१३. बोगटी सर - अँध्यारो बस्तीमा एउटा जून !

उनीहरुले उहाँलाई पागल भने । म भन्छु, उनीहरुले उहाँलाई पागल बनाए ! एउटा ओजिलो व्यक्तित्व ! एउटा ओजपूर्ण ब्यक्तित्व ! जो बाँचुञ्जेल गलत प्रवृती, कुरिती र गवाँरहरुका बिरुद्ध लडिरह्यो । त्यो ब्यक्तित्व – जसले एउटा शानको जीवन बाँच्यो, जसले चरम पीडा पनि भोग्यो ! जसलाई मान्छेहरुले हाईहाई गरे, जोसँग मान्छेहरु तर्कीतर्की पनि हिडे । त्यो शिक्षाको उज्यालो जसले पोखराका धेरै अँध्यारा बस्तीहरुमा ज्ञानको प्रकाश दिलायो, त्यो चम्किलो तारा जसले म्याग्दीमा उच्च शिक्षाको प्रवेश गरायो । हो, त्यहि प्रदिप्त नक्षत्र जसलाई मेरो जन्मभूमिले आफ्नो काखमा खेलाउने सौभाग्य प्राप्त गर्‍यो, त्यहि ब्यक्तित्व नाताले मेरो मावलतिरका हजुरबा ! र, सानिन्ध्यताले मेरो गुरू ! मेरो पथप्रदर्शक !
विराट ललाट भएका मान्छेहरुको भाग्य दरो हुँदैन । हो, मैले सुनेको मान्छेहरुले यसै भन्थे ! त्यस्तै विराट ललाट उहाँको पनि थियो मेरो आदरणिय गुरूको, मेरो बोगटी सरको ! म जान्दिनँ विराट ललाट भएकै कारण उहाँको भाग्य दरो थियो/थिएन । म यति जान्दछु, बोगटी सर भाग्यमा विश्वास गर्नु हुन्थेन । किनकी उहाँ भाग्यवादी हुनुहुन्थेन । उहाँका पुर्खाहरुले मन्दिर बनाए, उहाँले मूर्तिपूजा गर्नुभएन ! उहाँले भगवान मान्नुभएन । मलाई लाग्दछ, उहाँले जिन्दगीमा कहिल्यै भगवान भएको कुरोमा विश्वास गर्नुभएन ! 
“बोगटी सर ।” म्याग्दी क्याम्पसका सबै उरेन्ठेउला विद्यार्थीहरुलाई यो नाम काफि थियो । कसैको आँट थिएन क्याम्पसको पोशाक विना क्याम्पस आउने ! कसले गरोस् साहस ? – केटी जिस्काउने ! कसैको वसको कुरो थिएन – कक्षा चल्दै गर्दा हल्लीखल्ली गर्ने । किनकी, कडा मिजासको बोगटी सर विद्यार्थीहरु अनुशासित भएको हेर्न चाहनुहुन्थ्यो ! उहाँको विश्वास थियो – अनुशासनहिन विद्यार्थी अराजक हुन्छ, अराजक मान्छेले समाजको भलो गर्दैन ! 
धौलागिरि अञ्चलमै पहिलोपटक स्नातकोत्तर गर्नेहरु मध्येका एक त्यस्तो ब्यक्तित्व जसले पढाउँदा खेरी पाठ्यक्रम हेर्नु पर्थेन । र, जसले पढाउन नसक्ने विषय थिएन । बोगटी सर अङ्ग्रेजीमा दख्खल राख्नुहुन्थ्यो । अर्थशास्त्र उहाँको रोजाईको विषय ! राजनीतिक शास्त्रमा राम्रो दक्षता राख्नुहुने बोगटी सरलाई समाजशास्त्र र मानवशास्त्र अध्यापनमा असहज हुने कुरै भएन ! मलाई राम्ररी याद छ, आजभन्दा १२ बर्ष पहिले ब्यवस्थापन पढ्दै गरेको म, मेरो कक्षामा उहाँले नेपाल परिचय पढाउनुहुन्थ्यो । एउटा ‘आर्म चियर’ थियो हाम्रो कक्षाको कालोपाटी मन्तिर, त्यहि मेचमा आफ्नो देब्रे खुट्टामाथि दाहिने खुट्टा खप्टाएर उहाँ धाराप्रवाह “लेक्चर” दिनुहुन्थ्यो, म र मेरा साथीहरुलाई हतार हुन्थ्यो – उहाँको “लेक्चर” लाई कापिमा उतार्न । धेरै जनाले सरर लेख्नै सक्दैनथे, अनि उनीहरु एउटै तर कामेको स्वरमा बोल्थे – “सर अलि बिस्तारै भन्नु न !” त्यसो भन्नेहरुको जमाततिर आफ्ना ठूला प्राज्ञिक चक्षु केन्द्रित गर्दै केहिबेर अगाडि भनेको वाक्य जस्ताको तस्तै भनिदिनुहुन्थ्यो ! अनि फेरि लेख्न नभ्याएकाहरु लेख्न शुरु गर्थे । बोगटी सर धाराप्रवाह बोल्दै जानुहुन्थ्यो त्यतिन्जेलसम्म जतिन्जेल थापा दाईका हातले छुट्टी भएको घन्टी बजाउँदैनथे !
