मेरा प्रिय तीन बाल सखाहरू, तीन प्रेरकहरू !

शितल । तस्बीरः उनको फेसबुक
अल्बर्ट हब्बर्डले भनेका छन् – साथी भनेको त्यो हो जसलाई तिम्रो बारे सबै थाहा हुन्छ, र पनि माया गर्छ ! (“A friend is someone who knows all about you and still loves you.”  ― Elbert Hubbardहो, म मेरा तीनै तीनसाथीहरुका बारेमा लेख्तैछु जो सँग मेरा जीवनका स्वर्णीम पलहरु ब्यतित भएका छन । जो सँग म ठुस्केको छु । जो मसँग ठुस्केका छन । ठुस्काई एकै निमेश पनि लम्बाउन सकेको छैन र फेरि कुद्दै उनीहरु कहाँ म पुगेको छु । दौड्दै उनीहरु म भएको ठाउँमा आएका छन । ती तीनै साथीहरू जसलाई मेरा उज्याला पक्षहरु थाहा छ, जसको अँध्यारा पक्षहरु म जान्दछु । जसका उज्याला पाटाहरु मेरा यादमा झल्झल्ती आउँछन् जो मेरा अँध्यारा पाटाहरुलाई पनि स्वीकार गर्दछन् । मैले जिद्धी गर्दा मेरा जिद्धीहरु सहर्ष स्वीकारेका छन उनीहरुले ! म एकछिन चुपो लाग्दा किन निराश भएको ? किन नबोलेको भनेर उनीहरुलाई पिडा हुने गथ्र्यो ! जो मभन्दा अरुसँग बढि बोलेका दिन मलाई दुख लाग्थ्यो ! जलन हुन्थ्यो ! अब्यक्त पिडा हुन्थ्यो ! सायद उनीहरुलाई पनि त मलाई जस्तै नै हुन्थ्यो होला नी !

 केस्रा केस्रा गरेर उनीहरुसँग बिताएका पलहरु लेख्ने नै हो भने यी हजारौं शब्दहरुमा पनि सिमित गर्न नसकिने अथाह भावनाले भरिपूर्ण छन । महत्वका आधारमा लेखुँ भने पनि उनीहरुसँग जीवनमा मैले कुनै पनि अमहत्वपूर्ण समय ब्यतित गरेँ भन्ने लाग्दैन ! तर आज केही सन्दर्भहरू म लेख्दैछु जसको यादले मलाई पुलकित बनाउँछ । मलाई मेरो बाल्यकालको याद गराउँछ !
शिब  । तस्वीरः म स्वंयले डेनमार्कमा खिचेको

सारै तेज दौड्ने धावकका रुपमा परिचय थियो गिर्वाणको । गिर्वाण नाताले मेरा मामा हुन । तर ब्यवहारले उनी मेरा साथी । त्यो साथी जोसँग म प्रायः हुने गर्थे । जसलाई आफ्नो संरक्षक जस्तो लाग्थ्यो मलाई । अलि बलिया बांगा पनि थिए उनी । म लड्नभिड्न कसिए पनि खासै बल भएको मान्छे चाँहि होईन । अरु साथीहरु भन्थे – “अलि घमण्डी गर्छस तँ बढि !” तर गिर्वाण भन्थे – “हेर, तिमी नसक्नेसँग भिड्न नतम्सिऊ । तर तिम्ले फलाना फलानालाई चाँहि ककफाइटमा जित्छौ ।” म कस्सिन्थे, कथंकदाचित म हार्न लागे भने गिर्वाण थिए त्यहाँ मलाई जिताउने ! एकदिन यस्तै ककफाइटमा नराम्ररी धुलाई भेटेको थिएँ मैले । बीरे भन्ने एकजना साथी थियो । उसले त्योदिन सार्‍है नराम्ररी दनक दिएको थियो मलाई । मैले दनक एक बजेको छुट्टीमा भेटेको थिएँ । दुईबजे जब गिर्वाण आए अनि मलाई नराम्ररी भने – “बल्ल आज परशुरामको घमण्ड चूर भो ? नसक्नेसँग किन जोरी खोजेको ?” सायद चार कक्षा पढ्दाको हुनुपर्छ । सामाजिक किताबमा हाम्ले रामको कथा पढ्नुपथ्र्यो । त्यहि कथामा थियो परशुराम पात्र । जसको घमण्ड आदर्श पुरुष रामले चूर बनाएका थिए ! त्यसकारण, गिर्वाणले मलाई परशुराम भनेका थिए । त्यसपछि यो लड्ने भिड्ने काममा म अलि पछि नै हुन थाले ।

