थप दुर्इ प्रेरक ब्यक्तित्वहरू

५. त्यो गीत गाउने केटो

हाम्रो गाउँभन्दा तलको गाउँबाट त्यो भाईका बाउछोरा प्रायः जसो हाम्रो गाउँतिर उक्लन्थे । उनीहरुको गाउँको नाम बेलबोट हो । हाम्रै गा.वि.स.को ५ नं. वडामा पर्छ त्यो गाउँ । त्यो केटोलाई म भाई भन्थेँ उसले हाम्री आमालाई फुपु भन्थ्यो । उसको बालाई हामी मसानले फालेको सार्की मामा भन्थ्यौं ।
त्यतिखेर ती बुढा त्यस्तै चालीस बयालिस वर्षका हुँदा हुन, लौरो टेकेर अत्यन्तै सुस्त गतिमा हिड्थे । उनको पछिपछि उनको कान्छो छोरो हिड्थ्यो । सानो झोला पनि बोक्थ्यो – ऊ ।  आमाले सुनाउनुभएको थियो – कि बुढालाई राती मसानले टपक्क टिपेर तल हुर्याइदिएको रे ! त्यतिखेर त्यस्तै छ सातमा पढ्ने केटो थिएँ म । भूतप्रेतसँग खुब डर लाग्थ्यो । अझ झन ती सार्कीमामालाई भूतले नै टिपेर फाल्देको कुरो सुनेपछि म निकै नै डराउथेँ । त्यतिखेर म र भाई राती पिसाब लाग्यो भने पनि चर्पी जान डराउथ्यौं – डरले ! अनि पिढींबाटै पिसाव गथ्र्यौ । बिहान पिसावको टाटो देखेपछि आमा कराउनुहुन्थ्यो । हामी सुनेको नसुने झैं गर्थ्यौं !
महिनामा एकदुई दिन सार्की मामाका बाउछोरा गाउँतिर उक्लन्थेँ । त्यो फुच्चे भाई त्यस्तै सातआठ बर्षजतिको थियो होला । सार्कीमामा सुनाउथे – अरु छोराछोरीले हेर्दैनन यहि कान्छाले माया गर्छ । ‘दाईहरुले नहेरेर के भो ? तिम्लाई म पाल्छु नी’ भन्छ ! अनि त्यो सानो भुकुस्स परेका गाला भएको, नखाए पनि खाएजस्तो देखिने भाई मीठो स्वरमा गीत गाउथ्यो – धान झुलेको छ कहाँ जाउँ कहाँ जाउँ भैरन्छ, मन डुलेको छ ! र, त्यो भाई मैले चार कक्षामा हुँदा पढेको श्रवणकुमार प्रतित हुन्थ्यो ।
लगभग म बेनी कलेज पढिन्जेल त्यो भाईलाई उसको बाबासँग यसरी नै देखेँ । बाबालाई अघि लगाएर गीत सुनाएर उठाएको चामल, पीठो बोक्ने झोला बोकेर ऊ पछिपछि हिड्थ्यो ! ती सुस्तसुस्त बाबाको कछुवागतिमा ऊ पनि उसैगरी हिडेको देख्थेँ म । उसको अनुहारमा सुस्त गतिको हैरान मैले कहिले पनि देखिनँ । बाबा र आफ्नो ज्यान गीत सुनाएर पालिरहेको त्यो भाई मेरा लागि प्रेरणाको अज्रस स्रोत त्यतिबेलादेखि बनेको छ, जतिबेलादेखि म उसको पितृभक्त देखेर नतमस्तक भएको छु । 
म २९ वर्षमा प्रवेश गर्दैछु, सायद त्यो भाईको उमेर पनि २० नाघ्यो होला । उसलाई मेरो जीवनको एक आदर्श ब्यक्ति ठानेर उसको पिताप्रतिको प्रेमका बारेमा यो लेखिरहँदा पनि मलाई उसको त्यो निर्दोष र उज्यालो भविष्यको आशाको किरणले लत्पतिएको उसको कौमार्य मुस्कानले ठीक उसै गरी मन्त्रमुग्ध पारिरहेको छ जसरी म उसको गीत सुन्दा हुन्थेँ ! हो, प्यारो गायक भाई म तिम्रो पितृप्रेमले पानीपानी भएको छु ! मेरो आदर्श तिमीलाई मेरो नमन छ ! 