म्याग्देली शैक्षिक क्षेत्रमा उहाँले धेरै नै सुधार गर्नसक्ने प्रबल सम्भावनाहरु थिए, अपितु उहाँले सुधारात्मक काम गर्ने वातावरण पाउनुभएन । भिजन हुँदाहुँदै पनि उहाँलाई सफल हुन नदिने षडयन्त्रहरु भैरहे । ती षडयन्त्र कहिले पर्दाभित्र गरिए त कहिले पर्दाबाहिरै छताछुल्ल पोखिए । एकदिन क्याम्पस प्रशासन र तत्कालिन स्ववियू पदाधिकारीहरु मिलेर बोगटी सरको विरोधका नाममा कलेज बन्द गराउँदै थिए । क्याम्पसको गेटभित्र विद्यार्थीहरुलाई छिर्न दिइएको थिएन । क्याम्पस प्रशासनका काङ्ग्रेसी र स्ववियूका एमालेहरुले शिक्षाको प्रदिप्त ज्योतिलाई फगत “पागल” को बिल्ला भिराईदिए ! अनि बिद्यार्थीहरुलाई गेटबाहिरै राख्ने कुचेष्टा गरे । तर मलाई गर्व लाग्छ त्यो दिन बोगटी सरका लागि मैले मेरै गाउँले साथी बसन्त महतसँग मिलेर क्याम्पसको बन्द गेटभित्र जबरजस्ती छिर्ने प्रयास गर्‍यौं । हामी सफल भयौं । विद्यार्थीको पढ्न पाउने अधिकार उनीहरुले कुण्ठित गर्न पाएनन !
अन्तिम दिनहरुमा उहाँ ठिक पनि हुँदै जानुभएको थियो । म्याग्दी क्याम्पसबाट उहाँले विदा लिईसक्नुभएको थियो । र, उहाँको ज्यादातर बसाई गाउँमै हुन थालेको थियो । म्याग्दीमै खराव मानसिकता भएका मान्छेहरुको बसोबास हुने मेरो गाउँमा (त्यस मध्य एक म पनि हुन सकुँला !) रहेको पुरानो पाठशाला श्री भानु मा.वि. मा उहाँले शिक्षक अभिभावक संघको अध्यक्ष बनेर स्वयंसेवी काम थाल्नुभयो । विद्यालयमा फूलहरु रोप्न लगाउनुभयो । ती रोपिए । आफै कक्षा लिनुभयो, एक महान शिक्षकको कक्षामा हाजिर हुने अवसर प्राप्त गरे नादान गाउँलेका छोराछोरीहरुले ! केही परिवर्तन हुन्छ कि भन्ने आश देखियो । तर, अनुशासनहिन मान्छेहरुको जमातमा एक्लो बोगटी सरको के लाग्थ्यो ? केहि भएन । उहाँले त्यहाँ पनि केही सुधार गर्ने मौका पाउनुभएन । फूलहरु फेरि मरेर गए । ती फुल्न पाएनन !
मेरा आदर्श ब्यक्ति बोगटीसर जब मृत्यु शैयामा पुग्नुभो, अनि मान्छेहरुले भने – म्याग्दीले शिक्षाको उज्यालो नक्षत्र गुमायो ! अपुरणीय क्षति भयो । मान्छेहरु भित्रभित्र त के भए तर उनीहरुको मुहारमा मलिनता देखेँ मैले । रोए जस्तो पनि गरे उनीहरू । धेरैका लागि बोगटी सर मरेर गएहोलान तर मेरा लागि उनी अझै जिवित छन् । उनले मलाई अझै प्रेरित गरिरहेछन् – “बाबु, यो समाजमा ब्याप्त कुरितीको प्रतिकार तिमी सद्दे भएर गर्न सक्दैनौ भने तिमीले पागल भएपनि केहि फरक हुँदैन । परिवर्तन अपरिहार्य छ, त्यसका लागि शिक्षाको ज्योती आवश्यक छ !”

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)