ती दशैंहरू

नातिनीलार्इ टिका लगार्इदिदै मेरी आमा
म महशुस गर्दथेँ कि प्रत्येक वर्ष दशैं आउँदै गर्दा यसलार्इ कसरी मनाउने होला भन्ने पीरले आमालार्इ अलि बढी नै पिरल्थ्यो । दशैं खर्चको बन्दोबस्त बुबाले गर्नुहुन्थ्यो तर कुटुम्बहरूलार्इ दिइने दक्षिणाको ब्यवस्थापन आमाले गर्नु पर्थ्यो । बुबा केहि निश्चित रकमको चाँजो मिलाउनुहुन्थ्यो, अनि त्यो एकदम निश्चित रकमबाट बुबाको 'गन्यमान्य ब्यक्तित्व'को 'प्रतिष्ठा'लार्इ ख्याल गर्दै साइनो अनुसारको दक्षिणा मिलाउने बडो महत्वपूर्ण कमाण्ड आमाले सम्हाल्नु पर्थ्यो । दक्षिणामा पैसा खर्च गर्नुभन्दा बरू मासु किन्ने र टिका थाप्न आउने प्रत्येक कुटुम्बलार्इ टन्न मासुभात ख्वाएर पठाउनु पर्छ भन्नेमा बुबाको जोड हुन्थ्यो । आमा चाँहि त्यसमा थप कुटुम्बहरूले 'छि यति पनि के दक्षिणा दे'को होला' नभनुन् भन्नेमा बढि गम्भीर भएर लागे जस्तो मलार्इ लाग्थ्यो । उहाँको एउटै जोड – बुबाको इज्जतका खातिर दक्षिणाचाँहि आकर्षक नै हुनुपर्छ ।
घटस्थापना आउँथ्यो, दुर्गा पूजा आउथ्यो अनि आउँथ्यो – दशैंको टिका थाप्ने दिन । कान्छो बुढोबाको हातको टिका थापेपछि बुबाले आमालार्इ टिका लगाइदिनुहुन्थ्यो । अनि बुबा र आमाले मलार्इ र भार्इलार्इ । बुबाले औपचारिकता निभाउनलार्इ मात्र टिका लगाइदिनुभएको जस्तो अनुभूत हुन्थ्यो मलार्इ । उहाँको टिका लगार्इको वेग यति तिब्र हुन्थ्यो कि मलार्इ र भार्इलार्इ टिका लगार्इवरी वहाँ उठिसक्दा आमाचाँहि थालीबाट दुबै हातका दशैवटा ‍औंलाले स्नेहपूर्वक अक्षता निधारमा लगाइदिन शुरू गर्नुहुन्थ्यो । थाहा छैन किन आशिष दिदै गर्दा ओठ कपाउँदै गरेकी मेरी आमाले टिका लगार्इदिदै त्यसरी बरर्र मोतीका दाना झार्नुहुन्थ्यो ? आमाको वात्सल्य आँशु बनेर झरिरहँदा, मैले मेरो कम्युनिष्ट नेता पितालार्इ पनि मलिनो देख्थेँ । जस्तो कि मानुँ आकाश कालो बादलले छोपिएको छ, र त्यो बादल पर गौश्वाँराको डाँडोमा ठोक्किन्छ अनि वर्षिन्छ ।
अँ म बताउँदै थिएँ, प्रत्येक दशैंमा आशीर्वचनसँगै मेरी आमाको भिजेको एकजोर आँखा त्योभन्दा बढि स्तब्ध मेरी आमाको दील, उस्तै मलिन अनि फुङ्ग उडेको मेरो पिताजीको मुहार हेर्दै गर्दा मैले मेरो भाइँको आँखालार्इ पढ्थेँ । बिचरा, बच्चै हुन्थ्यो ऊ । बलिन्द्र आँशु देख्थेँ उसका चक्षुमा टिल्पिलार्इराखेका । अहिले गम खान्छु – त्यो मेरो बच्चो भार्इ बुझेर रून्थ्यो होला कि बुझ्दैनबुझी ? उसो त सितिमिती आँशु झर्दैनन् मेरा तर हुनेखाने र हामीलार्इ माया गर्ने आफन्तहरूको उपहारमा प्राप्त लुंगी र चोलीमा एक सिंगो वर्ष बिताउने मेरी आमाको आँशु देखेपछि मैले कहिल्यै मन थाम्न सक्दिनथेँ । अनि आमा र भार्इसँगै पिल्पिलाउँथे म पनि । म अज्ञानि छु – भौतिक विज्ञानले वर्षा हुने प्रक्रियालार्इ ठ्याक्कै कसरी ब्याख्या गरेको छ, किन्तु मेरा बुबाआमाको मोती खस्ने प्रक्रियालार्इ ब्याख्या गर्ने बिज्ञान जन्मिनै बाँकी छ ।
