सातौं प्रेरक ब्यक्तित्व – एउटा कवि !

काठमान्डुमा बिबिएस प्रथम वर्षको अन्तिम परीक्षाको परीक्षा फाराम खुलिसकेको थियो, मैले काठमान्डु बसाईलाई टुंग्याउने निर्णय गरेँ । भएका सबै सामान पोको पारेर म घर फर्केपछि मेरा आमाबुबा दुवैजना मसँग निकै नै रिसाउनुभयो । नौ महिने काठमान्डु बसाई अवधीभर पनि बुबाले मलाई जागिर खाँदै पढ्ने वातावरण गराउँछु भनेर जुन प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो त्यो पूरा हुन नसकेपछि मैले घर खबरै नगरी काठमान्डु छाडेको थियो । घर आएको एक महिनापछि मैले बागलुङ बसाई थालेँ ।
बागलुङमा जागिरको मेसो मिलाएको थिएँ । नातामा मामा पर्ने छिमेकी मोहन महतले मलाई बागलुङको एक आवासीय बिद्यालयमा जागिर शुरु गर्ने वातावरण मिलाईदिनुभएको थियो । र, त्यतिखरको मेरो बागलुङ बसाईले नै हो मलाई मेरा यी आदर्श ब्यक्तित्वसँगको सामिप्यता जुराईदिएको ! बागलुङमा साहित्यिक गतिविधी निकै नै फस्टाएको थियो त्यो बेला । मेरा अनन्य मित्रहरु प्रकटकुमार, दिल श्रीष, राम अविरल, मोहराज शर्मा र अरुण अनामी लगायतहरु मासिक काब्य गोष्ठी सञ्चालनका लागि निकै नै सक्रिय थिए । र, उनीहरुलाई राम्रो साथ दिएका थिए केहि गुणस्तरीय युवा कविहरुले जसमध्ये एक थिए – यी मेरा प्रिय कवि !
म भूपी शेरचनका कविताहरु निकै नै रुचाउँछु, जस्तो मेरो रुचीका कविताहरुमा यी मेरा आदर्श कविका कविताहरु पर्दछन् । काब्यगोष्ठी यी मेरा कवि नियमित हुन्थे, र धेरै जसो तारिफ उनका कविताले नै पाउँथे । काब्य गोष्ठीमा सृजना वाचन गर्न र सुन्न गएकाहरु सबै उनको कवितामा मन्त्रमुग्ध हुन्थे । खासगरी उनको कवितामा एउटा नारी पात्रको प्रयोगले पनि प्रत्येक महिनाका काब्य गोष्ठीहरुमा अन्य कविहरू निकै व्यग्रतापूर्वक उनको “फूलकुमारी” कविता श्रृङ्खलाको प्रतिक्षा गरिरहेका हुन्थे । कपडाको पाइन्ट र सेता कमिजमा काव्य गोष्ठीमा उपस्थित हुने यी कविको नाम र लवाईले मलाई निकै नै आकर्षित बनाउथ्यो । भवभिन्न, एक अर्थमा मेरो पनि उनको जस्तै “क्याची” नाम भैदिएको भए, धेरैको मुखमा मेरो पनि नाम झुन्डिदो हो भन्ने मेरो बुझाई थियो । तर जब उनका कविताहरुले मलाई लालयित पारे, अनि लाग्यो कवि हुने नामले हैन कविताले रहेछ ! उत्कृष्ट सृजनाले रहेछ !
रवाफिलो र भडकिलो पोशाकलाई बहिष्कार गर्ने मेरा प्रिय कविको लवाईबाट म निकै नै प्रभावित भएँ त्यतिखेर । मैले मसँग भएका तीन थान जिन्स पाइन्ट लगाउन छाडिदिएँ, र उनले जस्तै कपडाको पाइन्ट लगाउन थालेँ । हो, त्यहिसमयदेखि मैले विश्वास गर्न थालेँ कि पोशाकले मान्छेको ब्यक्तित्व हैन रवाफको प्रदर्शन गर्दछ ! किनकी भवभिन्नको पोशाकले उनको काव्यिक चेतमा कुनै प्रभाव पारेको मैले देखिनँ । उनको साधारण लवाईले उनलाई रोक्न सकेन – असाधारण कविता सृजना गर्न !
भवभिन्नबाट मलाई भएको अर्को महत्वपूर्ण सिकाई भनेको मानिसहरुलाई आदरपूर्वक सम्बोधन गर्नु हो । उनले के साना, के ठूला सबैलाई तपाइँको सम्बोधन गर्थे उसबेला ! मलाई “तपाइँ” को सम्बोधन गर्ने पहिलो अग्रज कविको नाम भवभिन्न हो ! उनीसँगबाट म यसरी प्रभावित भएकी उप्रान्त मैले मेरा धेरै समकक्षीहरुलाई “तपाइँ” को सम्बोधन गर्न शुरु गरेँ जुन अहिलेसम्म उस्तै छ ! उनीबाट मैले राम्रा कविताहरु कोर्ने प्रेरणा पाएको छु । केही पाठकहरुले मैले कोरेका कविताहरु राम्रा छन् भनेका छन यसको सिधा अर्थ हो – मैले भूपीको कवित्व बुझ्दैछु, मैले भवभिन्नलाई पछ्याउँदैछु ! 
भवभिन्नका विषयमा लेख्दै गर्दा एउटा छुटाउनै नहुने कुरो के हो भने उनी कविताको संग्रह प्रकाशन गरेर धेरै जसो धौलागिरीका साहित्यकारहरुले झैं साथीहरुलाई जबरजस्ती आफ्ना कविताहरु, कथाहरु, उपन्यासहरु बिकाउने पक्षमा थिएनन । जतिबेला मैले उनलाई भेटेको थिएँ, त्यतिखेर मैले एउटा उपन्यास प्रकाशित गरिसकेको थिएँ । त्यसैले मैले उनलाई प्रश्न राखेको थिएँ, “कविवर, मेरो त कृति प्रकाशित भैसक्यो हजुरले कविता सङ्ग्रह कहिले प्रकाशन गर्ने ?” कविको जवाफ रह्यो – “म कविताको गुणस्तरियतामा विश्वास राख्दछु, कविता संग्रहको प्रकाशनमा हैन !” उनको यहि जवाफले नै हो मलाई मेरो पहिलो कृति प्रकाशनको अर्को सात बर्षसम्म कुनैपनि कृति प्रकाशन नगर्न उत्प्रेरित गरेको ! हो, त्यसपछि मलाई संख्यामा भन्दा गुणस्तरमा ध्यान दिन प्रेरणा जाग्यो । आँशु र पसिना कविहरुको भीडमा राम्रो कविता लेख्न सक्ने कवि बन्ने प्रेरणा जगायो ! 
 मेरो बुझाईमा यी मेरा प्रिय कवि, मेरा प्रेरक ब्यक्तित्व धौलागिरिका कथित थुप्रै वरिष्ठ कविहरुभन्दा उत्कृष्ट कविता लेख्दछन् । कविता बोल्दछन् । र, कविता बुझ्दछन् । मेरा प्रिय कवि, यसैगरी म तिम्रा कविताहरु पढ्न पाउँ जस्तो तिमीले कुनैदिन सुनाएका थियौं – 
कडा पत्थरमा झरीले
पानीको मुल रसाएजसरी धेरै समयपछि
तिमीले गाउने एउटा गीतमा
मेरो पनि नाम भेटियो फूलमाया
त्यसलाई तिमीले
अरू शब्दजसरी नै
गाइदिनु हृदय खोलेर !
भवभिन्न

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)