डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू
सादार नमस्कार,
सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं ।
डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण !
अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम्ररी याद छ, मैले जस्तो अपेक्षासाथ प्रश्न गरेको थिएँ – डा. सा’बले सधैं संसदीय ब्यवस्थालाई बाख्राको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा इगीत गर्दै आउनुभएको छ, आज त्यही “मासुपसल” को “खजाञ्ची” का रुपमा आफूलाई पाउँदा “मासुपसल” मा हुने “अवैध मासु”को बेचविखनको हिस्सेदार आफू हुँ जस्तो लाग्दछ कि लाग्दैन ? 
ख्वै, डा. सा’बले मलाई फगत एउटा निम्छरो बबुरो देख्नु भो’ या प्रश्न यहाँलाई उती महत्वपूर्ण लागेन अत्यन्तै पूर्वाग्रहपूर्ण हेराईका साथ यहाँले जवाफ दिनु भो – “ए, यहाँको प्रश्न यहि हो ? उत्तर प्रष्टै छ संसदीय ब्यवस्था हाम्रा लागि स्वीकार्य पद्धति होइन !” त्यसपछि धेरै प्रश्नहरु सोधिए, सोध्नेहरुले कस्तो जवाफ पाए त्यो तिनीहरु नै जानून, तर मैले ? अहँ एकरत्ति चित्तबुझ्दो जवाफ पाइँन । यहाँले त्यस उप्रान्त पनि अनगिन्ती भाषण र बक्तब्यबाजीहरुमा आफूहरुलाई संसदीय ब्यवस्था अमान्य रहने, बताउँदै आउनुभयो र त्यसबिचमा एकपटक त प्रधानमन्त्री पनि बन्नु भो । अर्थात त्यो “मासुपसल”को “खजाञ्ची”, पछि गएर “मालिक” पनि बन्नुभो’ ! सधै सत्ताको लोभ नभएको बताउँदै सत्ताकै लागि र्‍याल चुहाउँदै हुनुहुन्छ । यो बुझिनसक्नुको राजनीति के का लागि गर्दै हुनुहुन्छ डा. सा’ब ?
पहिलो संविधानसभाको अवसान हुँदै गर्दा यहाँकै बहुलठ्ठीपनका कारण त्यो फेरि नब्युँतिने गरी निमोठिएको जगजाहेरै छ । दलहरुबीच सहमति गराउन सक्ने ओहोदामा रहनुभएका यहाँले त्यतिखेर आफ्नो अक्षमताका कारण संविधानसभा विगठन भएको अहिलेसम्म स्वीकार्ने हिम्मत राख्नुभएको छैन ! बरु, त्यसको दोषारोपण अन्य दलका नेताहरुलाई गर्दैमा यहाँले थुप्रै हिउँदहरु खेर फाल्दै आउनुभो’ ! यस्तोबेला, म तीन छक पर्छु कि यहाँकै शब्दको समृद्ध नेपालको सपनालाई साकार पार्नका लागि “बिप्पा सम्झौता” को “जुवा” खेल्ने दुस्साहस गर्ने यहाँले देशलाई निकास दिनका लागि “संविधान” को “जुवा” खेल्न चाँहि किन नसक्नुभएको ? कि जुवा “प्रभु” लाई खुशी पार्नलाई मात्र खेलिन्छ ? कि जुवा जनताजनार्दनका लागि खेलिदैन ? के जवाफ दिनसक्नुहुन्छ महोदय ? 
