१०. प्रदिप दाई - मेरो एउटा असल गुरू

उहाँ अर्थात मेरो छिमेकी दाई, हामी गोपाल दाई भन्थ्यौं । पछि उहाँको स्कुल भर्नाहुँदाको नामले बोलाउन थाल्यौं – प्रदिप दाई ! म भन्दा तीन÷चार कक्षा सिनियर दाई । विद्यालयका मेधावी छात्रहरु मध्ये एक । मलाई राम्ररी सम्झना छ–  उहाँले प्रायः प्रथम वा द्धितिय स्थान हासील गर्नुहुन्थ्यो । कितावी ज्ञान मात्र हैन बाहिरी ज्ञान पनि राम्रो थियो उहाँको ! उहाँ मेरो सदनको टोली नेता पनि हुनुहुन्थ्यो । र, हामीहरु हाजिरीजवाफ प्रतियोगितामा सधैं पहिलो हुन्थ्यौं । 
म प्रायः उहाँकोमा गैरहन्थेँ । मेरो घरबाट १ मिनेट भन्दापनि कमको दुरीमा उहाँको घर अवस्थित छ । यसकारण पनि मलाई उहाँको घरमा आउजाउ गर्न सजिलो हुन्थ्यो । म भन्दा पाका उमेरकाहरुमध्ये प्रदिप दाईले नै हो मलाई पहिलो पटक “तिमी” भनेर सम्बोधन गरेको । सामन्यतयाः हाम्रो गाउँघरतिर आफूभन्दा सानोलाई तँ भनेर होच्याएर बोलाउने चलन थियो त्यतिखेर । एकदिन प्रदिप दाईलाई मैले प्रस्ताव राखेको थिएँ – “ल दाई अबदेखि म तँलाई तपाइँ भन्छु, तपाइँ मलाई तिमी भन्नुस ल !” र, उहाँले सहर्ष मेरो प्रस्तावलाई स्वीकार गर्नुभयो । त्यसदिनदेखि उहाँले मलाई ‘तिमी’को सम्बोधन गर्न थाल्नुभयो, अनि मैले चाँहि उहाँलाई तँपाई भनेर बोलाउन थालेँ । प्रदिप दाई आफूभन्दा ठूला सबैलाई “तपाइँ”को सम्बोधन गर्नुहुन्थ्यो । जबकी केहि अपवादबाहेक गाउँमा साना मान्छेहरुपनि ठूलाहरुलाई तिमी भनेर सम्बोधन गर्ने गर्दथे ! अझ झन दलितहरुलाई त जति नै बुढा हुन क्षत्री मगरका बच्चाहरू तँ भनेरै सम्बोधन गर्ने गर्थे ! प्रदिप दाईले मानिसहरुलाई सम्मानपूर्वक गरेको सम्बोधनले मलाई पनि एउटा चेतना प्राप्त भो, जसकारण मैले बिस्तारै उहाँलाई पछ्याउन थाले । आफूभन्दा ठूलो उमेरकाहरुलाई ‘तँपाइ’ र आफ्नो उमेरका वा सानाहरुलाई ‘तिमी’ भनेर सम्बोधन गर्न थालेँ !

प्रदिप दाईको छुट्टै सुत्ने कोठा थियो । जसलाई दाई कोठी भन्नुहुन्थ्यो । त्यो सानो र एउटा मान्छेका लागि पर्याप्त ठाउँ भएको कोठा थियो । कोठीलाई दाई चिटिक्क पारेर राख्नुहुन्थ्यो । रामकृष्ण ढकालको विशेष प्रशंसक उहाँले ढकालका सबै गितीसंग्रहहरु संकलन गरेर राख्नुभएको थियो । उहाँ ढकालको बाहेक अरुको गीत मुश्किलले सुन्नुहुन्थ्यो ! उहाँबाट प्रभावित भएपछि मैले पनि मलाई मन पर्ने गायक नविन के भट्टराईका गितीसंग्रहहरु संकलन गर्न थालेको थिएँ । प्रदिप दाईले नवयुवा र युवामञ्च खुबै पढ्नुहुन्थ्यो उसबेला । जसको लत ममा पनि सर्न पुग्यो । र, मैले पनि उहाँबाट नवयुवा र युवामञ्च लिएर पढ्न थालेँ । यसरी किताबी ज्ञानबाहेक बाहिरी संसारका खासखास गतिविधीहरूप्रति जिज्ञासा राख्ने बानीको विकास ममा उहाँको संगतले नै मिलेको हो । 
प्रदिप दाईले मलाई निकै नै माया गर्नुहुन्थ्यो । खासगरीकन आफूभन्दा सानाहरुलाई अत्यन्तै माया गर्ने र मायालु नामले सम्बोधन गर्ने बानी थियो उहाँमा । त्यसकारण केहि मान्छेहरुले उहाँलाई काउलो पार्न जानेको छ भनेर कुरा पनि काट्थे । तर मलाई उहाँले मेरो नामको छोटो मायालु नाम बनाएर सम्बोधन “निरु” भनेर गर्दा, सुन्दा केटीको जस्तो लागेपनि उहाँले यसरी बोलाउँदा मलाई अपार खुशी लाग्थ्यो । उहाँ नै पहिलो ब्यक्ति हो जसले मलाई त्यो प्रिय उपनामले बोलाउनु भो ।

नश्लवादीहरुको आरोप छ लिम्बु अनि मगरहरुको रिस कडा हुन्छ । रिसाए भने मान्छे मारेको थाहा पाउँदैनन् ! तर मेरो प्रदिप दाई पनि मगरै हो, उहाँले रिसाएको, मान्छे कुटेको वा झगडा गरेको कहिल्यै थाहा पाइँन मैले । बरु छिमेकमै कसैको घरमा झगडा हुँदा छुट्याउन जानेमा उहाँ अगाडि सर्नुहुन्थ्यो । मलाई राम्ररी सम्झना छ – एकदिन यस्तै एउटा पारिवारीक झगडा छुट्याउन जाँदा उहाँलाई एक झगडालु बुढाले थप्पड हानेका थिए तर उहाँ थप्पड खाँदा पनि फेरि छुट्याउन जोर गर्दै हुनुहुन्थ्यो । अन्ततः उहाँले त्यो झगडा साम्य पारेरै छाड्नुभएको थियो । पछि मलाई मेरी आमाले पनि भन्नुभएको थियो – प्रदिप साँच्चीकै क्षमाशील मान्छे हुन !

समग्रमा भन्दा मैले प्रदिप दाइको संगतबाट दुईवटा महत्वपूर्ण पाठ सिकेको छु – पहिलो, सबैसँग मिलेर बस । शान्तपूर्वक बाँच र अरुलाई पनि शान्तपूर्वक बाँच्न प्रोत्साहन देऊ । दोश्रो, आफूभन्दा साना मान्छेहरुको भावनालाई कदर गर । उमेरले आफूभन्दा सानो मान्छे भन्दैमा उसको विचार तिम्रो भन्दा तुच्छ भन्ने हुँदैन !

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)