१५. रेखा दिदी र उहाँको साहित्यिक मार्गदर्शन

जहिले जहिले म उहाँलाई स्मरण गर्न पुग्दछु लाग्छ – उहाँ म्याग्दीमै नभएर अन्त कुनै भूगोलमा जन्मिएको भए ? हुनसक्छ, नेपाली साहित्यकाशमा एउटा सशक्त नारी हस्ताक्षरका रुपमा निसन्देह उहाँको नाम समुज्ज्वल हुन्थ्यो । निसन्देह उहाँका सृजनाहरु अझ अरु विस्फारित हुन पाउँथे । मलाई लागेको छ – उहाँले यति धेरै अल्छयाई गर्नुहुन्थेन सायद साहित्य साधनाका लागि ! म लेख्तैछु एक नारी स्रष्टाका बारेमा, जसले म्याग्दीको साहित्यमा धेरै गर्न सक्ने सम्भावना थियो । थाहा छैन, उहाँलाई वातावरण मिलेन वा उहाँले सक्रिय हुन चाहनुभएन । तर केहि वर्ष अगाडिदेखि साहित्यिक क्रियाकलापमा लाग्दै गरेको मलाई उहाँले थुप्रै पटक पृष्ठपोषण दिने काम गर्नुभएको छ । मलाई हौसला दिदै आउनुभएको छ – सन्तुलित बन्नका लागि ! सत्य र तथ्यपरक लेखाईका लागि ! उहाँ अर्थात मलाई अविच्छिन्न साहित्य र पत्रकारीतामा क्रियाशिल हुनका लागि प्रेरित गर्ने प्रेरक ब्यक्तित्व म्याग्दीकी शसक्त नारी हस्ताक्षर – रेखाकौशल रेग्मी !
बिक्रमादित्यको ६० को पूर्वाद्धमा मेरो सम्पादकत्व एवं प्रकाशनमा एउटा साहित्यिक प्रकाशन निक्लन्थ्यो म्याग्दीमा । हामीले त्यसको नाम रत्न साहित्यिक मासिक पत्रिका भनेर जुराएका थियौं । साहित्यिक पत्रिका अरुभन्दा भिन्नै किसिमको थियो । र, त्यसको छुट्टै पहिचान पनि बनिसकेको थियो । मलाई यो भनिरहन हिच्किचाहट लाग्दैन कि त्यो हाम्रो साहित्यिक पत्रिकाको पृथक पहिचान बनाउनमा रेखा दिदी जस्तै अरु केहि अग्रज साहित्यकारहरुको विशेष सल्लाह, सुझाव र अभिभावकत्वको महत्वपूर्ण भूमिका थियो । ज्यादातर, अरु अग्रजहरु ”चिया गफ” मा सुझावहरु पेश गर्थे । ती चिया झै गुलिया हुन्थे । सुनिन्जेललाई केके न जस्तो सुनिसकेपछि खास अर्थ नराख्ने ! तर रेखा दिदीको सुझाव जहिले पनि शुरु हुन्थ्यो एउटा प्रिय सम्बोधनबाट, “भाई यो पालीको अंक पढेँ, खुशि लाग्यो पहिलेको अंक भन्दा राम्रो निक्लेको छ तर ..” अनि उहाँको खास सुझाव बल्ल शुरु हुन्थ्यो । प्रत्येक अंकमा उहाँको पृष्ठपोषण रहन्थ्यो । जस्तो कुन गजल खासमा गजल थिएन भन्नेमा, कुन कवितामा के कमजोरी थियो भन्नेमा, कुन कथामा आवश्यकीय सम्पादन भएन भन्नेमा । यसरी रत्न प्रकाशनको दिनहरुमा दिदीले थुप्रै निशुल्क प्राज्ञिक सुझावहरु दिनुभएको छ । कहिले भेट भएको बखतमा त धेरै जसो त फोनमा, फोन गरेर । अनि उतिखेर मलाई अचम्म लागिरहन्थ्यो – म्याग्दीमा उहाँजस्तै दुईचार साहित्यिक ब्यक्तित्वहरु अरु होइदिन्थे भने साहित्यिक सृजना, सम्पादन र प्रकाशनमा कति धेरै गुणस्तरीयता कायम रहदो हो !?
