Skip to main content

संविधानकाे जस्केलोबाट उदाएको एउटा सभासद

केहि महिनादेखि लेखनकार्यमा उती रुची लाग्ने गरेको छैन मलाई । लेख्दा धेरैले चित्त दुखाउने र नलेख्दा आफ्नै चित्त दुख्ने कठोर परिस्थितीबाट गुज्रिदै आएपछि मैले लेख्ने निर्णय गरेँ । मलाई लाग्यो – लेख्ने अरुका लागि हैन आफ्नै लागि हो । लेखनलाई मनको भडाँस पोख्नेभन्दा पनि विषयवस्तुप्रति आफ्नो समालोचनात्मक दृष्ट्रिकोणमा तिख्खरता ल्याउने औजारको रुपमा प्रयोग गर्न सकिने निष्कर्षमा पुगेपछि मैले केहि हप्ताको लेखनकार्यको विश्रामलाई अन्त्य गर्ने निक्र्यौल गरेको हुँ ।
दुई हप्ताजस्तो भो’ म्याग्दी जिल्लाले आफ्नो खातामा अर्को एउटा सभासद थप्न सफल भएको छ । संविधानसभा निर्वाचनको प्रत्यक्ष तर्फबाट अकल्पनिय (अकल्पनिय यस अर्थमा कि निर्वाचनपूर्व चुनाव जित्ने प्रचारबाजीमा सडकसम्मै ओर्लेका थिए) हार बेहोरेको म्याग्दी कांग्रेस लामो समयदेखि समानुपातिक सूचीबाट सभासदहुनेहरुको लाममा आफ्नो जिल्लाबाट पनि अनिवार्य प्रतिनिधित्व गराउन पर्ने मागमा दृढ भएर युद्धको जेहाद छेडेथ्यो – सानेपा दरबारविरुद्ध । सम्भवतः नेपाली राजनैतिक इतिहासमै पहिलो पटक हुनुपर्छ आफ्नो पार्टीको केन्द्रसँग जिल्लामा उपलब्ध सबै गुटका नेताहरु एक ढिक्का भएर लडेको ! त्यो लडाई पट्यारलाग्दो नै थियो, तर मनमा जितको गुञ्जायस यदाकदा गुञ्जेकै थियो उनीहरुको । तर जब सानेपा दरबारको खोपीबाट दुई राजाहरुबीच ६०:४० को सौदाबाजी भो, बिचरा म्याग्देली काङ्ग्रेसीहरुको भागमा हाता लाग्यो शुन्यः हुन गयो । पार्टी केन्द्रमा डेलिगेशन गएको, अनुनय र्घुकाइ सबै बिष्णुमतिको पानीमा मिसिन पुगियो । तोलाको बोली खोलामा भने झैं भो । म्याग्देली काङ्ग्रेसीहरु रनाहामा परे । २५/३० वर्षको राजनैतिक इतिहास छ भन्नेहरु, चौपारीको उद्घाटन गर्न एकजमानामा पार्टीका प्रभावशाली नेता रामचन्द्र पौडेललाई जिल्ला झिकाउने ल्याकत राख्नेहरुले हावा खाए । उनीहरुको लाख कोशिस खेर गए । म्याग्देली काँग्रेसीहरुले म्याग्देलीहरुलाई एक थान सभासद दिलाउन सकेनन् ।
फूलमालामा सभासद मनोनित रेशम बानियाँ । तस्बीरः फेसबुक
यो किस्सा त्यसै खत्तम भएन । उनीहरु एकजमानाका माउवादी काम्रेडहरु जस्तै क्रान्तिकारी भएर निस्के । जिल्ला कार्य समितिको कार्यालयमा ताला झुण्ड्याईयो । क्रान्तिको शंखघोष गर्दै उनीहरुले ताला झुण्ड्याईरहने क्रान्तिलाई त्यतिन्जेलसम्म जारी राखे जतिन्जेल सम्म सानेपादरबारले उनीहरुको अगाडि घुँडा टेक्न मानेन् । र, विश्वस्त पार्न सकेन कि मन्त्रीपरिषदले मनोनयन गर्ने २६ जनामा आफ्ना भागमा पर्ने सभासदहरु मध्ये एकमा म्याग्दी काँग्रेसबाट प्रतिनिधित्व हुने गरी मनोनित गरिनेछ । यो चारो पाएपछि म्याग्दी काँग्रेसले तालाबन्दी क्रान्तिको समापनको घोषणा गर्‍यो अनि पूर्ववतः कार्यालय खोल्यो । 
