मेरा शब्दहरू

ए, साँवा अक्षर चिनेर
बुद्दिजीवीको पगरी गुथ्नेहरू हो -
सुन, बुझार्इको गहिरार्इ
शब्दको स्वरूपमा पाइँदैन
त्यसको एकदम आवरणीय 
संरचनामा भेट्टिदैन ।
तसर्थ मेरो आब्हान छ -
तिम्रा मरन्च्यासे बौद्दिकताले
मेरा शब्दहरूको अर्थको भेऊ पाउँदैन् ।
बन्द गर तिम्रा बकबासहरू,
र, निषेध नगर मेरा शब्दहरूलार्इ !

तिमी अक्षरमा अक्षर मात्र देख्छौं
शब्दमा खाली शब्द मात्र भेट्छौं
के अक्षर फगत अक्षर मात्र हो ?
के शब्दमा कुनै गाम्भीर्यता हुँदैन ? 
तिमी किन इन्कार गर्दछौं ?
कि, एक अक्षरमा सिंगो ब्रम्हाण्ड वशीभूत छ ! 
तसर्थ मेरो आब्हान छ -
तिम्रा मरन्च्यासे बौद्दिकताले
मेरा शब्दहरूको अर्थको भेऊ पाउँदैन् ।
बन्द गर तिम्रा बकबासहरू,
र, निषेध नगर मेरा शब्दहरूलार्इ !

तिमी एक दीर्घरोगी नै हौ
जसलार्इ छ - ज्ञानको कुपोषण 
- बुझार्इको पोलियो
- समीक्षाको रतन्धो
र, छ - शब्दको फोविया 
ए, शब्दहरूबाट डराउने डरपोकहरू हो 
तसर्थ मेरो आब्हान छ -
तिम्रा मरन्च्यासे बौद्दिकताले
मेरा शब्दहरूको अर्थको भेऊ पाउँदैन् ।
बन्द गर तिम्रा बकबासहरू,
र, निषेध नगर मेरा शब्दहरूलार्इ !

२०७१ श्रावण १४, बुधबार, हेलसिन्की, फिनल्याण्ड

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)