Skip to main content

म र मेराे झाेले अभियान :)

पौने चार बर्ष पहिले मध्य साउन मासको एक दिन म चौराखेतको ओरालो झर्दै थिएँ, चौरको फाँटमा अन्तिम हल रोपाइँको काम चल्दै थियो । मेरा आँखा शिबालय मन्दिर नेर ओरालोबाट माथितिर आउँदै गरेको एक जना भाईमा गएर ठोक्किए । त्यो भाई जसलाई म सानैदेखि कलमकापी दिने गर्थेँ । उसले प्रवेशिका उत्तीर्ण गरेको एक महिना हुँदै थियो । ऊ नेर पुगेपछि मैले मेरो मोटरसाइकलको ब्रेक लगाएँ । डोको छड्के पारेर बोकेको थियो उसले । झण्डै विशिष्ट श्रेणीको अंक ल्याएर प्रवेशिका पास गरेको उसलाई मैले बधाई दिएँ । उसले मुस्कुराएर धन्यवाद भन्यो । उसका केही साथीहरु उच्च शिक्षा अध्ययनका लागि बजारतिर भर्ना फाराम लिन गएको देखेको मैले उसलाई भने त्यहाँ देखेपछि आश्चर्यतापूर्वक सोधेको थिएँ – भाई अब एघार चाँहि कहाँ पढ्ने बिचार गरेका छौं ? ऊ निशब्दः रह्यो ! मैले धेरै बल गरेपछि उसले भन्यो – “दाई, अब पढाई अगाडि बढ्दैन जस्तो छ । आमाले अब यहाँसम्म पढाईदिए त्यहाँभन्दा उता त गार्हो हुन्छ मलाई भन्नुहुन्छ ।” निशब्दः हुने पालो अब मेरो थियो । म चुपो लागेँ । र, मोटरसाइकल अगाडि बढाउँदै गर्दा मैले अलिपर पुगेको उसलाई हेरेर बोलेँ – “बिदुर, पाठ्यपुस्तक किन्ने, भर्ना हुने र पोशाक किन्ने पैसा मैले दिएँ भने पढ्छौ नी ?” थोरै उज्यालो अनुहार पारेर उसले प्रतिप्रश्न ग¥यो – “अनि मन्थली फि ?” मैले केही नबोली मोटरसाईकल अगाडि बढाएँ !
त्यही साँझ मैले भर्खरभर्खर शुरु गरेको गाउँको ब्लगमा विदुरको बारेमा लेखेर पोष्ट गरेको थिएँ । जसको २ दिन पछाडी स्पेनबाट मेरा मामा राजु थापाले रु. ३ हजार सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अनि त कोरियाबाट गोपालदाईले भोलिपल्टै १० हजार पठाईदिनु भो, पर्सिपल्ट डेनमार्कबाट शिबले १० हजार पठाईदिए । सहयोगीहरु बढ्दै गए । ४७ हजार रकम जम्मा भयो । विदुरको उच्च शिक्षाका लागि केही रकम संकलन भएको अवगत गराएपछि विद्यालयका विज्ञान शिक्षक दलजीले अर्को एक कमजोर आर्थिक स्थिती भएका भाईको बारेमा जानकारी गराउनु भो । दुवैजनाको सबै खर्च बेहोरेर पढाउनु त मेरा लागि असम्भवप्रायः नै थियो, त्यसकारण भर्खर उच्च मा.वि. सञ्चालन भएको माउण्ट एभरेष्टका प्राचार्य एवं मेरा मित्र राजु के.सी. लाई दुई मेधावी छात्रहरुका बारेमा जानकारी गराएपछि माशिक शुल्क मिनाहा गर्दिने प्रतिबद्धता गरिदिए । पछि रकम हस्तान्तरण कार्यक्रममा उनैलाई प्रमुख अतिथि बनाएर जनही दश हजार हस्तान्तरण गर्ने काम सम्पन्न पनि भयो । मैले संयोजन गरेको झोले अभियानकै कारण उच्च शिक्षा हासिल गर्ने अवसर प्राप्त गरेका दुवैजना भाइहरु अहिले स्नातक अध्ययनरत छन् । र, त्यही झोले अभियानमा संकलित रकम मध्ये बाँकी २७ हजार अहिले पनि बैङ्कमा छ । म त्यो रकम उनीहरु जस्तै मेधावी भाईबैनीहरुको उच्च शिक्षा अध्ययनको उत्कट चाहना पूरा गर्नमा खर्च होस् भन्ने चाहन्छु । यसरी केही ब्यक्तिहरुबाट अलिअलि गरी संकलित गरिएको रकमले दुई होनहार किशोरहरुको सपना मर्न पाएन । हो, उनीहरुको सपनाले अंकुराउने अवसर पाएको छ अहिले ।
मेरो उत्कट सदिच्छा हो कि मेरो देशमा कोही पनि नागरिकले आर्थिक दरिद्रता वा जातिय पृष्ठभूमीकै कारण पछाडी पर्न नपरोस् । हरेक नागरिकले उसले इच्छाए अनुरुप आफूलाई विकास गर्न पाओस् । र, त्यसको सम्पूर्ण ब्यवस्थापन राज्यले गर्न सकोस् । तर, हाम्रो जस्तो नियतवश पछाडी पारिएको र परिवर्तनका लागि इच्छाशक्ति क्षीण भएका नेताहरुका कारण तत्काल यस्तो हुन सम्भव छैन । त्यसैले त जाजरकोट अनि डडेल्धुराका हाम्रा मान्छेहरु झाडापखालाकै कारण जीवन गुमाउन विवश छन् । तराईका हाम्रा होनहार छोराछोरीहरुको शितलहरका कारण कठ्याङ्ग्रिएर प्राणपखेरु उडेको छ ।  अनि त रविन्द्र मिश्रहरु अगाडि आउनुपरेको छ – पहाडी गाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्याउनलाई ! विद्यालयको छानो हाल्नलाई ! अनि हरेक ठन्डी महिनाहरुमा शहरका मान्छेहरुलाई आव्हान गर्नलाई – नयाँ या पुराना प्रयोग गर्न मिल्ने लत्ता कपडाहरु हामीलाई दिनुस् भन्नलाई ! के एउटा रविन्द्र मिश्र र उनका दुईचारसाथीहरुले अभियान चलाउँदैमा नेपालमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध भैहाल्ने हो त ? उत्तम सञ्जेलले दुईचार स्कुलहरु खोल्दैमा बिद्यालयको पहुँचमा नपुगेका नानीबाबुहरु नाममात्रको शुल्क तिरेर गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दछन् त ? पुष्पा बस्नेतले जेलमा परेका अभिभावकहरुका नानीबाबुहरुलाई आफूसँग राखेपनि अझै पनि सयौं नानीबाबुहरु जेलमै आफ्ना अभिभावकसँग बस्न बाध्य छन्  ! हो, विषयहरु गम्भीर छन् ! जटिल पनि छन् ! अब त्यसो भन्दैमा कसैले पनि केही नगर्ने ? 
झोले अभियानले केही पनि हुँदैन, परिवर्तनको छलाङ मार्न राज्यले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरोमा म सहमती राख्दछु । किन्तु, त्यसो भन्दैमा दुःखी, असहाय र गरिबहरुको उत्थानका लागि स–साना सहयोगले केही पनि भूमिका खेल्दैनन भन्नेमा म पूर्ण असहमत छु । किनकी म रविन्द्र मिश्रले परोपकारी अभियान स्थगित गरेको सुन्न चाहँदिन् । पुष्पा मामुले जेलमा बस्न विवश नानीबाबुहरुको उत्थानमा खेलेको भूमिकालाई निष्क्रिय गरेको सुन्न सक्दिन म । उत्तम सञ्जेलहरुको समता स्कुल चलिराख्नुपर्छ । र, मेरा हितैषीहरुको जस्तै कोकोहोलोमा पनि म साना झोले अभियानलाई स्थगित गर्न सक्दिनँ । म समाज परिवर्तनका लागि आफ्नो सक्रिय भूमिका सदा क्रियाशिल रहोस् भन्ने चाहना राख्ने मान्छे हुँ । म आफूसँग अरुले पनि निर्विघ्न हाँस्न/बाँच्न पाऊन भन्ने सदिच्छा राख्ने युवा हुँ !
झोले अभियान सञ्चालक 