६. बसन्धरी बज्यै

तिनताका हाम्रो गाउँमा रक्सीको राम्रै वेपार हुने गथ्र्यो । मेरी आमाले पनि केहि वर्ष रक्सी बनाउने काम गर्नुभयो । आमा चाँहि रक्सी बनाउनुहुन्थ्यो अनि भट्टीवालाहरुलाई बेच्नुहुन्थ्यो । मेरो आमा जस्तै अरु थुप्रै रक्सी बनाउने आमाहरुको रक्सीको खासै नाम थिएन गाउँमा तर बसन्धरी बज्यैको रक्सीको नाम खुब चल्थ्यो त्यतिखेर । एउटा ब्रान्डको नाम जस्तै बनेको थियो – बसन्धरीको रक्सी ! गाउँका प्रायः जड्याहाहरु बसन्धरीले बनाएको रक्सी भनेपछि हुरुक्कै हुन्थे ! उनीहरुको दावा थियो – बसन्धरीकोमा प्योर कोदाको रक्सी हुन्छ । जड्याँहाहरुको जिकिर थियो – बसन्धरीले जाँडमा चिनी मिसाउँदैनिन । फेरि जड्याँहाहरु भन्थे – बसन्धरीको रक्सीमा जस्तो मात अरुकोमा मिल्दैन । अरु त तीनपाने भन्छन्, पाँच पाने बनाउँछन् ! र, उनै जड्याँहरु मान्दथे – बसन्धरीको रक्सीले मट्टितेलको पनि काम गर्छ, टुकीमा हाल्दिनुपर्छ बत्ती बाल्न मट्टितेल     चाँहिदैन !
वास्तबमै बसन्धरी बज्यै आफ्नो पेशाप्रति ईमान्दार थिईन । उनले रक्सी बनाउने काममा बेईमान कहिल्यै गरिनन् । एकदिन बाबाको लागि रक्सी लिन जाँदा मैले उनै बज्यैलाई सोधेको थिए – हैन बज्यै हजुरले जाँडमा चिनी मिसाउनु हुन्न रे, किन हो ? चिनी मिसाए त हजुरलाई झन फाईदा हुन्थ्यो होला नि ! चिनी मिसाएर एउटै जाँडले दुईतिन पल्ट रौसी पार्न मिल्छ रे नी है ? मैले यसो भन्दा आफ्ना चिम्सा आँखा झिमिकझिमिक पार्दै बज्यैले ओठे जबाफ फर्काएकी थिईन – चिनी मिसाउँदै रक्सी पारेपछि त तेरो बाजेहरुको फोउसो (फोक्सो) बिग्रेला नी ! 
जीवनमा मैले ती बज्यैबाट दुईटा महत्वपूर्ण शिक्षा हासिल गरेको छु – पहिलो, आफ्नो पेशाप्रति ईमान्दारीता र दोश्रो आफ्नो उत्पादनलाई ‘ब्रान्डेड’ बनाउने ! केहि वर्षपहिले उनको देहान्त पनि भो, अनि छानो छँदा तिनै बसन्धरी बज्यैले बनाएको ‘प्योर कोदा’ को रक्सी भोलीपर्सी ठूलो मान्छे भएर पिउने बिचार बनाएको मेरो सपना त पूरा भएन, तर आज एउटै कुरा मनमा लागिरहेछ – साँच्ची बसन्धरी बज्यैको उधारो रक्सी पिएकाहरुले उनको पैसा त तिरे होलान कि ?
Post a Comment