क्रान्तिकारीहरू र बिजगणितको एउटा सुत्र

हामी आठमा पढ्थ्यौ । तिहारपछि भर्खर स्कुल खुलेको थियो । स्कुल खुलेको त्यस्तै तीन चार दिनभएको हुनुपर्छ । चाडपर्वपछि फेरि क्रान्तिकारीहरूको कृयाकलाप उग्र बन्दै थियो ।
यस्तैमा हँसिया हथौंडा अंकित झण्डा बोकेर आफूलार्इ क्रान्तिकारी भनेर बताउने हामीभन्दा दुर्इ तिन वर्ष जेठा उमेरका किशोरहरू हाम्रो कक्षामा पसे । त्यो पार्वती मिसको क्लास थियो । एकबजेपछिको त्यो घण्टीमा गणित मिसले हामीलार्इ बीजगणितकको "सरल गर्ने"  हिसाब सिकाउँदै हुनुहुन्थ्यो । र, कालोपाटीमा ए स्क्वाएर प्लस बी स्क्वायरको सुत्र लेखिएको थियो । मिससँग अनुमति लिएर उनीहरूले त्यो पिरियडभरि क्रान्तिकारी भाषण गरे । र, हामीले पढ्दै गरेको शिक्षा बुर्जुवा शिक्षा भएको र यसले कसैलार्इ पनि सफल बनाउन नसक्ने जिकिर गर्दै ती मध्येको एउटाले आफ्नो तर्क पेश गरे - "ए स्क्वायर प्लस बी स्क्वायरको सुत्रले" होलो (हलो) बनाउन सिकाउँछ ? डोको बुन्न सिकाउँछ ? कि खेत खन्दा काम लाग्छ ? केहि गर्न पनि सिकाउँदैन । हामी किसानका छोराछोरीले यो अंकगणित र विजगणित पढेर केहि काम छ ? साइन्स पढेर हामीले डाक्टर बन्न सक्दछौ ? साइन्स भनेका धनीमानीका छोराछोरीले पढ्ने विषय हो । डाक्टर बन्न कति पर्छ तपाइँहरूलार्इ थाहा छ ? बिस पच्चीस लाख खर्च हुन्छ । तपाइँहरू मध्ये कसैको बाउआमाले त्यत्रो पैसा जुटाउन सक्दछन् त? हामी सबै निःशब्द सुनिरह्यौ । उनीहरुले बुर्जुवा शिक्षाको ब्यापक बिरोध गरेर गए । त्यो दिन हाम्रो बीजगणितको पढार्इ अगाडि बढ्न सकेन । "ए स्क्वायर प्लस बी स्क्वायरको सुत्र" भोलीपल्ट बिहानको पहिलो घण्टीसम्म कालोपाटीमा त्यसैगरी झुण्डियो ।
साँझ घर फर्किनेबेला मेरो सहपाठी अञ्चलले क्रान्तिकारीका कुराहरू अलि पताएन । भन्दैथियो – के नचाहिने कुरा गरेर गए ल्याङ्ग्राहरू । त्यसबेला उनीहरूले पाँच कक्षादेखि आठकक्षासम्म पढार्इहुने संस्कृत विषय बन्द गराएका थिए । पाँचदेखि सातसम्म मलार्इ अलि गारो लागेको संस्कृत उनीहरूका कारण आठमा पढ्न नपर्ने भएपछि उनीहरूप्रति मेरो गहिरो सदभाव पलाउँदै गएको थियो । त्यसैले पनि मलार्इ क्रान्तिकारीहरूको यो हिसाबको सुत्रवाला कुराले अलि अलि प्रभाव पारेको हुनुपर्दछ । मैले उसँग असहमत हुँदै भनेको थिएँ – नहुने कुरा किन गर्थे ? अलि राम्ररी सोच त, हिसाबको कुन सुत्रले तेरो घरको कुन काम सजिलो भएको छ ? त्यसपछि उ पनि केहि बोलेन । हामी चुपचाप नारानथानबाट ओरालो झर्यौ ।
