कुरी कुरी कांग्रेस, कुरी कुरी सभासद !

केहि वर्ष पहिले, जिल्ला परिषद बैठकमा एमालेका तत्कालिन जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले पहिलो संविधानसभामा म्याग्दी जिल्लाबाट प्रत्यक्ष निर्वाचित एकिकृत माओवादीका सभासद गोविन्द पौडेल उर्फ प्रविनको जिल्लाका हिमाली भेगमा संकलन हुने यार्सा गुम्बाको चोरी तस्करीमा संलग्नता भएको बारे राष्ट्रिय मिडियामा प्रकासित÷प्रसारित समाचारका बारेमा उल्लेख गर्दासाथ मञ्चमा सँगै आसिन माओवादीका जिल्ला संयोजक समेत रहेका एक कँडेल थरका नेताले कुर्सी प्रहार गरेपछि त्यतिखेर ठुलै हंगामा भयो । धेरैले घटनाको टिप्पणी गर्दै गर्दा माओवादीको उग्रताको खुलेरै विरोध गरेँ । ती मध्ये कतिपयले त्यस हर्कतले. माओवादीमा जंगली स्वभावको अवशेष अझै रहेको पुष्टि भएको बताए । विभिन्न दावा गर्ने क्रमको अघिल्लो पंक्तिमा नेपाली कांग्रेसका स्थानीय नेताहरु नै थिए । र, अहिले त्यस्तै अर्को जंगली स्वभावको अवशेषको प्रदर्शनी भएको छ,  बेनी नगरपालिकाको परिषदमा । र, त्यो हर्कत कुनै सामान्य व्यक्त्तिले होइन, नेपालसरकारले दोश्रो संविधानसभामा मनोनित गरेका २६ सभासदहरु मध्य एक सभासद – रेशम बानियाँले गरेका छन् । 
राष्ट्रियस्तरमा योगदान पुर्‍याएका ब्यक्तिहरुबाट सभासद मनोनित हुने कोटामा मनोयन भई सभासद हुने सौभाग्य प्राप्त गरेका बानियाँले सभासदको मर्यादालाई ख्याल नराख्दा युवा समाजसेवी चन्द्रबहादुर केसीको फेसबुक टिप्पणी अनुसार – आफू प्रमुख अतिथि हुन पाउनुपर्ने माग गर्दै सभामा पुगेर भाँडभैलो गर्ने काममा सभासद बानियाँले विश्व रेकर्ड कायम गर्न पुगेका छन् । के.सी. को यो फेसबुके टिप्पणी धेरैका लागि सानो व्यंग्यात्मक प्रतिक्रिया लाग्न सक्छ, तर सभासद बानियाँको हर्कत हल्काफुल्का थिदैँ थिएन । 
नेपाल भरी नै स्वभाविक प्रचलन कस्तो छ भने सम्बन्धित नगरपालिका वा जिल्लाको प्रतिनिधित्व हुने गरी प्रत्यक्ष निर्वाचित सभासद नै जिल्लास्तरको कुनै पनि कार्यक्रम उदघाटन÷शिलान्यास गर्ने गर्दछ । म्याग्दीकै सन्दर्भमा, जसरी हिजोका जिल्ला परिषद कहिले ती निल पुनले, कहिले नारायण सिंह पुनले वा कहिले गोविन्द पौडेलले नै उद्घाटन गरेका थिए, त्यसरी नै जिल्लाको एकमात्र नगरपालिकाको नगरपरिषदको उदघाटन वा प्रमुख आतिथ्यता जिल्लाबाट प्रत्यक्ष निर्वाचित सभासद नवराज शर्माले गर्नु सवैभन्दा स्वभाविक र उपयुक्त हो । अब राष्ट्रियस्तरमा योगदान पुर्‍याएको कोटामा सभासद मनोनित भएका बानियाँले “म प्रमुख अतिथि हुन पाउनुपर्छ” भनिकन रडाको मच्चाउनुको कुनै तुक छैन, बरु त्यसले उनको प्रतिष्ठामा नै आँच पुर्याउने काम गरेको छ । 
मुलतः उनी वा उनीजस्तै अरुको मनोनयन संविधान निर्माण प्रक्रियामा उनीहरुको अनुभव र दक्षताबाट राष्ट्रले केही योगदान पाउन सकोस भनेर गरिएको हो न कि नगरपालिकाको परिषदमा प्रमुख अतिथि हुन पाउनपर्छ भनेर ताण्डव मच्चाउन हो, न त कुलो, खानेपानीको धारोको उद्घाटन गर्दै हिड्न ।
हुन त जस्केलोबाट सभासदका रुपमा फुत्त आफ्ना जिल्ला सभापति सभासदका रुपमा उदाउँदा म्याग्दी कांग्रेसले रमितै गरेका हो उबेला – बिजय र्‍याली निकालेर ! र, त्यो रमिताको शिलशिलेवार श्रृङ्खला “माइक काण्ड” हुँदै अगाडि बढेको छ । थाहा छैन, यो रमिताको त्यान्द्रो अझ कति लम्बेतान हुने हो । 
फेसबुकमा, "म्याग्दीमा एमालेको हालीमुहाली भो" भन्दै आफ्ना प्रिय सभासदको यस्तो निकृष्ट ब्यवहोराको बचाऊ गर्दै गरेका मेरा प्रिय कांग्रेसीजनहरुलाई सानो निवेदन के छ भने फेरि पनि केहि वर्षपछि संसदीय निर्वाचन हुने नै छ – त्यतिखेर चुनाउमा अत्याधिक मतले आफ्ना उम्मेदवारलाई जिताएर जिल्लामा “हालीमुहाली” गर्नु छ भने परस्त्री गमन गर्दागर्दै रंगेहात पक्राउ पर्ने तिम्रा नेताहरु, सय कडा पाँचको दरमा ब्याज लिई ठिटाहरुलाई युरोप अमेरिका जान उत्साहित पार्ने तिम्रा नेताहरु, र, यसरी म नै प्रमुख अतिथि हुन पाउनुपर्छ भनी सभा विथोल्ने सभासदहरुलाई बेलैमाथि तह लगाउन सकेनौ भने तिमीहरुको हविगती सधैं त्यस्तै रहने निश्चित छ । अब बिलम्ब नगर, जाग । सच्चाऊ आफ्ना प्रिय नेताहरुलाई, बचाऊ भरत रकाल जस्ता पार्टीका बलिया खाँवाहरुलाई आक्रमण हुनबाट । नत्र त उहि हो – कुरी कुरी कांग्रेस, कुरी कुरी सभासद !

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)