म सस्तो टिप्पणीहरु गरेर यहाँको मानमर्दन गर्न चाहँदिन किन्तु सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा यहाँको उपस्थिती, र यहाँले सम्प्रेषण गर्ने भित्तेलेखनहरुका बारेमा यो खुलापत्र मार्फत प्रश्न नगरी रहन सकिनँ ! केहिहप्ता पहिले प्रदर्शनमा आएको हिन्दी कथानक चलचित्र “पिके” उत्प्रेरित प्रचण्ड, ओली र सुशिल कोइराला उल्लेखित कार्टून हाँस्यब्यङ्ग्य मानवस्वास्थ्यका लागि हितकर हुने बताउँदै सम्प्रेषण गर्नुभयो । संविधान लेखनमा भएको बिलम्बमा प्रकाशित यो कार्टुनले मानवस्वास्थ्यमा कत्तिको हित गर्दथ्यो त्यो चाँहि म भेउ पाउँदिन तर मलाई हजुर स्वंय संविधान लेखन कार्यमा देखिएको ढिलासुस्तीमा आफ्नो जिम्मेवारीको हिस्सा स्वीकार नगरी “पानी माथिको ओभानो” हुन खोजेको भान भो । त्यस्तै, केहि दिन पहिले एमाले अध्यक्ष के.पी. ओलीको भूमिकालाई विषयबस्तु बनाएर लेखिएको अनलाइन टिप्पणीलाई पनि शेयर गर्नुभो । ती टिप्पणीकारले त अहिलेको राजनीतिको आन्द्राभुँडी बुझ्दैनन् पक्कै, तर हजुरले त बुझ्नुहुन्छ नि डा. सा’ब ? के ओलीले जातिय पहिचानको संघियताले साम्प्रादियक विद्धेष फैलाउँछ भन्दा एकात्मक ब्यवस्था लाद्न खोजेका हुन्छ ? अबको हाम्रो राजनैतिक कार्यदिशा वर्गीय मुक्ति हो कि जातिय ? हजुरको पहिचान के हो डा. सा’ब ? प्रधानमन्त्री छँदा विभिन्न मुलुक घुम्न जानुभएको थियो, विदेशीहरुले यहाँलाई नेपालको प्रधानमन्त्री भनेर स्वागत गरे ? या, ब्राम्हण जातको नेपाली प्रधानमन्त्री ? डा. सा’ब मलाई सोध्न मन लाग्यो – हजुर बाहुन कि नेपाली ?
रुवान्डामा भएको नरसंहार र त्यसको ऐतिहासिकताका बारेमा केहि किताब र चलचत्रिहरु हेरेपछि केहि बर्षपहिले परिचित मेरा एकजना रुवान्डीयन साथी ओश्वाल्ड नियोन्जीमालाई मैले सोधेको थिएँ – तिमी हुतु कि तुत्सी ? केहि मिनेटको मौनतापछि उनले जवाफ लेखेका थिए – “म रुवान्डीयन, ब्रदर!” उनलाई त्यस्तो प्रश्न सोधेकोमा मलाई अहिले पनि ग्लानीबोध भैराखेको छ । तर जान्दिनँ, विश्वमा कतै सफल नमानिएको यहाँहरुको जातिय पहिचान र आत्मनिर्णयसहितको संघियताको रटानले भोली मलाई उनै रुवान्डियन साथी ओश्वाल्डको प्रश्न – तिमी खसआर्य कि आदिबासी जनजाती ? भन्दा मेरो जबाफ कस्तो हुने हो ? वा, त्यो जवाफ दिईरहँदा हजारौं फूलहरु निमोठिने पो हुन कि ? डा. सा’ब मलाई डर लागिरहेछ । के हजुरलाई पनि यस्तै डर लाग्छ ? 
अन्त्यमा, डा. सा’ब यहाँलाई मेरो सविनय अनुरोध छ, इमान्दारीताको राजनीति गर्नुस । याद गर्नुस् समयले मानिसहरुलाई धेरै सिकाईसक्यो । आफूलाई सर्वश्रेष्ठ सोच्ने भूल नगर्नुस् । मनन गर्नुस् – लहडको राजनीतिले तत्काल फाइदा पुर्याउँला तर त्यसले यहाँलाई राजनेता बनाउनेछैन् । धन्यवाद ।
उहि 
नीराजन थापा “शिरीष”
डियाक युनिभर्सिटी, हेलसिन्की, फिनल्याण्ड 

Post a Comment

Popular Posts