गिर्वाणसिंह । तस्वीरः उनको फेसबुक
म उनकोमा प्रायः जाने गर्दथे । साँझ उतै खाना खाने र सुत्ने । उनको छुट्टै सुत्ने कोठा पनि थियो । अरु प्रायःसँग उनको उस्तो हिमचिम थिएन । तर मेरो उनको सानिन्ध्यता अचम्मैको थियो । उनका दाजुहरु काठमान्डु बस्नेभएकाले उनी बेलाबेलामा काठमान्डु पनि जाने गर्थे । त्यतिखेर काठमान्डु देख्नेमा हाम्रो स्कुलमै उनी मात्र एउटा थिए । कहिले काही सामाजिक सरको दावा हुन्थ्यो, उनको छोरा जो हामी भन्दा दुईतीन कक्षा सानो कक्षामा पढ्थ्यो ऊसले झिंगे माछा खाएको, रेल चढेको र केरला गएको । तर त्यो कुरो उनको छोराको सम्झनामा थिएन । बच्चा हुँदा भएको कुरो याद पनि कसरी गरोस् ? तर गिर्वाणसिंह सँग एकएक याद थियो । उनले त्यतिखेर सुनाउँथे – महिनाको पचास रुपैयाँमा बिजुली बाल्न पाइन्छ काठमान्डुमा ! काठमान्डुको धरहरा, रानीपोखरी र घण्टाघर मैले चाँहि किताबमा पढेर थाहा पाएको थिएँ उनले ती सबै प्रत्यक्ष देखेका थिए । उनले गरेको गफ सुन्दा म त्यसै रनभूल्ल पर्थे । 

बजार गएर फिल्म हेर्न मनाही थियो मलाई । गाउँघरमा बिजुली बत्ती थिएन, टिभी हुने कुरै भएन । तर काठमान्डुबाट आईसकेपछि एकदुई बाजी उनले मलाई केही हिन्दी चलचित्रका कथाहरु सुनाउथे । त्रिमुर्ती, बाजिगर फिल्ममा हिरोहरुले कस्तो एक्सन देखाएका छन् बताउँथे । म ट्वा परेर उनको कुरा सुनिरहन्थेँ । उनले यिनै फिल्मीकथाहरु सुनाएपछि नै हो मैले पनि  फुपुको घर बेनी गएको मौकामा दुईवटा हिन्दी फिल्म रघुबीर र पहचान हेरेर उनीसँग फिल्मको गफ गरेको । मेरो गफले उनी ट्वा नै परेनन, कारण उनले ती फिल्म पहिले नै हेरिसकेका रहिछन् । मलाई कथा सुनाउन मात्र बाँकी ! तर पछि हामी मिलेर फिल्म हेर्न बागलुङ जान थाल्यौं । फिल्म हेर्न अनि खाजा खानको लागि चालिस रुपैयाँ त चाहियो नै, त्यही चालिस रुपैयाँका लागि हामी महिनाभर हाडेचक्कु बनाएर बेच्ने गथ्र्यौ । र, कुनै एउटा शनिबारको मौका छोपेर बागलुङ पुग्थ्यौं पनि ! 

शिब । नाताले मामाको छोरो । उमेरले भाई (दाई ?) ! सँगै पढेकाले सहपाठी । गिर्वाणसिंह जस्तै मसँग मिल्ने साथी । दुई कक्षासम्म उनले बागलुङमा बोर्डिङ पढेर आएकाले होला तीन कक्षा पास गरेर चारमा पुगेका हामीहरुसँगै उनी पढ्न आए । हामी चारमा एबीसिडी सिक्दै थियौं । हाम्रो भन्दा राम्रो अङ्ग्रेजी भएका उनलाई सामान्य अङ्ग्रेजी वार्तालाप आउँथ्यो ! अलिकति लजालु स्वभावको उनी शुरुशुरुमा खासै बोल्ने थिएनन । पछि हामीसँग नजिकिए । तर विदा हुँदासाथ बागलुङ मामाकोमा गैहाल्ने भएकाले उनीसँग खासै दोस्ती जम्न पाइरहेको थिएन । 