यस्तरी त्योबेला हाम्लार्इ बुर्जुवा शिक्षा बहिरष्कार गर्नलार्इ उक्साउनेहरू योबेला स्वंय देशबाट पलायन भएका छन् । हिजो हामीले बुर्जुवा शिक्षा पढिरहँदा उनीहरूले क्रान्तिकारी शिक्षा प्रणालीको वकालत गरेर हिडेँ । उनका आदर्शवान नेताहरूले आफ्ना छोराछोरीलार्इ विदेशमा पढार्इरहेको बारे उनीहरू अनभिज्ञ थिए वा क्रान्तिको आवश्यकता भनेर उनीहरूलार्इ दिग्भ्रमित पारिएको थियो त्यो त म जान्दिनँ, तर बझाङी राजा जयपृथ्वीबहादुर सिंहको शिक्षाप्रतिको उनको लगावको जीवनी हामीले पढ्दै गर्दा क्रान्तिकारीहरूले एक्काइसौ शताब्दीको महान बिचारधारा प्रचण्डपथका प्रतिपादक भनिकन एउटा स्टालिनमार्काको जुँगा भएको उनीहरूको महान नेताको जीवनी भएको किताब बोकेर उनीहरू हामीहरूकोमा आए । हामीले जे गरिरहथ्यौ सबथोक उनीहरूले पुरातन अभ्यास भनिकन ध्वंस गर्न लागिपरे । त्यतिखेर उनीहरूको चेत खुलेन । त्यतिखेर उनिहरूको विवेकले काम गरेन । अहिले यी अक्षरको आगो निकालिरहेछन् – क्रान्ति भ्रम थियो । नेताहरूले बाटो बिराए । के ती यिनै नेताहरूको अर्डरलार्इ ज्युँकात्यूँ समर्थन गरि कार्यान्वयन गर्ने कारिन्दाहरूले आफ्ना विगतप्रति नतमस्तक भएर आत्मालोचित हुनु पर्दैन ?
केन्द्रिय राज्यसत्तालार्इ धक्का दिनलार्इ यिनले के सम्म गरेनन ? पुल भत्काए । अहिले पाठशाला जानलार्इ त्रिशुलीमा तुँइन तरीरहेका नानीबाबुहरूको तस्बीर देख्दा भक्कानिएको कुरा सामाजिक सञ्जालमा ब्यक्त गर्दछन् । के म अब यीनलार्इ अझै पनि क्रान्तिकारी मानूँ ? पाखण्डीहरू । पूजा बोहोराको बलात्कृत आँशु देख्दा यिनलार्इ पनि भक्कानो छुट्दो रच तर हिजै आफ्ना क्रान्तिकारी क्याम्पभित्र कति पूजा बोहोराको आँशु लुटियो यिनलार्इ हेक्का छैन । हिजो यिनले प्रेम र युद्दमा सबै जायज हुने डंका पिट्थै हिडे ।

हिजो प्रचण्डबाबुरामलार्इ भगवान मानेर फेरि राक्षस भने, बैधलार्इ महान बनाए । आज फेरि दिमागमा बन्दुक भएपछि बन्दुक बोक्न गार्हो नहुने हुँकार गर्ने विप्लबलार्इ देवत्करण गरिकन यिनीहरू बैद्यका बिरूद्द खनिएका छन् । कथित क्रान्ति सफल पार्ने भ्रमपूर्ण सपना लिएर यिनीहरू फेरि मान्छे मार्न निस्कदै छन् । फेरि बलि चढाउन निस्किएका छन् । यी, "ए स्क्वायर प्लस बी स्क्वाएरको सुत्र" लिएर जहिले सम्म हलो बनाउन हिड्छन्, तैलेँ सम्म हामीले दुर्भाग्यपूर्ण जीवन बाँच्नुपर्नेछ । 

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)