हाम्रो अञ्चल खुल्ला 'गू' मुक्त क्षेत्र ?!

ठ्याक्कै शहीद दिवसको औसर छोपेर धौलागिरि अञ्चललाई खुल्ला दिशा मुक्त अञ्चल घोषणा गरिएको छ । अञ्चलका सबै जिल्लाहरुले खुल्ला दिशा मुक्त क्षेत्र घोषणाका लागि निर्दिष्ट गरिएको न्यूनतम मापदण्ड पूरा गरेकाले मुलुक भरमै सबभन्दा पहिलो खुल्ला दिशा मुक्त अञ्चल घोषणा गर्न पाएकोमा विशेषतः जिल्ला विकास समितिहरु, बागलुङ नगरपालिका र स्वास्थ्य सरसफाइका क्षेत्रका विदेशी दातृ निकायहरुबाट आकर्षक बजेट प्राप्त गर्ने विभिन्न गैर्‍हसरकारी निकायहरु प्रफुल्ल देखिए । यस विषयलाई लिएर सामाजिक सञ्जाल विशेषतः फेसबुकमा ब्यापक चर्चापरिचर्चा भए । बहस भए । राम्रा टिप्पणीहरु आए । सकारात्मक कदम भनिए । धेरैले हतारो गरिएको प्रतिक्रिया दिए । र, म स्वयंले आफूलाई पनि प्रतिक्रिया दिनेको लहरमा पछिल्लो वर्गको लाममा लामबद्ध गराएँ । 
कार्यक्रममा प्रत्यक्ष वा परोक्ष संलग्न ब्यक्तिहरू उनीहरुको शब्दको ‘यो ऐतिहासिक अवसर’ को आयोजना गर्ने गृहकार्य हुँदै देखि उत्साहित देखिन्थे । मैले उनीहरुका दुईचार फेसबुके भित्ते लेखनहरुमा कार्यक्रम सफिलीभूत गराउनका लागि उनीहरुको व्यग्रता साथमा कार्यक्रम सफल हुनेमा उनीहरुको आत्मविश्वास प्रस्ट अनुभूत गरेको थिएँ । र, भो’ पनि त्यस्तै । सारा जगलाई चित्त खुवाउँदै धौलागिरि अञ्चल खुल्ला गू मुक्त क्षेत्र बनिछाड्यो । बनाईछाडे ! जब यो खुल्ला गू मुक्त क्षेत्र बन्यो तब मेरो दिमागमा रिङरिङती अञ्चलका चारै जिल्ला सदरमुकामहरु र तीनका नाजुक तस्वीरहरू घुम्न थाले ! आफू धेरै भिजेको ठाउँ भएर मैले बेनीको स्थितीलाई बढी महत्व दिन्छु । 
सानो बेनी नगरी, पैदलै हिडेदेखि पुछारको मंगलाघाटदेखि शिरानको डल्लेपिपलसम्म पुग्न आधी घण्टा पनि बढि हुने ठाउँ । एकताका नगर बस चलाउने रे भन्ने हल्ला व्यापक आयो । परदेशमा छु, त्यसैले फेसबुकबाट थाहा पाएँ । मलाई लाग्यो जसले सोचेको होस्, राम्रो कुरो सोचेको हो । तर नगर बस मंगलाघाटदेखि डल्ले पिपलसम्मका लागि मात्र हो भने त त्यो चल्ने कुरो भएन । त्यसकारण, त्यो हल्लापछि नगरबसको कुरो थाँती नै छ । सायद नगर बसको हलुवाई बाड्ने मान्छेहरु सपनाको शहरबाट झसंग भएर विपना जिउँदै होलान अहिले । त्यस्तै हल्ला हुँदाहुँदै केहि समय पहिले जिल्लालाई नै खुल्ला गू मुक्त क्षेत्र घोषणा गराईछाडे ! यो, अलि गम्भिर विषय हो । बहस जरुरी छ । मलाई लाग्दैन, हामीले साँच्चीकै मापदण्ड पूरा गरेर यसरी गु मुक्त क्षेत्र घोषणा गर्दै आएका छौं । यसमा दुईचार गम्भिर जिज्ञासाहरु उब्जनु मात्र स्वभाविक विषय होइन्, बनाईनु हुँदैन । यहाँ त दाताले दिएको कार्यक्रम र बजेटलाई दाताबाटै दिएको कार्यसम्पादनको अन्तिम म्यादलाई सकभर गुज्रिन नदिऔं भन्ने मनशायले अभिप्रेरित भएर भटाभट कार्यक्रमहरु गरिदै आएका छन् । भएका छन् । तर कार्यसम्पादन पूर्व कार्यक्रमको यथार्थ प्रगति कति भएको हो भन्ने विषयमा सरोकारवालाहरुले यथेष्ट ध्यान दिन नसकेको सत्यताको गुञ्जायस सुनिएको छ । जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्दै गर्दा के जिल्ला विकास समिति लगायतका सरोकारवाला निकायहरुसँग विश्वस्त तथ्याङ्क प्राप्त भो कि २७ हजार भन्दा बढी घरधुरी रहेको जिल्लाका सबै घरहरुमा शौचालय निर्माण काम सम्पन्न भो त ? कि पाईखाना निर्माणका लागि एउटा कम्बोट, एक बोरा सिमेन्ट, सानो पाइप र दुईचार सय दाम दिएपछि शौचालय निर्माण भएको मान्नु पर्ने हो ? अनुदान पाएकाहरुले चर्पी निर्माण गरे नगरेको अनुगमन भयो कि भएन ? र, सबभन्दा महत्वपूर्ण विषय त सार्वजनिक स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गरिएका छन् त ? 
