Skip to main content

तथाकथित नेताहरु, एउटा तस्विर अनि टिप्पणी

जनतालार्इ सघाउँदै नेतृ केसी । तस्वीर : उहाँकै फेसबुक
म बडो विस्मयमा पर्छु जतिखेर नेता/नेतृ भनिनेहरू आम मान्छेका धारणाहरुलाई एकदमै फरक र गलत ढंगले बुझिदिन्छन् । मलाई निर्मम समिक्षा गर्न विवश बनाउँछन् उनीहरु जतिखेर म जस्तै आम मान्छेहरुका दृष्ट्रिकोणलाई निषेध गर्छन – तिनीहरूले ! मलाई दुःख लाग्छ कथित नेताहरुसँग जतिखेर उनीहरुलाई “नेता” भएको घमण्डले बेस्मारी थिचिरहेको हुन्छ अनि जब आफूप्रति कसैले फरक धारणा बनाउँछ उसको खेदो खन्न शुरु गर्छन । र, अपझर्ट बोली दिन्छन् – तिमीलाई के थाहा छ ? राजनीति सिकाउन नखोज हामीलाई । मलाई घृणा लाग्दछ ती संकिर्ण विचार लिएर आफूलाई नेताको पहिचान दिदै गाउँ, टोल, गल्ली र शहरमा डुलिरहेका तथाकथितहरूसँग ! हो, सम्मानको एक रत्ति पनि दिन सक्दिनँ म तिनीहरुलाई जो नेता भएको अहंकारमा आम मान्छेहरुलाई विचारशुन्य, अज्ञानी र राजनैतिक असाक्षर हुन भन्ठान्छन् !
प्रसङ्ग सामाजिक सञ्जाल फेसबुकको हो । बागलुङकी चिरपरिचित एमाले नेतृ मन के.सी. ले एउटा तस्बीर राखेकी रहिछन् एउटा तस्बीर जहाँ उनी आफ्नै दामलकी एक महिलाको पिढीमा उनीसँग बसेकी छिन, र सियोमा धागो छिराउँदै छिन् उनी । अधवैशें महिला चाँहि के.सी. लाई हेर्दैछिन र दुवैजना संवाद गरिरहेका जस्ता देखिन्छन । तस्वीरको विवरणमा के.सी. ले लेखेकी छिन् – निर्वाचनमा जनताको काममा साथ मिलाउँदै भोट मागेको याद आयो ...! तस्वीर देखेपछि म एकछिन गम खाएँ । सामाजिक संजालमा “सार्वजनिक” गरेपछि त्यो तस्वीर के.सी. जीको नीजि  मात्र रहेन । मैले प्रतिक्रिया लेखेँ – लाज लागेर आउँछ मलाई सस्ता फोटाहरु देख्दा ! वास्तवमा मैले त्योे नेताहरुको कार्यशैलीप्रतिको मेरो वितृष्णा लेखेको थिएँ । स्वभावतः प्रश्न जन्मिने नै भयो कि निर्वाचनका समय (सायद ६ वर्षपछि) जनताका घरमा पुगेर सियोमा धागो छिराइदिदैमा के जनताप्रति एउटा नेताको सम्पूर्ण जिम्मेवारी पूर्ण भएको मान्न सकिन्छ ? विशेषतः कथित संविधानसभाको दोश्रो निर्वाचनका समयमा असंख्य कथित नेताहरुका पोजपोजका तस्विरहरु सामाजिक सञ्जालमा छरप्रस्टै पारिएका थिए – ती अनेक किसिमका थिए । जस्तो एउटा नेताको तस्विर देखेको थिएँ मैले – खेतमा हलो जोत्दै गरेको । तस्वीर लिने मान्छेले “जूम” नगरी खिचेको तस्वीरमा क्यामेरा देखि नेताले हलो जोत्दै गरेको स्थानको दुरी अडकल लगाउन सकिन्थ्यो । चुनावको बेला घरदैलोमा हिड्दै गर्दा बाटोबाट उक्त नेताको टोलीले खेतमा हलो जोत्दै गरेको एउटा जनता देख्यो । नेताको दिमागमा झिलिक्क बत्ति बल्यो – लौ, त्यो हलोको अनौ समात्नुपर्यो एक पोज फोटोका लागि ! फेसबुकमा राखेपछि धमाका हुन्छ, मान्छेहरुले सोच्ने छन् – लौ हेर हाम्रा नेताले जनताको काममा मद्यत गर्दै मत मागेको ! तर नेताका कार्यशैलीका बारेमा स्पष्ट धारणा भएका सचेत जनताहरू नेताका भ्रमपूर्ण संसारभन्दा धेरै पर यथार्थको जिन्दगी बाँचिरहेछन् । जनताहरुलाई थाहा छ – जनताको नेता जनतालाई सहयोग गरेको उदघोष गर्दै फेसबुक वा मिडियामा “स्टन्ट” रच्दैन । जनताको असली नेताले रंगमञ्चका कलाकारहरुले जस्तो स्टन्टबाजी हैन जनताको जीवनस्तर उकास्नका लागि इमान्दार प्रयासमा लिन हुन्छ । 
के.सी.जीको तस्वीरमा मैले लेखेको प्रतिक्रियाका विषयमा “फेसबुक च्याट मार्फत” उहाँ र मेरो वार्तालाप भैरहेकै थियो । उहाँको भनाई थियो – म त्यस्तो बेइमान छैन बाबु, त्यो मेरो इमान्दार सहयोग थियो । मैले केही पनि आपत्ति जनाइँन ! तर उहाँले एउटा गम्भीर कुरो गर्नुभो – मलाई राजनीतिका बारेमा सिकाउनु पर्दैन ! म सन्न भएँ । मलाई रनाहा भो’ – अरे, राजनीति बुझ्ने, विश्लेषण गर्ने के उनी जस्तै कखग दलको झोला बोकेर हिड्नेहरुको मात्र ठेक्का हो ? संवाद अगाडि बढ्दै गएपछि उनी धेरै कुरामा सहमत भईन । भनिन् – देशको राजनैतिक परिस्थितिले जनताहरु नेताप्रति उती सकारात्मक छैनन ! मैले सहमति जनाएँ । अत्यन्तै भद्रतापूर्वक नेतृ के.सीसँग मेरो संवाद समाप्त भयो । तर सामाजिक सञ्जालमा अर्का नेता झुल्किए मेरो खेदो खन्दै, गोविन्द नेपाली ! एउटा अनेपक्षित टिप्पणीका साथ ! उनको कुरालाई मानिदिने हो भने – म नेताहरुप्रति ज्यादा नकारात्मक भएँ अरे ! मलाई राजनीतिका बारेमा केही पनि थाहा छैन अरे ! मैले विषयको गम्भिरतालाई बुझिनँ अरे ! उनले धम्काउँदै भने – “तिम्रो राम्रो मान्छे भन्ने सोचेको, रहिन रहिछौ । मलाई फेसबुकबाट हटाउनु आईन्दा म सँग कुनै पनि कन्ट्याक्ट नगर्नु !”
