म शिशा पुछ्दिनँ २

यो नेपालमा विनाशकारी भूकम्प गएको ३ दिन पछिको घटना थियो । 

पश्चिमतिरको काम्पिनतोरी जाने ढोकाको शिशा उति पुछ्नु पर्दैन । सफा नै हुन्छ । तर आज त्यो ढोकामा जानु मन लाग्यो मलाई । म गएँ पनि । अलिअलि औंलाहरुका डोब परेछन् । नीलो फाइबरमा सुमा र्‍यापिड छर्केर एकै फिटिक हात लम्काएपछि ती नामेट भए । शिशा टलक्कै भो । टल्केको शिशाबाट साठी सत्तरी हात पर रेडक्रसको स्वयंसेवी पोशाकमा एउटा फिनिश अधवैशेंलाई हातमा बट्टा समातेर सहयोग उठाईरहेको देखेँ । मोबाइल निकालेर हेरेँ – नौ बज्न तीन मिनेट थियो । अलिकति अगाडि बढेर यसो चिहाएपछि देखेँ, फिनिशमा लेखेको रहिछ – नेपाललाई सहयोग गरौं ! 

हप्ताको मध्य दिन अलि बढी मात्रामा शिशा पुछ्नु पर्छ मलाई । र, नेपाललाई सहयोग गरौं लेखेको बट्टा बोक्ने फिनिशलाई देखेको दिन पनि हप्ताको मध्य दिन नै थियो । त्यो यस बर्षको अठारौं हप्ताको बुधबार थियो । केहि शिशाहरु पुछपाछ पारेपछि मेरो खाना खाने समय भो । आधा घण्टाको खाना खाने अवधीभर मनमा धेरै तर्कनाहरु उठेँ । खाना पनि नरुचे जस्तो भो । र, फेरि एकपल्ट मैले खाँदाखाँदैको भाग पूरा गर्न सकिनँ । पत्नीले प्रेमपूर्वक तयार पारेको आलु र केराउको तरकारी समेत फाल्नु परो । फालेँ । 

दुई बर्ष पहिले फिनिश रेडक्रसमा करिब डेढ महिनाका लागि प्रयोगात्मक कक्षा थियो मेरो । त्यही बेला हो, एउटा कार्यशाला गोष्ठीमा फिनिश रेडक्रसकी एक अधिकारीले बताएको कि फिनल्याण्डका मानिसहरुले रेडक्रसलाई कति धेरै विश्वास गर्छन र कुनै पनि मानवीय सेवाका लागि यसले संचालन गर्ने रकम संकलन अभियानमा कति धेरै रकम संकलन हुन्छ । उनले भनेकी थिईन – जापानमा भूइँचालो जाँदा करिब १ अर्ब ने. रु. संकलन भएको थियो । 

मैले खाँदाखाँदैको खाना फाल्नु परेको यहि तथ्यांक सम्झना भएर हो । विश्वभरबाट विभिन्न तरिकाले संकलन हुने रकमको सदुपयोग वा ब्यवस्थापन गर्न नेपाल सरकारको दक्षता माथि ठूलो प्रश्न उठ्यो मनमा । विदेशीहरु समेत आफ्नो नीजि तर अत्यन्तै ब्यस्त समयतालिकाको बाबजुद सडकमा सहयोग उठाउँदै गर्दा विदेशी भूमिमा रहेको म एक आम नेपाली युवालाई आफ्नै सरकारप्रति विश्वास नलाग्नु, चानचुने कुरो थिएन । यहि असाधारण कुरोले पोलेपछि मलाई त्यो दिन समेत राम्रोसँग शिशा पुछ्न मन लागेन । एक घण्टा पहिले नै नाइकेलाई जानकारी गराएर म घर फर्के । अघिपछि बसको शिशा नियाल्थेँ । सफा भएको÷नभएको समेत हेक्का राख्थेँ । शिशाको झ्यालबाट परपर सम्म दृश्यमा अटाउने सम्मका चिजबिजहरु ध्यानपूर्वक हेर्ने गर्थे । अप्रिल २५ को शनिबारपछि यता झ्यालबाहिर मन हुत्तिन छाडेको छ । र, त्यो बुधबार त झन एउटै बसमा यात्रा गरेको अर्को एकजना नेपाली बन्धुलाई पनि ख्याल गरेनछु । बसबाट झरेपछि उनको आवाजले पो झस्किएँ – “के हो ब्रो हाम्रो त बालै छैन है ?”

बाल छ भनुँ कि छैन भनुँ ? म बिलखबन्दमा परेँ । मैले मुन्टो हल्लाउँदै भनेँ – “त्यस्तो हैन भाई !” उनले उसोभए कस्तो हो त ? भनेर सोधेनन् । र, मलाई पनि याद भएन् मैले मुन्टो उनको बाल नभएको प्रश्नको समर्थन हल्लाएँ वा असमर्थनमा !
भूकम्प प्रकोपित क्षेत्रहरु कहि कतैं राज्यले राहत बोकेर पुगिनसकेको त्यो चौथों दिन मलाई भूकम्प पिडीत लाखौं नेपालीहरुको “बाल” थियो । मलाई मात्र किन ? म जस्ता थुप्रै नेपाली युवाहरुलाई थियो । तर त्यो बुधबारको साँझसम्म म शतप्रतिशत निश्चित थिएँ – कि नेपाल सरकारलाई भूकम्प पिडीत नेपालीहरुको “बाल” छैन् । 

खाना खाने बेलामा बुढीलाई सुटुक्कै ब्यथा कहेँ – ९ करोड यूरोको “यूरो ज्याकपट चिठ्ठा” पार्न सके त ९० प्रतिशत रकम म भूकम्पपिडीतहरुको लागि खर्च गर्ने थिएँ बुढी ।
बुढीले मुस्कुराईन मात्र ।

मैले मनमनै कल्पेँ – मैले नै सोचेका सात अंक पर्ने हो भने त ! फेरि सम्हालिए १ देखि ५० सम्मका पाँचबटा सम्भावित अंकहरु र १ देखि १० सम्मका सम्भावित दुई बोनस अंक गरी सम्भावित सात अंकहरु पर्ने सम्भावनाको हिसाब गर्न त मेरो प्रिय गणित शिक्षक बालकुमार सरलाई नै सोध्नुपर्ने हुन्छ । तर मेरो अनुमानमा त्यस्तो सम्भावना बोकेको सात अंके लहर करोडौं हुन्छन् । र, मैले नै सोचेका सात अंकको लहर पर्ने सम्भावना ? 

अब भने बालकुमार सरले पनि कपाल कन्याउनु पर्ने हुन्छ ।

खाना खाँदै गर्दा ट्वा परिरहेको मलाई बुढीले झस्काइन् – ओ बुढो के भो ?
मैले भनेँ – अब म शिशा पुछ्दिनँ । 

पत्नीले केही भनिनीन् !

शिशा पुछ्दा प्रयोग हुने रसायन

Post a Comment