अन्ततः अन्तरिम संविधानको धारा ६३ (३) (ग) अनुसार राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका विशिष्ट ब्यक्ति र प्रत्यक्ष तथा समानुपातिक निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका आदिवासी जनजातीमध्येबाट सहमतिका आधारमा मन्त्रिपरिषद्बाट छब्बीस जना संविधानसभा सदस्य मनोनय हुने ब्यवस्था अनुरुप म्याग्दी काँग्रेस सभापति रेशम बानियाँलाई काँग्रेसले सभासदमा मनोनयन गर्‍यो । अन्तरिम संविधानको ब्याख्या अनुसार उनको मनोनयन कति जायज थियो त्यो छर्लङ्गै छ, किन्तु म्याग्दी काँग्रेसले आफ्नो केन्द्रसँगको एउटा घगडान युद्ध भने जितेको छ ।  
बानियाँलाई सभासदमा मनोनयन गरेको खबरसँगै म्याग्देली काँग्रेसहरुमा खुशिको पारा विचित्रले उकालो चढेको म्याग्देलीहरुले देखे भोगेकै हो । के गर्नेलाई भन्दा केलाई लाज भनेजस्तै यो मनोनयनले म्याग्देलीहरुलाई एउटा अर्को बिजय जुलुस र सभा हेर्ने औसर जुटाईदियो । इन्टरनेट संसारमा छरिएका मेरा प्रिय म्याग्देली काँग्रेसी मित्रहरुको अबिरले लपक्कै भएको अनुहारभित्र हेर्नलायकको खुशि मैले महशुस गरेँ । सायद प्रत्यक्ष निर्वाचनमा म्याग्दीबाट विजयी भएका नवराज शर्मा पनि विलखबन्दमा परे हुनन् काँग्रेसी विजयी जुलुश देखेर । कस्तो हुँदो हो यदि “बेलायती सेनाका रिटायर्ड आर्मी म्यान”ले बिमको एउटा गरिब किसानको छोरोलाई चुनाउमा हराएको भए ? 
विषयको गाम्भीर्यतालाई साँच्चिकै मनन गर्ने हो भने दोश्रो संविधानसभा अत्यन्तै जिम्मेवार र संवेदनशिल समयबाट गुज्रिरहेको छ । संविधान घोषणा गर्ने भनिएको मिति पनि नजिकिदै गैरहेको बखत सभासहरुको भूमिका त्यति नदेखियता पनि उनीहरु गम्भिरतापूर्वक आफ्नो काम/कर्तव्यदेखि विमुख हुन पनि सक्दैनन् । बानियाँले सभासदको टिका र खाँदा त पहिरिन सफल भए तर संविधान निर्माणमा उनको भूमिका कत्तिको स्मरणीय रहने हो त्यो हेर्न बाँकी नै छ । सभासद मनोनित गर्ने क्रान्तिकारी अभियानमा म्याग्दी काँग्रेसले आफ्नो केन्द्रसँग जुन सफलता हात पारेको छ त्यसको जायजताको मापन म्याग्देली काँग्रेसले सभासद बानियाँको कार्यसम्पादनमा पुर्‍याउने साथ र समर्थनबाटै निर्क्यौल हुने हो ।  
Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…