पछि बिस्तारै शुक्रबार बागलुङ कुदिहाल्ने उनी घरमै बस्न थालेपछि उनी, शितल र मेरो राम्रो मित्रता गाँसिन पुग्यो । शितल र उनको घर नजिकै र म पनि प्रायः मावलमै बस्ने भएकाले तीनैजना भेला भएर पढने काम गर्न थाल्यौं । अचेल त्यसलाई “कम्बाइन स्टडी” भनिन्छ सायद, हो त्यही सगोलको पढाई हामीले पाँच कक्षा पढ्दै गर्दा शुरु गरेका थियौं । खाना खाइसकेपछि शितलको घरमा गएर पढ्थ्यौ । अनि सुत्ने तर्खर गर्दैगर्दा हामीले भविष्यको लक्ष्यहरु सुनाउँथ्यौं । अन्ताक्षरी पनि खेल्थ्यौं । अन्ताक्षरी चाँहि शिबले जित्थे । खासमा मलाई र शितललाई भन्दा धेरै गीत उनैलाई थाहा थियो । तर सपना देख्ने कुरामा शितल र शिबले मलाई कहिल्यै जितेनन । हामी सुत्थ्यौं र दश प्रन्ध मिनेट पछि उठेर सपना देखेको विषयमा कुरा गथ्र्यौ । कुरा गथ्र्यौ पनि के भन्नु ? मैले कुरा गर्थे ! ती दुईले दश÷पन्ध्र सम्म सुत्दा कहिल्यै सपना देखेनन । मैले चाँहि सपनाहरु भन्थेँ – बरको बोटको लहरोमा तीनजना पिङ खेल्दाखेल्दै हवाईजहाजमा उडेको ! बाँदर भएर आकाशमा उडेको ! इन्जिनियर भएको ! बुढो उमेरको मान्छे भएको ! बिचरा उनीहरु बल्लबल्ल मलाई पत्याउँथेँ । शितल आश्चर्य प्रकट गर्थिन – “हैन, यति छिट्टै तिम्ले कसरी सपना देख्न सक्छौ ?” म भन्थेँ – “चुपो लागेर सुत न, देखिहालिन्छ नी ! म त सधैं सपनाहरु देख्छु !” अनि फेरि उनी नैराश्यता पोख्थिन – “अनि हामी चाँहि किन देख्दैनौ त ?!” त्यसपछि भन्नलाई मसँग केहि हुन्थेन । म चुप बस्थेँ । उनीहरु पनि चुपै रहन्थे । अहिले आएर ती पलहरु सम्झदा मैले के थाहा पाएँ भने जुन कुरा मैले सपना देखेँ भनेर मेरा साथीहरुसँग त्यतिखेर जिकिर गरिरहेथेँ, त्यो खासमा सपना रैनरैछ । ती सबै रटनाहरु रहेछन ! हो शितल, सपनाहरु फगत सजिलै देखिने कल्पनाहरु होइन रहेछन् ! मनका रटनाहरुलाई सपना भन्न मिल्दो रहेनछ । तर जेभएपनि रटना नै सहि, तिमीहरुले मलाई सपना देख्नलाई प्रेरित गरेका छौ । 

एसएलसी गरेको केहि वर्षमा गिर्वाणसिंह भारतीय सेनामा भर्ति भए । शितल काठमान्डु लागिन, शिब बागलुङ अनि म चाँहि बेनी ! गिर्वाणसिंहसँग दुईवर्षमा एक पटक मुश्किलले भेट हुन थाल्यो । शितल पूरै कन्ट्याक्ट लेस भइन, शिबसँग महिनामा एकदुई फेर । शितल उच्च शिक्षा अध्ययन गर्दै चाइनिज भाषा सिक्नमा लागिन । र, दक्षता पनि हासिल गरिन । पर्यटनको क्षेत्रमा उनको भगिरथ प्रयत्न रह्यो । गाउँकी पहिलो त्यो चेली बनिनँ जो ब्यापारको क्षेत्रमा ईश्यालाग्दो तरिकाले चम्किन । उता शिब बागलुङमा पढ्दै गए, गाँजा चुरोट खाने केटाहरु पनि उनको साथी बने, तर आफू कहिल्यै कुलतमा लागेनन । क्रिकेट र संगीत क्षेत्रमा जुन अभिरुची थियो त्यसैको बृद्धिविकास गर्नमा लागे र पछि उच्च शिक्षाका लागि डेनमार्क हानिए । अहिले डेनमार्कमा अध्ययनरत छन । सबैको आ–आफ्नो क्षेत्रमा राम्रो नै छ । शितल, शिब र म अहिले एउटा सामाजिक संस्थामा क्रियाशिल हुँदैछौ । मलाई उनीहरुले हामीमा भएको सीप र दक्षताले समाज परिवर्तनमा केही टेवा पुर्‍याउन सकिन्छ भनेर हौसला दिएका छन् । मैले सोचेका, कल्पना गरेका हर कोशिसहरुलाई सफल पार्न यथासम्भव प्रयास पनि गरेका छन् । समग्रमा भन्दा मैले मेरा तीन जना साथीहरुबाट सिकेको एउटै ज्ञान हो – खराब वा असल जस्तो होस् तिम्रो साथी त्यो तिम्रो साथी नै । तिम्रो हितैषी हो !

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)