हुन त दुःखलाग्दो विषय छ कि हामी पढेलेखेका र संसार बुझेका भनेर चिनाउन रुचाउनेहरु एक्काईसौं शताब्दीको रटान दिएर थाक्दैनौ‌ । किन्तु, हाम्रै गाउँ टोल र छिमेकहरुमा हाम्रा परिवार र हाम्रा छिमेकीहरु हरेक प्रभातहरुमा सगौरव लोटा समातेर झाडी खोज्दै हिडिरहेका छौं । अझ दुःखदायीपूर्ण स्थिती अत्यन्तै पहाडका गाउँहरुमा र तराईका झुपडी बस्तीहरुमा छ । तराईको तीन महिने बसाइका क्रममा मैले यस्तै केहि विषय, प्रसङ्गहरु पनि भेटेँ । मैले अखबारहरुमा पढेँ कि तराईका केही गाउँहरुमा बिद्यालयहरुले यस्तो नियम पनि बनाउनु पर्‍यो कि जसका घरमा शौचालय छैन उसको नानीबाबुले विद्यालयमा अध्ययन गर्न नपाउने ! यस्ता शिर्षकका खबरहरु पढ्दै गर्दा समस्याको समाधानका लागि हामीले गर्ने गरेका दयनिय अभ्यासहरु देखेर रुन मन लागेको छ मलाई ! कलिला नानीबाबुहरुलाई स्कुल पढ्नबाट बञ्चीत गराएर के हाम्रा गुरुगुरुआमाहरुले कुन युगको सामाजिक न्यायको परम्परा स्थापित गर्दै हुनुहुन्छ ? हो, त्यस्तै महशुस गरेको छु म अहिले कि आवश्यक पूर्वाधार विना गाउँ, जिल्ला वा अञ्चलहरुलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्दै हामीले कस्तो खालको सहश्राब्दी लक्ष्य हासील गर्दैछौं ? हामीले बिर्सनुहुँदैन कि हाम्रो देशमा मात्र हैन समग्र दक्षिण एशियाली क्षेत्र खुल्ला दिशामुत्र त्यागको गम्भिर समस्या झेल्दै छ । संयुक्त राष्ट्रसंघको तथ्याङ्कका अनुसार सबै यस क्षेत्रका ३९ प्रतिशत जनसंख्याले आफ्नो मलमुत्र शौचालय बाहिर गर्छन । त्यसकारण, यो आधुनिक भनिएको जमानामा सामाजिक कलंक हुँदा हुँदै पनि यो कलंकको टिका फगत घोषणाहरुबाट समाधान हुँदैन ! हुने विषय होईन ।
होला, घोषणाका दिन हामीले भव्य कार्यक्रम गर्‍यौं । झाँकी निस्के, बाजा पनि बजाइए । यस क्षेत्रमा काम गरेका प्रबुद्द ब्यक्तित्वहरु राजनैतिक संलग्नताको दामासाहीले सही परन्तु सम्मानित पनि भए, तर हामीले छातीमा हात राखेर ठन्डा दिमागले सोच्नै पर्ने बेला भएको छ कि – हाम्रो अञ्चल साँचो रुप मै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएकै हो त ? के हाम्रा प्रत्येक गाउँहरुमा महिला पुरुषका लागि छुट्टाछुट्टै नसही कम्तीमा पनि एउटा शौचालय निर्माण गरिए त ? के अब हाम्रा प्रसिद्ध धार्मीक स्थलहरुमा दर्शन गर्न आउने आम नागरिकहरुले सार्वजनिक शौचालयहरुमा आफ्ना मलमुत्र त्याग गर्ने सुनौलो अवसर पाएकै हुन त ? सदरमुकाममा बजार भर्न आउने गाम्लेहरू अब मुत्र त्याग गर्नकै लागि मःम खान रेष्टुरेन्ट पस्न नपर्ने भएकै हो त ? 
सन्दर्भ स्रोतः
http://www.un.org/waterforlifedecade/sanitation.shtml
Post a Comment