केजरीवालकाे अवसान, विवेकशील नेपाली र नयाँ शक्ति

इमान्दार छवी निर्माण गर्न सफल करकार्यालयको एक कर अधिकृत, सरकारी सेवाबाट राजिनामा दिएर समाज परिवर्तनको सपना देखेर एउटा गैर्‍हसरकारी संस्थाको अभ्युदयमा लागिपर्दछ । संस्थाका मार्फत जब आम नागरिकहरुकोमा ऊ पुग्दछ, देख्दछ – विश्व अर्थतन्त्रमा उदाउँदै गरेको तर भ्रष्ट्राचारले आक्रान्त भारत ! निर्णय गर्दछ – भ्रष्ट्राचारका बिरुद्ध आवाज बुलन्द गर्ने । समर्थन पाउँछ गान्धीवादी नेता हजारेको । आन्दोलन एक हदसम्म सफल हुन्छ । अनि एउटा पार्टीको जन्म हुन्छ । आम आदमी पार्टी ! भ्रष्ट्राचार बढार्ने प्रतिकात्मक चुनाऊ चिन्ह कुचोले उसलाई न्यू दिल्लीको मुख्यमन्त्री त बनायो, तर अन्ततः तेल सकिन आँटेको दियो हुरुर्र बलेर निभे झैं केजरीवालको सत्ता आरोहण पनि ४८ दिन मैं समाप्त भो ! केही महिना पहिलेको भारतवर्षको कथा हो यो !
यता नेपाल खण्डमा चाँहि दुई गोटा कथाहरू छन् । एउटा कथा – नयाँ शक्तिको निर्माण र लालध्वज कामरेडको वरिपरी घुम्छ । जुन कथाको बीचमा अर्को एउटा पात्र पनि थपिन्छ – रबिन्द्र मिश्र ! कथा रोमाञ्चले भरिपूर्ण हुने नै भो जब दुई करेस्माटिक पात्रहरूको उपस्थिती कथामा हुन्छ ! र, अर्को एउटा बेढंगको कथा छ – विवेकशील नेपाली ! यो कथा पनि कम रोमाञ्चपूर्ण त हैन !
कथा शुरु गरौं विवेकशील नेपालीबाट ! देशमै बसेका र मुस्किलले केही युवाहरु भेला पारेर विभिन्न अभियान चलाउने युवाहरुको जमात हो यो । बढ्ता शहर केन्द्रीत । अझ भन्नुपर्दा काठमान्डु केन्द्रित । अझ साँच्चिकै भन्नुपर्दा “हाईफाई” जीवन शैली बाँच्ने गोडाएक थान युवाहरुको जमातले हुल बाँधेर शुरु भएको यो अभियानले संविधानसभा निर्वाचनमा भाग पनि लियो । मलाई अचम्म लागेको चाँहि राजनैतिक दलको हैसियत प्राप्त गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न आवश्यक १० हजार थान हस्ताक्षरको जोहो यसले कहाँबाट गर्‍यो ? कसरी गर्‍यो ? यो बडो गम्भीर विषय छ । खैर, यसलाई यहि छोडौं – तर आफूहरुलाई परिवर्तनका संवाहकको स्वघोषणा गर्दै “कुकुर” चिन्ह लिएर संविधानसभा निर्वाचनको चुनाऊमा उठेको यस दल (जमात) लाई कुल ३ हजार ७७ (प्रत्यक्षतर्फ उठेका चार उम्मेदवारले प्राप्त गरेको मतको योगफल) थान मत प्राप्त भो । यसको समीक्षा उनीहरुले के गरे त्यो म जान्दिनँ । तर वैचारिक सिद्धान्त विहिन दलको हविगती यस्तै हो । गैर्हसरकारी संस्था सञ्चालन गर्नु र एउटा राजनैतिक दल सञ्चालन गर्नुमा धेरै भिन्नता छ । जुन भिन्नताको भेऊ यी अभियानका अभियन्ताहरुले पाएका छैनन् । तीनचार दर्जन उद्देश्यहिन युवाहरुको हुल बाँधेर कस्तो परिवर्तनको सपना बाँडिरहेछन् यी, सोचनीय प्रश्न छ । 
त्यस्तै अर्को एउटा कथा हो नयाँ शक्ति निर्माण । जबजब एकिकृत नेकपा माओवादीभित्र आफ्ना धारणाहरु निस्तेज पारिएको भान हुन्छ तबतब डा. बाबुराम भट्टराईमा राष्ट्रिय एकता, शान्ति, समृद्ध र संविधानको निर्माणको भूत सवार हुन्छ । र, यी सबै आवश्यकताहरुको पूर्तिका लागि नयाँ राजनीतिक शक्तिको उदय आवश्यक रहेको जिकिर गर्न पुग्दछ । मुख्य भनिएका सबै दलहरु पुरातन सोच बोकेका नेताहरु र उनीहरुका आसेपासेहरुको जमघट गर्ने क्लब जस्तो बनेको भनी निकै टिकाटिप्पणी पनि गरिन्छन् । र, यस्तैमा अर्को एउटा पात्र थपिन्छन् – रविन्द्र मिश्र । ब्यावसायिक पत्रकारीताको लामो अनुभव हासिल गरिएका भनिएका मिश्रका आँखाले सबै दलका करिबकरिब सबै नेताहरुलाई असफल देख्दछ । र, नेपालको परिवर्तन अनि समृद्धी उनी बेलायत वा अन्य कुनै विकसितमुलुकको वर्तमान अवस्थासँग जोडेर हेर्न चाहन्छन् । जुन आफैमा त्रुटीपूर्ण छ । त्यसकारण पनि डा. भट्टराई र मिश्रले उठान गरेको नयाँ शक्तिको उदयको आवश्यकता सम्बन्धि बहस अहिले पूर्णतः निस्तेज हुन पुगेको हो । 
जबसम्म कस्तो प्रकृतिको शासन ब्यवस्था ? उत्पादन र पूँजीसँगको सम्बन्ध, श्रोतको समुचित वितरण, आर्थिक समृद्धीको स्पष्ट खाका, द्धन्द्धको उचीत व्यवस्थापनमा अबलम्बन गराउनु पर्ने रणनीतिका बारेमा हामीहरु स्पष्ट खाका तयार पार्न असफल रहन्छौं, त्यहिले सम्म नयाँ शक्तिको बहस र विवेकशील नेपालीको जमात तयार पारेर मात्र हामीले समृद्ध नेपाल निर्माण गर्न असमर्थ रहनेछौं । एकले अर्काको बिचारलाई इन्कार हैन, हार्दिकतापूर्वक हातेमाले गरेर अगाडि बढ्ने प्रयास गर्न असफल रह्यौ भने भोली देश सन् ९० को दशकको रुवान्डा वा सुडान बन्ने खतरालाई हामीले टार्न सक्ने छैनौं । 

Post a Comment

Popular Posts