घरमा खाना खाऔं भन्ने प्रस्तावलाई भद्रतापूर्वक अस्विकार गर्दै आफ्नै कोठामा खाना खानुहुने कँडेलसरले धेरैपल्ट मलाई आफूले बनाएको खाना खुवाउनु भएको छ । स्टोभमाथि खाना बसालेपछि उहाँले मलाई अङ्ग्रेजी शब्दार्थ पढ्न लगाउँदै सोध्ने गर्नुहुन्थ्यो । र, बेलाबेलामा भन्ने गर्नुहुन्थ्यो – हेर नीराजन, अङ्ग्रेजी भनेको जति प्राक्टिस गर्यो त्यति जानिने हो । कहिलेकाही खाना पकाउँदै गर्दा उहाँले मलाई सम्झाउने गर्नुहुन्थ्यो– हेर भोलीपर्सि कलेज पढ्न थालेपछि तिमीले पनि यस्तै गरी खाना बनाउनु पर्छ ! अहिले देखि नै खाना बनाउने काम सिक । आफ्नो काम आफै गर्नुपर्छ । कम्तिमा पनि आफूले लगाउने लुगा र खाना खाएको थाल आफै धुने गर्नुपर्छ ।
प्रायःजसो साँझतिर म र कँडेल सर चौरतिर डुल्न जान्थ्यौं । घरमुन्तिर रहेको घैंयारा भन्ने ठाउँहुँदै हामी बुढोचौर पुग्थ्यौं । हिड्दै गर्दा कँडेल सरले वरिपरीका चिजविज र बाटामा भेटिने मान्छेहरुका विषयमा अङ्ग्रेजीमै कुरा गर्न लगाउनुहुन्थ्यो । एक साँझ यस्तै घुम्ने क्रममा हामी हिड्दै गर्दा एउटी बुढी बज्यै (जसलाई गाउँलेहरु मुतुरी भन्ने गर्थे) हामी हिड्दै गरेको बाटोमा भेटिइन । कँडेल सरको लागि उनी नौलो मान्छे थिईन अनि उहाँले मलाई प्रश्न गर्नुभयो – हू इज सि ? मेरो जवाफ थियो – सि इज मुतुरी ! मलाई त्यो बज्यैको नाम थाहा पनि थिएन त्यसैले त्यसो भनेको थिएँ । सरले मलाई हाँस्दै भन्नुभयो – ओ, आई सि ! अनि उहाँले अङ्ग्रेजीमै एउटा वाक्य भन्नुभयो पछि त्यसलाई नेपालीमा अर्थ्याउनुभो पनि – तिमीले उहाँलाई एउटी बुढी महिला पनि भन्न सक्थ्यौं !
मलाई थाहा छ – कँडेलसरसँग बितेका पलहरुलाई मैले केस्राकेस्रा केलाएर लेखेँ भने म एउटा उपन्यास लेख्न सक्छु । साँच्चीकै भन्दा मैले आजसम्म भेटेका गुरुगुरुआमाहरु मध्ये सबभन्दा अब्बल, प्रेरक र मेरा लागि प्रिय भनेको कँडेल सर हुनुहुन्छ । साँच्ची कुनै एक ब्यक्तिबाट यतिधेरै प्रभावित भएको छु भने मलाई सर्वाधिक प्रभावित गरेको भनेको कँडेल सर नै हो ।
अन्ततः आठ कक्षा पढ्दै गर्दा कँडेल सरले हाम्रो स्कुल छाडेर जानुभयो । सुने अनुसार उहाँ आफ्नै गाउँको स्कुलमा जानुभएको थियो । मेरो सम्झनामा भएअनुसार म जीवनमा सबैभन्दा धेरै रोएको दिन त्यहि दिन थियो जुन दिन मेरा सर्वाधिक प्रिय गुरुले हाम्रो स्कुल छाडेर जानुभएको थियो । मलाई यस्तो लाग्छ कि जीवनमा सायद अब  म त्यतिधेरै सायदै रून्छु होला !


Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)