बुबाआमाको हातको टिका थापिसकेपछि, म भित्र कुद्थेँ । अनि तन्नाको एउटा फेरले आँखा ओभाउथेँ । त्यपछि सिकुवासँगै जोडिएको मुले खाँवामा टाँगेर राखेको ऐनामा हेरेर आफू दशैं मनाउन ठिक्क परेको किशोरजस्तो देखिएको निश्चित गरेपछि मात्र पल्तिर बुढोबाको पिढिँमा पुग्थेँ । मलार्इ लाग्थ्यो- मन रोएर मुख हसाउन सकेपछि मान्छेहरू साँच्चिकै झुक्किन्छन् । भारतीय सेनाको सेवानिर्वृत मेरा बुढोबा (कान्छो हजुरबुबा) को टिकाको थालीमा टिका जमरा अनि नयाँ किटकिटे नोट हुन्थे । पुग्दानपुग्दै बुढोबाले भन्नुहुन्थ्यो – 'तँ बल्ल आइस् ? भार्इहरू अगाडि नै आएर उता ठूलोबाका पुगिसके । दशैंको बेला पनि कति पढ्छस हो तँ ?' बुढोबाको नजरमा म जहिल्यै पढैया नै भएँ । खै, त्यसैले होकि अरूका हातमा बीसका नोट थमार्इसकेपछि मलार्इ दुर्इ थान बिसका नोट दिनुहुन्थ्यो । अनि भन्नुहुन्थ्यो – 'कुलको इज्जत राखेस् ।' आज पर्यन्त, म अनभिज्ञ नै छु म, कि आखिर कुलको इज्जत् राखिन्छ कसरी ?
टिका लगाउन पर्ने ठाउँ सप्पै गाउँमै । मुख्यकुरो त मामाघर नै गाउँमै । जति ढिलो गरेपनि ४०-४५ मिनेट दशैं खत्तम । मामाकोबाट टिका लगाएर आर्इसकेपछि म सिधैं घर फर्कन्थेँ । आमा पिढीमा बसिरहनु भएको हुन्थ्यो नभए गोठमा भैसीलार्इ स्याहार गर्दै गरेको पाउँथे । मध्यान्ह भैसकेपछि बुबा आफ्नो मावली उक्लनुहुन्थ्यो – ज्याम्रुककोट । अब दशैंको दिन उम्काउने सम्पूर्ण जिम्मा आमाको थाप्लोमा । बुबाले बन्दोबस्त मिलाएको दक्षिणा दिने नोटहरू एकएक गर्दै थालबाट अलप भैसकेका हुन्थे । कारण ती अपुग थिए । किनभने मेरी आमालार्इ बुबाको घगडान प्रतिष्ठाले लखेटिरहेथ्यो । अनि त्यो थालीमा आमा आफूले पाएको जति दक्षिणा सबै खन्याउनुहुन्थ्यो । पछि, त्यसमा मैले आफूले पाएको जति सप्पै दक्षिणा त्यहि थालीमा राखिदिन्थेँ । मलार्इ बुबाको प्रतिष्ठाभन्दा आमाको माया ज्यादा सरोकारको विषय हुन्थ्यो । मैले त्यसो गर्दै गर्दा आमाले पुलुक्क हेर्नुहुन्थ्यो । म भान्साको डाँडोतिर एकटक हेरिरहन्थेँ । सोच्दै, कि दशैं हाम्रो प्रतिष्ठा अनुरूप मनाउनु पर्ने हो या आर्थिक हैसियत अनुसार ?
बच्चा हुँदा आमाले अक्सर मलार्इ सुनाउनुहुन्थ्यो – मसँग करोड करोडको सम्पत्ति छ । म छक्क पर्थेँ । आमा भन्नुहुन्थ्यो – रामु दार्इले सधैं मलार्इ भन्नुहुन्छ, गंगा अहिले दुःख पर्यो भनेर कत्ति नआत्ती, तँसँग पनि मेरा जस्तै करोडकरोडका दुर्इभार्इ छोराहरू छन् । ती करोडका भान्जाहरूले एकदिन खुशी ल्याउँछन् । रामु मामाले उ बेला साँच्चिकै किन त्यसो भन्नुभो मैले जान्दिनँ । तर रामु मामाले कम्तिमा पनि मेरी आमाको हौशला बढाउने काम गर्नुभएकै हो । त्यही हौसलामा मेरी आमाले जीवनका अत्यन्तै कठिनतम् दिनहरू गुजार्नुभएको छ । मलार्इ लाग्छ, त्यहि हौसलाले अभिभूत भएरै मेरी आमा प्रत्येक दशैंहरूमा आशीरवचनसँगै त्यसरी भावविह्वल हुनुभएको हो । के आमाको आँशुको भाडा तिर्नु सम्भव छ ?



Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)