ब्यक्तिका हिसाबले सबैसँग थुप्रै कमजोरीहरु हुन्छन । त्यसकारण, म मेरा प्रेरक ब्यक्तित्वहरुको ब्यक्तिगत टिकाटिप्पणीहरु गर्दिन । अनि सबभन्दा महत्वपूर्ण कुरो त कुनै एक ब्यक्ति सर्वप्रिय वा सर्वस्वीकार्य पनि हुँदैन । तसर्थः मेरो एक प्रेरक ब्यक्तित्वका रुपमा अरु ब्यक्तिहरुजस्तै उहाँको महानताको मुक्तकण्ठले प्रशंसा नगरिरहन सक्दिनँ ! यसो लेखिरहँदा, यहाँ मैले छुटाउनै नहुने विशेष प्रसङ्ग याद भो । राजनैतिक आस्थाका हिसाबले उहाँ र मबीच ३६० डिग्रीको असमानता छ । उहाँ समाजवादमा विश्वास राख्नुहुन्छ म साम्यवादमा ! तर राजनैतिक आस्थाका आधारमा हामीले एकअर्कालाई कहिल्यै पनि आघात पुर्याएको मलाई याद छैन । किन्तु, यो मामलामा म बढि चुकेको छु भन्ने मेरो आफ्नै बुझाई छ ! यस्तो बेलामा पनि उहाँले मलाई मात्र यति भन्नुभएको छ – “भाई, म यहाँको लेख्ने स्वतन्त्रताको कदर गर्दछु । यहाँको लेख्ने शैलीको म पनि प्रशंसक हुँ । तर कहिलेकाही भाईको लेखाईहरु सत्यताभन्दा केही पर गएका हुन कि भन्ने मेरो सशंकित छु । अलिकति मनगढन्ते जस्तै ! भाईलाई म एक स्वतन्त्र लेखकका रुपमा हेर्न चाहन्छु । सम्भावनाको प्रचुरता भेटेको छु भाईमा !” जवाफमा मैले मुस्कुराएको मात्र छु । र, मैले कहिल्यै पनि मनगढन्ते कुराहरु नलेखेको बताएको छु । र, यो सत्य कुरो पनि हो । कहिले काही लेखाईमा प्रचारमा आएका कुराहरु लेखेको छु त्यो भिन्दै कुरो हो । अनि मलाई खुशि पनि लाग्दछ कि रेखा दिदी एउटा मात्र त्यो फरक आस्थाको पाठक/अग्रज हो जसले मलाई “तिमी हावादारी लेखक हो, भुइँफट्टा लेखक हो !” भनेर मेरो लेखाईको तेजोबध गर्नु भएको छैन ! यसकारण पनि उहाँप्रति ममा अथाह सम्मान छ ! अकाट्य अनुराग छ !
साहित्यिक लेखन र पत्रकारितामा आज जुन तहको दक्षता मैले हासिल गरेको छु, त्यसमा रेखा दिदीको पनि केहि महत्वपूर्ण योगदान छ । उहाँको निरन्तरको मार्गदर्शन, प्रेम र सदभावले मलाई अझ अरु मौल्याउन, झांगिन र विकसित हुन सघाउ पुर्‍याएको छ । उहाँको आशिष सदा रहिरहोस । हिजो “रत्न साहित्यिक मासिक” प्रकाशनमा उहाँको जुन तहको संरक्षण अनि मार्गदर्शन प्राप्त गरेको थिएँ, त्यसले मलाई सधैं साहित्यिक क्षेत्रमा सक्रिय रहन प्रेरित गरेको छ । हो, दिदी हजुरकै प्रेरणाले गर्दा नै आज म पनि सक्षम भएको छु मेरो प्रिय भावकहरुलाई प्रेरित गर्न ! नेपाली साहित्यको श्रीवृद्धिमा यहाँको प्रयत्न सदा सफलिभूत होस् । सदा । 
ताल्लिन, स्टोनिया । ३१ अक्टोबर, २०१३

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)