९. माल्दार्इ - पारिवारीक सुखका सुत्रधार !

गाउँले नाता छ उहाँसँग मेरो । त्यसैले म उहाँलाई माईला मामा भन्दछु । धेरैजसोले उहाँलाई माल्दाई भन्छन् । पेशाले उहाँ विद्यालयको पाले हुनुहुन्छ । त्यसैले धेरैजनाको लागि उहाँ हाँसोको पात्र हुनुहुन्छ । किनकी हाम्रो समाज नै त्यस्तै छ – निर्धाहरूलाई हेप्ने ! मेरा गाउँलेहरुका लागि एक निर्धा ब्यक्ति उहाँ मेरा लागि भने आदर्शका ब्यक्ति मध्येको एक हुनुहुन्छ । उहाँप्रति सम्मान जागेर आउँछ मलाई !
म बच्चैछँदा खेरीदेखि उहाँसँग मेरो राम्रै हिमचिम भो ! उहाँले “जागिर” गर्ने विद्यालय र मैले अध्ययन गर्ने विद्यालय एउटै भएकाले पनि उहाँसँग धेरै जसो भलाकुशारी हुने गर्दथ्यो मेरो । खासगरिकन एक बजेको छुट्टीमा बोइकोमा आएर खाजा खाएर स्कुल फिर्ता हुँदा १०–१५ मिनेट बाँकी नै हुन्थ्यो र त्यो समय म घन्टी झुन्डाएको कुनामा उहाँसँग गफ गरिरहेको हुन्थे । अलि ठट्यौली पाराको मान्छे हुनुहुन्थ्यो त्यतिखेर त्यसकारण पनि उहाँसँग गफिन मलाई निकै मन पर्दथ्यो । के के कुरा गरेर हसाईराख्ने ! उत्तीखेरै रोएको नक्कल गर्ने, अनि उत्तिनै खेरी राक्षस यसरी हाँस्छ भनेर ठूलो र धोद्रो आवाजमा हाँस्ने । अङ्ग्रेजी र नेपाली मिलाएर लामो समयसम्म एकोहोरो बोल्ने उहाँको क्षमता देख्दा म भुतुक्कै पर्थे ! अनि खित्का छाडेर हास्थेँ । त्यो हाँसो जस्तो हाँसो अहिले म बडेबडे हास्यब्यङ्ग्य कलाकारको प्रस्तुती हेरेर पनि हाँस्न सकिरहेको हुँदिन ।
उहाँको दाम्पत्य जीवन पनि राम्रै थियो एउटा छोरा, श्रीमती र उहाँसहितको तीन जनाको सानो सुखी परिवार ! गाउँलेहरु भन्थे – दुखजिलो गरेर भएपनि माईलाले परिवारलाई सुखैसित पालेको छ । हप्ताको एकदिन मासु टुटाउँदैन । दुध किनेरै भएपनि दिनदिनै खुवाएकै छ । लैनो भैसीं पालेकाहरुकोमा दिउँसोको चिया कालो हुन्छ सप्पै दुध ठेकामा हाल्छन् कि बेच्छन् माईलाकोमा दिउँसो पनि दुधचिया हुन्छ ! वास्तवमै माईलामामाले आफ्नो परिवारलाई आफूले दिनसक्ने सम्मको सुख दिन कुनै कसर बाँकी राख्नुभएको थिएन । तर एकदिन उहाँको श्रीमती अर्कैसँग भागिन । गाउँलेहरूले कुरा काट्थे – “बिहान दैलो पनि आफै पोत्थ्यो माइलाले बल्ल स्वाद खायो !” त्यसको केहि समयपछि माईलामामाले पोइल गैसकेकी आफ्नी श्रीमतीलाई फर्काउने प्रयासमा पोखरासम्म गएको खबर सुनेँ । भन्नुहुन्थ्यो रे – “एकचोटी गल्ती गरिहालीन, फर्किन्छिन भने राख्छु !” कत्रो महानता उहाँको ? तर उहाँको महानताको अगाडि अबुझ आईमाईले केही बुझिने, ऊ उतै बसी फर्किने । मामाले त्यसको केही समयपछि अर्कैसँग बिहे गर्नुभयो । उनीबाट पनि दुईभाई छोरा भए । 
केहि वर्षपहिले मैले उहाँको छोराहरुले साइकल चलाईराखेको देखेँ । जबकी गाउँका धनीमानी भनिनेकाहरुका छोराछोरीले साइकल चढ्न पाएका छैनन । भर्खर ४/५ मा पढ्दै गरेका आफ्ना छोराहरुलाई साइकल किनीदिनुभएको उहाँलाई मैले प्रश्न गरेको थिएँ – “मामा, तलब निकै नै बढ्यो कि क्या हो ? भाईहरुले त साइकल चलाउन थालेछन्, साइकल किनिदिनुभएछ नी !” जवाफमा उहाले भन्नुभएको थियो – “अस्थाई मान्छेको के तलब बढ्नु र भानिज ? गाउँलेहरुबाट पैसा उठे तलब पाउने हो नभए त्यस्तै हो तलब भन्ने ! अब केटाहरुले साइकल चढ्ने रहर गरेर रक्सी बेचेर संगालेको पैसाले किन्देको हो नी भानिज !” अत्यन्तै सिमित आम्दानीका बाबजुद पनि आफ्ना छोराहरुलाई चाहेको खुशी दिन प्रयत्नशिल उहाँबाट मैले पारिवारीक सुखका सुत्रहरु सिकेको महशुस गरेको छु । यी आदर्शशील मान्छेबाट मैले सिकेको महत्वपूर्ण पाठ हो – समस्याले ग्रसित मनुवा तिमी एक्लो छैनौ यो सिंगो ब्रम्हान्डमा, त्यसकारण सदा सुखी भएर जिउने प्रयत्न गर !”
Post a Comment