बागलुङका यी तन्नेरी नेता विचरालाई यो पनि थाहा रहिन रहिछ कि फेसबुकबाट अनफ्रेन्ड गर्न पहिला फेसबुकमा साथी हुनुपर्छ ! नत्र फेसबुकमा साथी नै नभएको मान्छेले मलाई किन फेसबुकबाट अनफ्रेन्ड गर्न लगाए ? आफूसँग सामाजिक सञ्जालमा कोको जोडिएको छ भन्ने हेक्का नराख्ने हुस्सुहरुले अरुलाई अर्ति दिनु पहिले आफू कति पानीमा छु जाँच गर्ने कि नगर्ने ? कि कुनै एउटा दलको झोला बोकेर देउरालीहरु उक्लिदैमा भएभरका सबै आफ्ना वरिपरी नै झुम्मिन्छन भन्ने हुन्छ ? नेता महोदय, तपाइँ तथाकथितहरुको कमजोरी नै यो छ । तपाइँहरुलाई भ्रम छ कि तपाइँको भन्दा फरक विचार बोक्नेहरू, असहमत हुनेहरू “राम्रा” मान्छेहरु होईनन् ! हो म सहमत छु कि राजनैतिक क्षेत्रमा कुनै एउटा दलको झोला बोकेर हिड्ने काममा तपाइँसँग दशौं वर्षको अनुभव होला, तर त्यसले मात्रै नेता भएको पुष्टि गर्दैैन । कोही दोश्रो वा तेस्रो व्यक्ति आफ्नो विद्यार्थी जीवनमा स्ववियू निर्वाचन नलड्दैमा, नजित्दैमा राजनीति नबुझेको मानिदैन । तपाइँले राजनीतिलाई कुन उमेरबाट बुझ्नु भो त्यो त म जान्दिनँ तर गर्वका साथ म भन्दछु कि राजनीतिको रंग ममा पाँच–सात वर्षको हुँदै देखि चढ्दै आएको हो ! म तपाइँहरुले जस्तो एउटा चिया पसलको चियासँगै, भट्टिमा भटमास चपाउँदै, गल्लीमा साथीभाईसँग कुरा गर्दैगर्दा, पुषमाघमा क्याम्पसको चौरमा पार ताप्दै सुन्तलाको केस्रा चपाउँदै, अनि अलि अगाडि बढेर प्रत्येक आवधिक निर्वाचनका बखत एउटा ठूलो ढ्वाङ, उम्मेदवारको तस्वीरसहितको दुईचार थान पम्प्लेट, पर्चा, र घोषणापत्रहरु बोकेर देउरालीहरु उक्लदै गर्दा गरिने राजनीति भन्दा धेरै परको उन्नत राजनीतिका बारेमा सोच्छु । राजनीतिका नाममा गरिने अराजनैतिक, बेइमान, धोखापूर्ण कारोवारहरुको सख्त विरोधमा रहँदै आएको छु महोदय !
देशलाई विषादपूर्ण स्थितीमा लगेर अनिर्णयको बन्दी बनाउने कुनै पनि आम नेपालीको चाहना छैन र थिएन पनि । आम युवाहरुको विचारलाई, आम नागरिकका धारणाहरुलाई “असान्दर्भिक, उरेन्ठेउला अनि अप्रसाङगिक” भन्ने संज्ञा दिनुपूर्व आफूलाई राजनैतिक व्यक्तित्व सम्झिने यहाँहरु जस्तोले साँच्चिकै गम्भिर हुनु जरुरी छ । चुनाउको समय जनतालाई सघाउँदै भन्ने ‘तस्वीर क्याप्सन’ दिएर  “फेसबुके पोज” का लागि खिचिएका तस्विरहरुले जनताको जीवनमा केहि तात्विक भिन्नता राख्दैन । जनतालाई सघाउने भन्या के हो कृपा गरेर एकपटक चे ग्वेभाराको जीवनीमा आधारति वायोएपिक चलचित्र “द मोटरसाइक डायरिज” हेर्नु हुन अनुरोध छ ! यो राजनीति नबुझ्ने भनिएको एक आम युवा सकल नेताहरुलाई बेलायती नेतृ क्याथ्रिन एस्टनको भनाई – I look for the consensus because the consensus drives the policy into new places. को भावार्थ बुझिदिन अनुरोध गर्दछ । जय देश ! जय जनता !
Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…