१७. मातृप्रेमको अनुपम उदाहरण मेरो दाई

त्यस्तै दश वर्ष पहिले मलाई विदेशबाट दाईले फोन गर्दा मैले भनेको थिएँ – “दाई, सेकेण्ड लेफ्टीनेन्टमा देखिन खोजेको काठमान्डु जानु पर्ने !” 
दाईले सोध्नुभएथ्यो – “आठ हजारले पुग्छ ?” दश वर्ष पहिले आठ हजार मेरा लागि आठ लाख बराबर थियो ।  भोलीपल्ट दाईले पठाएको आठ हजार लिएर म काठमान्डु हानिएको थिएँ मित्र विनयसँग ! 
अनि बच्चै हुँदाको कुरो,
म माग्थेँ – “दाई, त्यो हजुरको गोली भएको ज्याकेट मलाई हैं !”
दाई भन्नुहुन्थ्यो – “अहिले चुपबस, म पछि दिन्छु, यो ज्याकेट मलाई कस्तो मन पर्छ !” त्यसको केहि समयपछि दाईलाई नै अत्यन्तै मन पर्ने ज्याकेट मैले पाएको थिएँ । खासमा दाई अर्थात मेरा मामाको छोराका थुप्रै राम्रा कपडाहरु लगाएको छु मैले बच्चा हुँदा । सायद जड्यौरी भनिन्छ त्यसलाई, तर मलाई दाईले त्यो मेरो हक जस्तै बनाईदिनुभएको थियो । जड्यौरी हैन !
भर्खर आइ कम पढ्दै गरेको मलाई, एकदिन दाईले सोध्नुभएको थियो – “टिथको सिङगुलर फर्म के हो ?” कसम मलाई त्यसको जवाफ आएन । अनि दाईले एकदम झपार्नु पनि भो – “तँलाई यत्ति आउँदैन, मेहनत गर, अंग्रेजी वीक छ तेरो !” त्यहि दिन हो मैले टिथको सिङ्गुलर टुथ भन्ने जानेको !
गोलो अनि गोरो अनुहार ! हाँस्दा खेरी गालामा डिम्पल पर्लापर्ला जस्तो, विराट ललाट र काला राम्रा आँखा । किशोर हुँदा जतिजति म ऐना हेर्थे त्यति नै मलाई मेरो दाईको रुपरंगको ईश्या लाग्थ्यो ! दाई जस्तो गोरो र राम्रो हुन पाएको भए भनेजस्तो ! बेलाबेलामा मैले भन्थेँ पनि । दाई मुस्काउनुहुन्थ्यो अनि भन्नुहुन्थ्यो – हिरै छ तँ पनि ! मलाई के चाहियो ? मख्ख पर्दिन्थेँ !
मेरो दाईबाट मैले दुई महत्वपूर्ण ज्ञान पाएको छु । पहिलो उहाँको मातृप्रेम, दोश्रो हरेक चूनौतिको सामना गर्ने दृढ संकल्प । मलाई याद छ, हरेक रात सुत्नुभन्दा अगाडि उहाँले “मम्मी सुत्नु है ।” नभनी सुत्नै नजाने । त्यसपछि मैले पनि शुरु गरेका थिएँ आमालाई “सुत्नु है ।” भन्नलाई ! दाईले पहिलो जागिर शुरु गर्नुभएको थियो, गाउँकै बोर्डिङमा पढाउने ! अचम्म त के भने प्रत्येक महिनाको तलब लगेर मम्मीलाई बुझाउने अनि पकेट खर्च मम्मीबाट लिने । दाईको यो बानीले मलाई पनि धेरै हदसम्म प्रभाव पा¥यो । आमालाई तलब सबै त कहिले पनि दिन पाइँन तर बच्चा हुँदा अरुले दिने, दशैंमा प्राप्त हुने दक्षिणा एकमुष्ट आमालाई नै बुझाउने काम मैले पनि गरेँ । मातृप्रेममा दाईबाट मैले धेरै सिकेको छु । आमालाई विशेष ब्यक्तित्वका रुपमा लिन थाले । आमाप्रतिको अनुराग झन अझ अरु बढेर गयो । 
मलाई थाहा छ आज पर्यन्त, दाईले धेरै चुनौतीहरु भोग्नु परेको छ । तर सकारात्मक कुरो त्यसको सधैं डटेर सामना गर्नुभयो । यस्तो लाग्छ कि दाईको आदर्श भनेको नै – चुनौतीहरुको डटेर सामना गर अनि महाराजाको जिन्दगी बाँच !
Post a Comment