१२. रुपचन्द्र बिष्ट जसले भने – थाहा पार्इ भाते !

म नौ कक्षामा पढ्थे त्यो बेला । शुक्रबारको दिन घर आएपछि म मामाघर गएको थिएँ । त्यो जेष्ठ महिनाको दिन थियो । माइजुले आफूले पढ्दै गरेको नवयुवाबाट एक जना ब्यक्तिको बारेमा सुनाउनु भएको थियो । त्यतिन्जेल सम्म मैले त्यो मनुवाका बारेमा केही थाहा पाएको रहिनरछु । माइजुले भन्नुभो – रुपचन्द्र विष्ट थाहा छ तिम्लाई ? नेपालको दार्शनिक हो ! मैले थाहा छैनको भावमा मुन्टो हल्लाए पछि माइजुले मलाई “थाहा” आन्दोलनका बारेमा केही बताउनुभएको थियो । मैले खासै केहि बुझिनँ त्योबेला । पछि कलेज पढ्न थालेपछि रुपचन्द्र विष्टका बारेमा पढ्दै र बुझ्दै गएपछि उनको चेतनाको स्तरले मलाई राम्ररी तान्दै गयो । रुपचन्द्र विष्टका बारेमा पढ्दै जाँदा जति उनी एउटा अनौठो मान्छे हो भन्नेमा म पूरै निश्चित भएँ । 
मैले पढेपछि थाहा पाएँ – रुपचन्द्र विष्ट त्यस्तो मान्छे, जसले हरेक गलत कृत्यको विरोध गरे । उनकै शब्दमा पञ्चायत एउटा “महाडाँकातन्त्र” थियो र उनी त्यो “महाडाँकातन्त्र”को विरोधमा आफूलाई उरालिरहेका थिए । देशलाई खोक्रो पार्न उद्यत मण्डलेहरुको कुरुप तस्वीरलाई बाहिर ल्याउने काममा उनी जीवन पर्यन्त लागिरहे । जीवनकालभर उनी सधैं जनता र चेतनाका कुरा गर्दै हिडे । उनले शुरु गरेको “थाहा” आन्दोलनले तत्कालिन राज्य ब्यवस्था सञ्चालनको डाडुपन्यु समातेकाहरुको सातो लियो । हो, उनै रुपचन्द्र विष्ट – जसले जनताहरुलाई भने “थाहा पाई भाते” “जान भाते” ! त्यो “थाहा” आन्दोलन जसले जनताहरुलाई “थाहा” पाउन उद्यत बनायो – आफ्नो वरिपरी हुने विकास निर्माणको खर्चको पारदर्शिता ! भ्रष्टारजन्य गतिविधीहरूको निगरानी ! गद्दारहरूको पहिचान ! गैर्हकानुनी र अवैधानीक कृत्य गर्ने अराष्ट्रियतत्वहरुलाई खबरदारी !
विष्टको समाज जस्तै अराजक मेरो पनि समाज छ । हिजो उनले जस्तै गद्दारहरुको सामना अहिले म पनि गरिरहेछु । तर विष्टजस्तै त्यो जब्बर ब्यक्तित्व अहिले कहाँ पाउनु हामी ? जसले गाउँ पञ्चायत कार्यालयलाई विकास घर बनाए, जसले गाउँमा हुने ब्यवसायमा समेत विकास कर लागु गराए । र, जनताहरुले तिरेको कर कहाँ खर्च भइरहेको छ, त्यसको प्रष्ट जानकारी जनताहरुले पाउने ब्यवस्था मिलाए । हरेक दिन विकासघरको सूचना पाटीमा विकासकरको हिसाब किताब टाँसेर ! विष्टले बोकेको आदर्श मेरो लागि पनि त्यो अनुकरणीय छ । उनका दर्शनले मेरो मुटुको भित्री कुना छोएको छ, त्यसले मलाई प्रेरित गरेको छ – आफ्नो वरिपरी हुने विषयहरुका बारेमा जानकारी राख्ने । जसले मलाई दिलाएका छन् – गलत कृत्यलाई गलत भन्ने साहस ! चाहे त्यो आफ्नै पिताजीले गरेको कृत्य किन नहोस्, यदि त्यो गद्दार कृत्य हो भने त्यसलाई गलत भन्ने साहस राख्नु पर्छ । विरोध गर्नुपर्छ !
विष्टले त्यतिखेर दिएको दिब्य ज्ञान आज पर्यन्त प्रभावशाली छ । उनको उद्धरण छ – पैसाबाट सत्यता, पदबाट इन्साफ, जातबाट जनहित, शोषकबाट विकास, विदेशीबाट राष्ट्रियता, रन्डीबाट इमान, गुन्डाबाट राजनीति, शासकबाट प्रजातन्त्र पाइन्छ भन्नेले लगाएछन् चितुवालाई बाख्राको गोठालो ! मलाई पनि लागेको त्यहि हो – मान्छेहरुले जे सुकै उपमा दिउन, मलाई त्यसको पर्वाह छैन । तर गलत कुरोलाई सही हो म भन्न सक्दिनँ । म विश्वास गर्न सक्दिनँ – बाख्राको गोठालो चितुवा हुने कुरो ! विष्टको भोगाई भन्दा पृथक छैन मेरो अनुभूति पनि ! मेरो समाजमा अहिले पैसाको महत्व निकै बढेर गएको छ । मेरा मान्छे भन्नेहरुले ठानेका छन् – पैसामा क्रय बिक्रय हुन्छ – सम्बन्धहरु ! 
जसरी नेपाल आमाको काखमा जन्मेर एउटा रुपचन्द्र विष्टजस्ता प्रखर र इमान्दार सपुतले आफ्ना उर्वर बैंशहरु खेर जान दिएका थिएनन त्यसरी नै उनको जब्बर ब्यक्तित्वको पदचाप पछ्याउनेहरूले पनि चेतनाले भरिएका आफ्ना उर्जाशिल यौवनहरुलाई फगत कमाउ र विकाउ धन्दामा खेर नफालुन भन्ने मेरो आग्रह हो । विष्टको नश्वर शरीर आज हामीसामु नभएपनि उनले बाँचेको आदर्श, उनले सिकाएको दर्शन हामीले अंगीकार गर्नु जरुरी छ । त्यसैले उनलाई नदेखे पनि, नभेटेपनि उनका महानतम् विचारबाट म अस्पृह रहन सकिनँ ! नौकक्षा पढ्दा देखि मैले आज पर्यन्त गलत कृत्यहरुको समर्थन कहिल्यै गरेको छैन । जानेर वा नजानेर द्रव्यपिचाश, गरिवमारा र गद्दारहरुको विरोध गर्दै आएको छु । लेख्दै गर्दा मैले घेरिनु परेको छु, पुलिस धम्की पनि खाएको छु । र, हुँदाहुँदा सम्बन्ध तोडिने विषम परिस्थितीमा पनि उभ्भिनु पर्ला मलाई त्यसको पर्वाह छैन । मलाई पागल भन्नेहरुले पागलै भनुन, घमण्डी भन्नेहरुले घमन्डी नै भनुन त्यसमा मेरो चित्त दुखाई छैन तर म गलतलाई गलत भन्न छाड्नेछैन । चाहे सम्बन्धहरु जोडियुन या छियाछिया हुन !
Post a Comment