युवानेताको मुर्खताका नाममा

साठीको दशकमा जहिले म बागलुङबजारमा एक नीजि बिधालयमा अध्यापनरत थिएँ, उनीसँग आकलझुक्कल भेट मात्र हुन्थ्यो मेरो । भेट प्रायः साहित्यिक गोष्ठीहरूमा हुने गर्थ्यो । तिनताका निकै साहित्यिक सरगर्मी रहन्थ्यो बागलुङमा । कहिले बिधामन्दिर पुस्ताकलय, त कहिले धौलागिरि क्याम्पसको सभाहल । कविहरूको बीचमा एउटा अर्को कवि हुन्थ्यो छिर्केमिर्के गाउँले झोला बोकेको, हल्का बाक्लो दार्ही जुँघा भएको, मसिनो आवाजमा बोल्ने म भन्दा दुर्इचार बर्ष जेठो जस्तो देखिने राजनैतिक चेत भएको कवि । म उसलार्इ गोविन्द दार्इ भन्ने गर्थेँ । उनलार्इ मेरो नाम धेरैपछि मात्र याद भो ।  कारण, उनी मेरो बाबाको पनि साथी रहिछन् । पछि, उनले असिम प्यारसहित सम्बोधन गर्न थालेँ - शिरीष भार्इ । म त्यसै त्यसै पुलकित हुन थालेँ ।

पछिफेर सामिप्यता बढेपछि, मैले उनलार्इ अझ धेरै बुझ्न थालेँ - उनी अञ्चलमै धेरै विधार्थीहरूले पढ्ने धौलागिरि क्याम्पसको स्ववियू सभापति पनि रहेछन् । एक आम युवामा भन्दा कति हो कति राजनैतिक चेत भएका गोविन्द दार्इले बिस्तारै राजनैतिक सफलताको सिंढी चढ्दै आएका छन । एक परिचितका नाताले उनको सफलतामा मलार्इ असिम खुशी पनि लाग्दछ । तर ६० को प्रारम्भमा शुरू भएको हाम्रो सामिप्यताको गाँठो यसै दशकको उत्तरार्धमा आएर केहि खुकुलो बन्न गयो । कारण थियो - मेरो राजनैतिक टिप्पणी ! गलतलार्इ गलत भन्न सक्ने मेरो साहसमा जब उनको राजनैतिक फरमान हुन शुरू भयो । मैले उनलार्इ स्पष्ट शब्दमा भन्नुपर्यो - देश र जनतामा भ्रम छर्ने काम वा बेफाइदा गर्ने प्रयोजनमा मेरै बाले राजनैतिक चालबाजी गरे पनि म त्यसको सख्त विरोध गर्दछु । मलार्इ यहाँको फरमान अस्वीकार्य छ । लगभग डेढ बर्ष पहिले हाम्रो अन्तिम दोहोरो कुराकानी भएको थियो - सामाजिक संजाल फेसबुकमा । त्यो पनि हालै संविधान सभाको उपनिर्वाचनमा बागलुङ १ की एमाले उम्मेदवार मना के.सी. ले सम्प्रेषण गरेको एउटा तस्वीरमा टिप्पणीका रूपमा ..। 

आज तिनै गोविन्द दार्इको एक सन्काहा, बहुलठ्ठी र हास्यापद कृत्यले मलार्इ मेरो जीवनको केहि महत्वपूर्ण समय यो लेख्नमा खर्च गराएको छ । निर्वाचनको क्रममा भोट किन्न पैसाको बाँडेको आरोपमा एक कांग्रेसी युवालार्इ कुटपिट गरेको अभियोगमा पक्राउ परेका केहि आफ्ना साथीहरूलार्इ निशर्त छुटाउनका लागि गोविन्द दार्इले आमरण अनशन बसेको समाचार, तस्वीर र फेसबुकमा भित्तेलेखनका सम्प्रेषणहरू पढेपछि म केहिबेर स्तब्ध भएँ । मलार्इ दुर्इ कुरा नराम्ररी बिझाए- पहिलो त खराबै भएपनि आफ्ना साथी ठीक छन् भन्ने गोविन्द दार्इको बुझार्इ र उनीहरूका लागि आफ्नो प्राणको पनि पर्वाह नगरी उनले चालेको कदम, दोश्रो यो मनोवृतीबाट ग्रसित हाम्रा युवा नेताको निर्देशन गर्ने भविष्यको राजनीति !
जूलार्इ १९०९ मा बेलायतमा महिलाहरूले पनि निर्वाचनमा मत दिन पाउनुपर्छ भनेर प्रदर्शनमा उत्रेका कारण पक्राउ परेकी वालेस डुनलपले शुरू गरेको भोक हडतालको मर्म, भारतको स्वतन्त्रताका लागि तत्कालिन विट्रिस उपनिवेशका विरूद्द महात्मा गान्धी र उनका साथीहरूले गरेको भोक हडताल, अनि हालै मात्र स्वास्थ्य शिक्षालार्इ माफियाकरण हुनबाट बचाउन डा. गोविन्द के.सीले गरेको अनशनको अबमूल्यन हुने गरि किन गोविन्द दार्इले यस्तो कदम उठाए ? के उनलार्इ लागेको छ - राजनीतिको आवरणमा गरिने सबै कृत्यहरू क्षम्य छन् ?  यस्तो निकृष्ट मनोवृति बोकेर हिड्ने हाम्रा कथित युवा नेताहरूबाट हामीले भोलीको नेपालको कस्तो रूपरेखा कोर्दै छौं ? राजनीति गर्ने ब्यक्ति के लहडी, स्वेच्छाचारी हुनु मिल्छ ? नेताले राजनीतिको धर्म, मूल्य र मान्यतालार्इ मनन गर्नुपर्दैन ? कि, भाषण दिएमात्र पुग्ने हो ?
यो लेख्दै गर्दा, उनको स्वास्थ्य स्थिती कमजोर हुँदै गएको समाचार पढेको थिएँ । र, दुःख साथ, एकदमै संवेदनहीन भएर भन्नुपर्ने हुन्छ मैले कि यो हठका कारणले उनको जीवनमा केहि तलमाथि हुन गएमा मलार्इ कुनै सन्देह लाग्ने छैन । किनकी, म कानुनीराजमा विश्वास गर्दछु । मैले सिकेको राजनैतिक मूल्यले मलार्इ - मूर्खहरूका लागि संवेदनशील हुन बाध्य पार्दैन । अतएवः उनी यो पढ्ने स्थितीमा छन् भने मेरो आग्रह यत्ति हो - गोविन्द दार्इ, मुर्खताले कसैको भलो गर्दैन । अनसनको घोर अपमान गर्ने यो नौटंकी बन्द गर्नुस् । 

Post a Comment