८. त्यो क्रान्तिकारी जसले मलार्इ मुस्कुराउन प्रेरित गर्छ !

मलाई क्रान्तिकारीहरू मन पर्छ । मलाई जल्लादहरू मन पर्दैन । क्रान्तिकारीहरू ती हुन जोसँग सर्वहारावर्गको उत्थानको सपना हुन्छ । परिवर्तनको विश्वास हुन्छ ! महान कम्युननिष्ट क्रान्तिकारी माओत्सेतुङले भने झैं “जनताबाट सित्तैमा सियो र धागो पनि नलिने” ती क्रान्तिकारीहरूलाई म साँच्चिकै प्रेम गर्दछु । सम्मान गर्दछु । तर, म जल्लादहरूलाई मन पार्दिन । ती जल्लादहरू जो उनीहरुका कुकृत्यहरूका विरोधमा आवाज उठानेहरूको घाँटी रेट्छन, टाङ च्यात्छन वा शुलमा टाङगछन् । तर क्रान्तिकारीहरू त्यसो गर्दैनन बरु परिवर्तनको विश्वासमा आफ्नो नीजि स्वार्थलाई परित्याग गरेर क्रान्तिमा होम्मिन्छन् ।
देश युद्धमा होमिएको बेलाको कथा हो यो जतिखेर म भर्खर क्याम्पस शुरु गर्दैथे ! युद्ध उत्कर्षमा पुगेको थियो । राज्यले धेरै निर्दोषहरुलाई विद्युतिय धरापमा प्रयोग हुने बारुद, सयमिटर तार र ग्रिनेडसहित भेट्टाउथ्यो र दोहोरो भिडन्तमा आतंकवादीहरु हताहत हुन्थे ! हो, यो त्यतिखेरको त्रासदीपूर्ण समयको कथा हो जतिखेर विद्रोहीहरु सुराकीको बिल्ला भिराएर आफूभन्दा फरक विचार राख्नेहरुको सफाया गर्दथे । र, त्यहिबेला नै मैले भेटेको थिएँ एउटा यस्तो क्रान्तिकारी योद्धा जसमा मैले कहिल्यै आक्रोश भेटिनँ । मेरो त्यो आदर्श ब्यक्तित्व जोसँग बसेर खुल्ला बहस गर्दापनि मैले आफू असुरक्षित भएको महशुस गरिनँ । अहँ, उनीसँग तर्क गर्दै गर्दा मैले कहिल्यै डराउनु परेन ! उनी अर्थात गमबहादुर श्रीष !
सानो गाँठीका, उसै त सेतो अनुहार झन त्यसमा पनि चमक भएका यी हेर्दै रहरलाग्दा भूमिगत मनुवा बेलाबखत हाम्रो घरमा पनि बास बस्न आईपुग्थे । कहिले एक्लै, कहिले साथी लिएर ! शुरुशुरुमा यिनी आउथे अनि मेरा कम्युनिष्ट आदर्श शिरोपर गरेका पिताजीसँग भलाकुशारी गर्दथे । उहाँहरुको कुरो प्रायः त्यहि नै हुन्थ्यो कि युद्धको ब्यवस्थापन भैसकेपछि वा भैनसक्दा पनि मिल्ने मुद्धाहरुमा कार्यगत एकता हुन सक्दछ । हुनुपर्दछ । तर पार्टीगत एकता असम्भवप्रायः नै छ । यसरी पिताजीसँग कुराकानी गरेर खानपिन गरीसकेपछि सुत्न चाँहि उनले मेरो कोठामा आउनुपर्ने हुन्थ्यो । कारण, हाम्रो घरमा पाहुनाको लागि सुत्नेकोठाको अभाव थियो । अनि उनीसँग मेरो भलाकुशारी चल्थ्यो । मैले उनलाई “अंकल” भनेर सम्बोधन गर्ने गर्दथेँ । मेरो प्रश्न हुन्थ्यो – अङ्कल यसरी कहिलेसम्म लुकीलुकी हिड्ने ? मुस्कानसहितको उनको जवाफ हुन्थ्यो – “ख्वै बाबु ! सायद जहिले हाम्रो आवाज राज्यले सुन्छ त्यहिलेसम्म होला नी !” मैले फेरि सोध्थेँ – “युद्धमा बाँचिन्छ नै भन्ने त हुँदैन, बेकारमा यस्तो मर्ने काममा किन लाग्नुभएको ? डर लाग्दैन ?” फेरि पनि उनले मुस्कुराउन नबिर्सिकनै जवाफ फर्काउथे – “मृत्यु ध्रुवसत्य छ । ढिलो चाडो सबैले मर्नुपर्छ ! फरक यत्ति हो – कसले कस्तो मृत्यु म¥यो ? क्रान्तिमा लड्दालड्दैको बलिदानीको अर्थ अतुलनीय हुन्छ बाबु !” मलाई क्रान्तिकारी त लुसुनका कथाहरु पढ्दाखेरी हुन मन लागेको थियो, तर कुरा बुझ्ने भएपछि अझ घरमा अस्थाई सेल्टरका लागि आउने विद्रोहीहरुसँगको संगतपछि त झन क्रान्तिकारी बन्ने ठूलै हुटहुटी लागेको थियो । तर मैले उनीहरुले भनेको जस्तो आफूले अध्ययन गरिरहेको औपचारीक शिक्षालाई बहिष्कार गरेर हिड्ने हिम्मत गर्न सकिनँ । जेहोस धेरै समयसम्म विद्रोहीहरुको आउजाउ चल्यो हाम्रो घरमा । 
