म शिशा पुछ्दिन

“पश्चिमतिरको खालीभाग पनि सफा गर्नुपर्ने तिम्रै भागमा पर्ने भो’ हैं ।” – एक भोर काम गर्ने ठाउँको प्यालेस्टाइनी नाइकेले सफाई कोठाको शौचालय सफा गरेर निस्किदै गर्दा भन्यो । काम उति धेरै त होईन तर च्याँठ्ठिदै मैले प्रतिप्रश्न गरेँ – “त्यो बेल्जियन क्याफेको साइडको ?” “अँ, त्यो भुइँतलादेखि माथि टाइगर बारसम्मको ।” फेरि सम्झे झैं गरेर भन्यो – “जम्मा ५ वटा तलाको कुनाकुना परेको भाग न हो, धेरै छैन । त्यहि पनि त्यो भित्ताको काला निला धर्साधर्सी केहि भए त्यो तिम्ले गर्नुपर्दैन, त्यो अर्कैले गर्छ ।” मैले केहि आपत्ति जनाइँन । पोछा लगाएर कनिकनि गर्नुपर्ने होइन । मेसिन चलाउने न हो । त्यो पनि हप्ताको दुईदिन गर्दे हुन्छ । त्यति फोहोर पनि त हुँदैन त्यतातिर । एल्ले थाहा पाउने हैन ! म मनमनै खुशी भएँ । म मुस्कुराएको देखेपछि ऊ पनि मुस्कुरायो । खासमा ऊ नमुस्कुराउने खालको मान्छे नै हैन । मुस्कुराएरै ऊ त्यहाँबाट ओझेल हुन लाग्यो, भन्यो – “सिसाहरु राम्ररी टल्काउनु हैं । मैले त्यसलाई पनि भन्या छु ।” अनि ऊ त्यहाँबाट हिड्यो । म, मेरो ट्रलि गुडाएर सिसा पुछ्न हिडेँ ।
त्यो दिउँसो आफैले टलक्क पारेको शिशाको झ्यालबाट मैले एउटा गज्जपको दृश्य देखेँ । एक जना युवाले हातमा पत्रिकाजस्तो केहि बोकेको थियो, मैले एकटकले उसलाई हेरिरहेँ । उसले मेट्रो स्टेशनमा ओहोरदोहोर गरिरहेका मान्छेहरुतिर त्यो पत्रिकाजस्तो केहि दिन्थ्यो । ती मध्ये धेरैले “पर्दैन, धन्यवाद ।” (एइ कितोस) भन्दै मुन्टो हल्लाउँथे । ती मध्ये अति थोरैले उसले दिएको त्यो पत्रिका लिन्थे । एकैछिन रोकिन्थे, ऊ केहि बुझाउन थाले जस्तो गथ्र्यो । यो दृश्य चलिनैरह्यो । मैले चाखपूर्वक हेरिरहेथेँ । पछाडिबाट कसैले “तेर्भे” (नमस्कार) भन्दै लामो लेघ्रो तान्यो, म पछि फर्किनँ बरु झटपट शिशा पुछ्न लागे, मलाई त्यो पछाडिबाट आउने आवाज आफ्नो नाइकेको जस्तो लाग्यो । मैले नहेरेपछि त्यो आवाज फेरि दोहोरियो – आन्तेक्स (सुन्नुस त) । अब मलाई सुन्नै कर लाग्यो । मैले पछि फर्केर आवाजतिर हेरेँ, त्यहाँ एउटा भद्र मान्छे उभिएको थियो र ऊ मलाई चर्पी कता छ भनेर सोध्न चाहन्थ्यो । मैले बताएपछि त्यो मेरो दृश्यबाट हरायो । मेरो मुटुको चाल फेरि साधारण भयो । काम शुरु गरेको चार महिना नपुगुन्जेल यहाँ धेरैलाई आफ्नो नाईकेसँग डर लाग्छ । काम राम्रो नगरे कामबाटै बिदा गरिदिन्छ त अनि किन डर नलागोस् ? गोर्खा त नेपाल छँदा हो, परदेशिएपछि नेपाली बनिदोरहिछ आफ्नोबाटै !
