Skip to main content

मेहनती युवा कृषक र मेरी स्नेही दिदी

२१. एउटा मेहनती युवा कृषक

तिनताका उहाँ गाउँबाट दिनदिनै बागलुङ जानुहुन्थ्यो । पेशाले जे.टि.ए. हुनुहुन्थ्यो । बागलुङमा एउटा गैर्‍ह सरकारी संस्थामा कार्यरत हुनुहुन्थ्यो । कहिलेकाही जागिर गरेर फर्कदै गर्दा हाम्रो बालाई आँगनतिर देखेपछि उहाँ हाम्रो घरमा पस्नुहुन्थ्यो । र, केहिबेर बुबासँग चियागफ गरेर घरतिर लाग्नुहुन्थ्यो । त्यतिखेर कम र मसिनो आवाजमा बोल्ने उहाँको मिजासिलो स्वभावले मलाई भुतुक्कै पार्दथ्यो । 

चिया गफ गरेर उहाँ विदाभैसकेपछि बुबाले टिप्पणी गर्नुहुन्थ्यो – नीरजी अत्यन्तै मेहनती मान्छे हो । मतिर हेर्दै उहाँले प्रश्न तेर्साउनुहुन्थ्यो – उहाँको घर गएको छस ? कहिलेकाही त्यता गएको बेला हेर्नू उहाँले घर वरिपरी करेसाबारीमा कसरी तरकारी खेती गर्नुभएको छ । आफ्नो घरमा खानलाई मात्र हैन, बजारमा लगेर बिक्री पनि गर्नुहुन्छ ! त्यतिन्जेलसम्म मलाई उहाँको घर कहाँ थियो थाहा थिएन । पछि बाले त्यहाँ छ भनेर बताएपछि नै मैले थाहा पाएको थिएँ । र, कुनै दिन म उहाँको तरकारी खेती नियाल्न पनि गएको थिएँ । उहाँ बारीमा काउलीको बोटहरु नेर केहि गर्दै हुनुहुन्थ्यो ! 

उहाँले कृषि प्राविधिकका रुपमा काम गर्ने संस्थामा सम्झौता नसकिन्जेल त्यसरी नै काम गर्नु भयो । तर केहि वर्ष यतादेखि उहाँ गाउँमै केही युवाहरुसँगको सहकार्यमा ब्यवसायिक तरकारी खेतीमा लाग्नुभएको छ । बेलाबेलामा उहाँको ब्यवसायिक तरकारी खेतीका रिपोर्टिङहरु पढ्न पाउँछु, पढ्दै गर्दा गौरवभान्वित पनि हुन्छु । गाउँमा त्यसरी एउटै क्षेत्रमा दक्षता हासिल गरेर त्यसैमा लागि परेका युवाहरु अरु छैनन भनेपनि हुन्छ । कृषिकर्ममा उहाँको लगन र परिश्रमलाई नियाल्दै गर्दा ममा पनि आफूले दक्षता राख्ने क्षेत्रमा केही गर्नैपर्छ भन्ने प्रेरणा प्राप्त भएको छ । अझ ब्यवसायिक तरकारी खेतीबाट उहाँले आयआर्जनमा लोभलाग्दो प्रगति गरेको देख्दा मलाई एउटा धारणा बनाउन मद्यत पुगेको छ कि लगातारको मेहनत र लगनशिलतामा हामीले देशमै केहि गर्न सक्छौं । कुनैपनि पेशालाई निर्वाहमुखी नभई ब्यवसायका रुपमा अंगाल्न सक्ने हो भने आर्थिक सबलता हासिल गर्न धेरै वर्ष कुर्नु नपर्ने रहेछ । 

२२. रगतको नाताभन्दा प्यारो साईनो

केही वर्ष पहिले मैले एउटा अनलाइन काव्य गोष्ठी सञ्चालन गरेको थिएँ । लक्ष्मी जयन्तीका अवसरमा याहु मेसेन्जरको कन्फ्रेन्स कल मार्फत सम्भवतः पहिलो पटक गरिएको त्यो काव्य गोष्ठीमा विश्वभर छरिएर रहेका चार दर्जन जति नेपाली साहित्यप्रेमीहरुको सहभागिता थियो । र, त्यही कार्यक्रममा सहभागी हुनुभएको थियो उहाँ पनि । त्यो अनलाइन काव्य गोष्ठी पछि हामी याहुमा साथी भयौं । उमेरले म भन्दा दश वर्ष जेठी र परिपक्व उहाँले मलाई आफ्नै भाईको माया दिन थाल्नुभयो । जैविक दिदीबैनीविहीन मैले जीवनमा पहिलो पटक धर्म दिदीका रुपमा उहाँलाई पाएँ । उहाँ भन्दा पहिले केही बैनीहरु बनाएको थिए । जोसँग बैनी दाजुको नाता सम्बन्ध कायम भएको थियो र यथावत छ । तर त्यतिन्जेलसम्म मैले कसैलाई पनि दिदी मानेको थिइँन । जब उहाँसँग प्रगाढ सम्बन्ध स्थापित हुन पुग्यो, हामीले थुप्रै पारिवारीक सुखदुखहरु बाड्यौं । अनि एकअर्कालाई दुई फरक महान आमाहरुको कोखबाट जन्मेका दिदी र भाईका रुपमा स्वीकार गर्‍यौं ।