Post a Comment

Popular posts from this blog

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?" मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!" "कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।
यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर…

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

डा. गोविन्द केसीका शुरूवात तिरका अनशनहरूमा मेरो पूर्ण समर्थन थियो । मैले पनि आफ्ना सामाजिक संजालका भित्ताहरूमा निकै खरा खरा वाक्यहरूसहित तीनका पुछारमा ह्यासट्याग आइएमवीथडाकेसी लेखेकै हुँ । मलाई लुकाउनुपर्ने केहि छैन । डा. केसीका शुरूवाती मागहरू भनेका चिकित्सा क्षेत्रमा बढ्दो राजनैतिक हस्तक्षेप अनि तीसँगै यस क्षेत्रमा बढ्दै गएका विकृती विसंगतीहरूको अन्त्य हुनुपर्छ भन्नेमा केन्द्रित हुन्थे ।तर डा. केसी जति नै निष्ठावान, त्यागी या देवरूप नै किन नहोस उनको, उनका काँधमा बन्दुक राखेर आफ्ना विभिन्न खालका अभिष्ट पूरा गर्न खोज्नेहरूको एउटा ठूलो जमातबाट उनी घेरिएका छन । यो मिथ्याको आरोप हैन । निसन्देहः डा. केसी अनशन बस्नुपूर्व उनले अनशन बस्न थालिसकेपछि स्वास्थ्य क्षेत्रमा महशुस हुनेगरी परिवर्तन भएकै हुन । त्यसको जस पूरापूर उहाँलाई जान्छ । तर यसको अर्थ यो हैन कि स्वास्थ्य क्षेत्र सुधारका लागि सबै कुरा वहाँले नै भनेजसरी हुनुपर्छ । बिडम्बना यो छ कि वहाँको शुरूको अनशन देखि नै माग पूरा गर्ने बहानामा सरकारले एउटा बेथितीको पृष्ठपोषण गर्ने कामको श्रीगणेश गरेको छ । केसीको एक सुत्रिय माग थियो बरिष्ठताका आ…