एक जिल्ला स्तरीय एमाले नेताको हत्या भयो म्याग्दीमा । एउटा क्रुरर हत्या ! घाँटी सेरेर हत्या गरे कथित क्रान्तिकारीहरूले ! त्यहि हत्याको केहि समयपछि मेरा आदर्श कम्युनिष्ट नेता श्रीष र गिरी थरका अर्का एकजना विद्रोहीका कार्यकर्ता हाम्रो घरमा बास बस्न आए । बा, आमा, भाई र म पिढीमा बसिरहेका थियौं । अभिवादनको आदानप्रदान भएपछि उनीहरुले खाना खान आएको र बास चाँहि उपल्लाचौर बस्ने भन्ने कुरो सुनाए । हाम्रो बा झन्किनु भो – “सुराकी पनि नगर्ने, खुराकी पनि नदिने निर्णय भएको छ पार्टीको !” बाले यसरी सिधैं बोलेको मलाई मन परिरहेको थिएनँ । त्यो बखत मैले मेरो आमाको मुहारमा पनि हेरको थिएँ, आमाले पनि बाबाको कुरा सुनेपछि मुख बिगार्नु भएको थियो । खासमा बाबाले यसो भन्दा उहाँलाई अप्ठयारो पर्ला कि भन्ने चिन्ता थियो हामीलाई ! तर श्रीषको मुहारमा चाँहि कुनै पनि खालको आक्रोश भेटिएन । त्यो साँझ एकछिन गफ गरेर मुस्कानसहित मेरा एक आदर्श कम्युनिष्ट नेता गमबहादुर श्रीष उनका सहकर्मीसहित उपल्लाचौर हान्निए । उनको यो विनयशीलताले त्यसबखत मलाई साँच्चीकै नतमस्तक पारेको थियो । भूमिगत मान्छे, उनले बोक्दै गरेको झोलामा पेस्तोल पनि त हुन सक्थ्यो ! मेरो बाबाको सिधा र चेतावनीयुक्त भाषा मन नपारेर उनले जे पनि गर्न सक्थे नि !
द्धन्दकालको एउटा तिहारतिरको कुरो हो, उनको दलको भातृसंगठनका युवा र हाम्रो गाउँको एक युवाको जुवाको खालमा झगडा परेछ । दुईजना लड्दाखेरी हाम्रा गाउँका युवालाई चोट पनि लागेको थियो । प्रत्यक्षदर्शीका अनुसार जुवा खेल्दै गरेकाहरुसँग जबरजस्ती जुवा बन्द गर्न पर्ने दवाव दिएपछि शुरु भएको पिटपाटमा दुवै जना घाईते भएका थिए । उनीहरुको घोषित नीति नै थियो उबेला कि जुवातास खेल्न वा खेलाउन नपाईने । तर यिनै क्रान्तिकारी नेता हुन जसले आफूहरुबाट केहि त्रुटी भएको बिनम्रतापूर्वक स्वीकार गरी हाम्रा गाउँका घाइते युवाको उपचारका लागि खर्च बापत २५ सय रुपैयाँ दिएका थिए । त्यो घटनापछि झन ममा यिनीप्रतिको सम्मान अझ अरु बढेर आयो ।
 मलाई थाहा छैन, उनी खासमा एक ब्यक्तिका रुपमा कस्ता छन् ? एक नेताका रुपमा उनको ब्यवहार कस्तो छ ? तर यिनी म्याग्दीमा मैले भेटेका एउटै मात्र क्रान्तिकारी त्यस्ता नेता हुन जसको मुस्कानले मलाई धेरै पटक प्रेरित गरेको छ – शान्त बन्नका लागि ! उनी एउटा यस्तो क्रान्तिकारी योद्धा हुन भन्ने लाग्छ जो क्रान्तिको मैदानमा “गुलाफको फूल” बनेर मुस्कुराईरहेको छ !

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)