इजरायलमा केयर गिभर गरिहनुभएकी मेरी दिदीले मलाई जीवनका थुप्रै पाटाहरुका बारेमा बताउनुभएको छ । जिन्दगी भोग्दैगर्दा अहिलेसम्म आफूले संगालेका अनुभवहरु बाँड्नुभएको छ ताकी त्यसबाट मैले केही सिक्न सकुँ । र, कहिलेकाही सोध्नुपनि भएको छ – भाई, उमेरले म भन्दा एक दशक कान्छो भएपनि तिमी पनि ब्यवहारले खारिएको मान्छे हो भन्ने लाग्छ, तिमीले संगालेका अनुभवहरु पनि सुनाऊ ! अनि म धाराप्रवाह बोलेको छु । दिदीले विना कुनै अवरोध मेरा कुराहरु सुनिदिनुभएको छ । मेरो प्रिय बिनु दिदीबाट नै हो मैले जानेको सबभन्दा महत्वपूर्ण पाठ – आफूभन्दा सानाहरुको विचार पनि सुनिदेऊ, खैर ती उमेरले तिमीभन्दा दशौं वर्ष कनिष्ठ नै किन नहुन ? 

बच्चाहुँदा तिहारमा हाम्रा पनि दिदीबैनी भैदिएको भए हुने भन्ने लाग्थ्यो अझ विशेष गरी जब तिहारमा टिका लगाउने फुपु र रेनु बैनी (घरको साइनोले फुपु, मावलको साइनोले बैनी) मासिकधर्मले पर सर्थे र, हामीहरु खाली निधार बस्नुपथ्र्यो । तर, बिनु दिदीसँग परिचय भएर सामिप्यता बढेपछि त यस्तो लाग्छ – बिनु दिदी नै किन मेरो आमाको कोखबाट जन्मिनु भएन ? एउटा दिदीको प्रभाव भाईमा कति पर्दछ भन्ने महशुस मैले दिदीको सानिन्ध्यताबाट नै अनुभव गर्न पाएको छु । भाईलाई सानो चोट पर्दा दिदीको मन कति रुँदोरहेछ भन्ने सत्यताको सानो झिल्को मैले विनु दिदीमा देखेको छु । कहिलेकाही कतिपय पीडाहरु सामाजिक सञ्जालहरुमा अभिव्यक्त गर्दा सबभन्दा पहिलो कल दिदीकै आउँछ । कतिपटक त मैले जानीजानी कल नै रिसिभ गरेको छैन । यस्तो लागेर कि – दिदीले मेरो धेरै पीर लिनुभो । अनि दिदीले म्यासेज गर्नुहुन्छ – किन कल नउठाको ? के भो निरु तिमीलाई ? हो, दिदी म हजुरको स्नेहले पग्लिएको छु !

मान्छेहरु भन्छन् – खुशी बाँड, पिडाहरु लुकाऊ । तर मेरो दिदीले भन्नुहुन्छ – “भाई, खुशि बरु तिमी नै राख, पिडाहरु छन् भने मसँग पनि बाँड !” म अलमल्ल हुन्छु । दुनियाँले भन्दा पृथक कुरो दिदी किन गर्नुहुन्छ ? अनि म महशुस गर्दछु – यहि रहेछ दाजुदिदीले भाईबैनीलाई गर्ने प्रेम ! पिडाहरु गुम्साएर राख्दा त त्यसले झन पिरोल्ने नै भो नी ! पिडा बाँडे पो हल्का हुन्छ ! यसरी रगत वा जैविक नाता नहुँदानहुँदै पनि भावनाको न्यानो नाता कायम भएको छ दिदीसँग ! यो भावनात्मक नाताले मलाई अझ अरु व्यवहारिक हुन प्रेरित गरेको छ । मलाई प्रेरित गरेको छ, ती भाई वा बैनीहरुको एउटा आदर्श दाजु बन्नलाई जसको जिन्दगीमा जैविक दाजुहरू छैनन् ! र, जसलाई दाजुको मार्गदर्शन र स्नेह आवश्यक छ ! 
Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…