मैले नाईकेलाई फोन गरेँ । अनि सोधेँ कि के ऊ त्यही सफाइकेन्द्रमैं छ त ? उसले त्यहाँबाट अगाडि नै हिडेको बतायो । मैले एकछिन शिशा पुछ्न छाडेँ । फिनल्याण्डमा को झुटो बोल्छ ? ऊ त यहीँ हुर्के बढेको मान्छे । छ वर्षको हुँदादेखि ऊ यतै छ । अरु त अरु मै झुटो नबोल्ने भएको छु यहाँ आएदेखि । अब ऊ छड्के आउँदैन भन्नेमा ढुक्क भएपछि म तल पत्रिकाजस्तो केहि बाँडिरहेको त्यो युवक छेऊ पुगेँ । १० मिनेटमा उसले धेरै कुरा भन्यो । फिनल्याण्डमा २०० सिटको संसदीय निर्वाचन हुँदै रहिछ । मैले सोधेँ – कहिले हो चुनाव ? मलाई बडो आश्चर्यमा पार्दै उसले भन्यो – “चुनाव भैराखेको छ । विभिन्न कारण, जस्तो स्वास्थ्यसम्बन्धी समस्या वा अरु कुनै जरुरी कारणले १९ तारिख आइतबार फुृर्सद नमिल्नेहरुका लागि दुई सातादेखि मतदानको कार्यक्रम चलिराखेको छ । मान्छेहरुले हुलाकबाट समेत मत पठाउन पाउँछन् । तर मतदान गर्न पाउने अन्तिम दिन चाँहि यहि आइतबार (१९ अप्रिल) हो ।” म ट्वा परिरहेँ ! उसले हातमा लिएको पत्रिकाजस्तो चिजका बारेमा पनि सोधेँ । उसले त्यो आफूले स्वयंसेवा गरिरहेको दलको हेलसिन्की र उसिमा क्षेत्रबाट उम्मेदवार भएकाहरुको उम्मेदवारी नम्बर र उनीहरुको संक्षेप जानकारी समेटिएको प्रकाशन हुन भन्यो । र, मलाई पनि दियो । म उसको पार्टीको त्यो चुनावी प्रकाशन लिएर फेरि शिशा पुछ्न दौडिए । 
दुई बजेपछि मेरो काम गर्ने समय सकियो । आज कामभन्दा अल्छ्याई अलि बढि गरेको अनुभव पनि भो । लोकमानको परिभाषामा यो भष्ट्रचार पक्कै थिएन ! घरमा फर्केपछि मैले उम्मेदवारहरुको विवरण हेरेँ । उसिमा जिल्लाको ३५ सिटमा त्यो युवाको दलको उम्मेदवारको सूची हेरेँ २० देखि ४० को उमेरसमूहका २१ जना, ४१ देखि ५० वर्षका ८ जना र बाँकी ६ जना चाँहि ५१ वर्षमाथिका रहेछन् । प्रत्येक चारवर्षको अप्रिलको तेस्रो आइतबार हुने संसदीय निर्वाचनमा यो पाली त्यो युवाले स्वंयसेवा गरेको दलले १५ सिट जितेको छ । जुन दलको मुख्य एजेन्डा वातावरणीय स्वच्छता हो । 
सबैजसो राजनैतिक दलमा युवाहरुको सक्रिय उपस्थिती रहेको यो विकसित देशको राजनीतिबाट हामीले सिक्नु पर्ने थुप्रै राजनैतिक अभ्यासहरु निसन्देह छन नै । त्यसैले पनि होला, बेलाबेला यहाँको शिशा पुछ्दै गर्दा मलाई अकस्मात देशको राजनीतिको फोहोर पुछ्न मन लाग्ने । अनि मन लाग्ने शिशाजस्तै टलक्क टल्काउन मेरो देशको राजनीति ।
(बेनी साप्ताहिकका लागि)  
Post a Comment

Popular Posts