Skip to main content

म शिशा पुछ्दिनँ - ३

म बस्ने घरबाट रेल बिसौनीतिर जाने बाटोको मध्य भागतिर बालबालिकाहरुको स्याहार गर्ने पाइभा कोटी (बालबालिका दिवा स्याहार गृह) छ । किनमेलका लागि पसलहरुमा जाँदा म त्यहीबाटो भएर हिड्ने गर्छु ।
ग्रिश्मकालीन सन्ध्याहरू यति रोमाञ्चक हुन्छन कि राती एघारबजेसम्म घामको उज्यालो हुन्छ । र, एक साँझको ७ बजेतिर म किनमेलका लागि पसल जादैँ थिएँ । मैले एक फिनिश स्वास्नीमान्छेलाई आफ्ना दुईजना बच्चाहरुसँग त्यही स्याहार गृहको खेलमैदानमा खेलिरहेको देखेँ ।
“आइती...” लामो लेघ्रो तान्दै उनको सानो बच्चा आफ्नी आमालाई केही सोध्दै थियो । उसले “आइती” भनेर आमालाई बोलाएको मात्र मैले बुझेँ । किनकी फिनिशमा “आइती” भनेको आमालाई भनिन्छ भन्ने मैले यहाँ आउँदाको पहिलो महिनातिरै थाहा पाइसकेको थियो । बाँकी उसले के सोध्यो मैले बुझिनँ । उसकी आमाले केहि बताइन । ऊ “कितोस” भन्दै खुरुरु दौडियो । उसले आमालाई धन्यवाद भनेको थियो । तत्क्षण मैले मेरी ७ बर्षीया छोरीलाई याद गरेँ । उनले आफ्नी हजुरआमा (मेरी आमा) लाई आमा, र आफ्नी आमालाई ममी भनेर सम्बोधन गर्ने गरेको सम्झेँ । अनि मैले यो पनि सम्झेँ कि मैले मिठाईहरु लगिदिदा वा वार्षिक तथा त्रैमासिक परीक्षाहरुमा उनी सफल हुँदा “बधाई छ छोरी” भन्दा उनले कस्तरी लेघ्रो तान्दै “थ्याङ्क यू” भन्ने गर्थिन । गर्छिन । आफ्नो भाषालाई प्रेम गर्नुपर्छ भन्ने मान्यता राख्ने म जस्तोले समेत आफ्नो सन्तानलाई मातृभाषा प्रयोगको “मोह” जगाउन असमर्थ छु भने, घरमै अंग्रेजी वार्तालाप गर्ने नेपाली परिवारहरुको हविगती झन के होला ?
यता आएदेखि नै मलाई यी आफ्नो भाषाप्रति सानैदेखि सदभावपूर्ण व्यवहार राख्दछन् भन्ने बुझ्न गार्‍हो भएन । यिनीहरुमा आफ्नो भाषाप्रति विछट्टैको प्रेम छ । यहाँ मात्र हैन यूरोपका जति पनि देश घुमेको छु मैले यस्तै अनुभूति गरेको छु । “विश्व भूमण्डलीकरण” को हवाला दिदै यी भाषाको बलात्कार गर्दैनन् – हामीहरुले जस्तो । र, आफूले बोल्ने प्रत्येक वाक्यमा कम्तिमा एक वा दुई अंग्रेजी शब्दहरु मिसाएर आफ्नो “बौद्दिकता” को भद्दा प्रदर्शनमा यी सायदै विश्वास गर्छन ।
एकपटक नेपाली साथीभाईहरुसँग नेपालीहरुले आफ्नो भाषा प्रयोगमा गर्ने कन्जुस्याइँका बारेमा चर्कै बहस पनि भो ।
अधिकांशको प्रतिनिधी तर्क पेश गर्दै एक मित्रले भने “अंग्रेजी वर्डहरुको यूज हुनु नेचुरल कुरा हो यार ।” इंग्लीशलाई नेपालीमा अंग्रेजी भनिन्छ भन्ने पुनः सम्झिन सकेनन सायद उनले थपे – “इंग्लीश मिडियमबाट पढाई हुने बोर्डिङ स्कुलमा पढियो, त्यहाँ एउटा नेपाली बोल्न पाइन्थेन । ह्याभिट भैसक्यो यस्तरी बोल्नुलाई ।”
अनि मैले सोधेथेँ –“तपाइँका हजुरबा हजुरआमा हुनुहुन्छ ?”
उनले भनेका थिए –“सुड्डो (बाबा) का तिरको हुनुहुन्न । तर ममको ड्याड ममहरु चाँहि हुनुहुन्छ ।”
फेरि मैले सोधेको थिएँ – “मामाघर जाँदा आफ्ना हजुरबा हजुरआमासँग पनि अंग्रेजी मिसाएर बात गर्नुहुन्छ उसो भए ?”
“ह्या त्यो त डिफरेन्ट कुरो भैहाल्यो नि!” अत्यन्तै बेपर्वाह तरिकाले उनले तर्क गरे । त्यसपछि मैले केहि तर्क गर्न चाहिनँ ।
तर त्यसो भन्ने उनीमात्र पनि त थिएनन । कतिपय साथीहरु यस्ता थिए जो आफूलाई अत्यावश्यक परेको बखत शुद्ध नेपालीमा वार्तालाप गर्छन । जस्तो, रेलमा यात्रा गर्दै छन् र उनीहरुसँग टिकट छैन । यस्तो बेलामा कसरी ८० यूरो जरिवानाबाट बच्न सकिन्छ भन्नेमा ती पुरै नेपालीमा वार्ता गर्छन । त्यस्तै बाटोमा हिड्दै छन कुनै राम्री फिनिश केटी आफू नजिकैबाट हिडी र अब उसको नितम्ब, जिउँडाल, रुपरंगको बारेमा कुरा गर्नुपर्यो नी ती अचम्मै लाग्दो ढंगले शुद्द नेपालीमा बोल्छन् ।
यो विदेशी भूमीमा मेरा केही साथीहरुले वर्जित काम गर्दा, वा ब्यक्ति विशेषका बारेमा कुरा गर्दा मात्र गर्ने नेपालीभाषाको शुद्ध प्रयोग बुझिनसक्नुको छ ! अझ दुःखद त यो छ कि – अधिकांश हामीहरु नेपाली भाषाको प्रयोगमा रुची नै राख्दैनौं ।
म केही टेलिभिजनका बहसमूलक कार्यक्रमहरु नछुटाई हेर्ने गर्छु । र, प्रायशः बहसमा सहभागी नेपाल सरकारका जिम्मेवार अधिकारीहरु हुन, दलका नेताहरु वा अरु विभिन्न क्षेत्रका बौद्दिक भनिएका ब्यक्तिहरू उनीहरुले प्रश्नोत्तरको क्रममा दिने जवाफमा अंग्रेजी शब्दहरुको प्रयोगलाई विशेष महत्व दिएको पाउँछु ।
मलाई राम्ररी याद छ, २०७० को आषाढ महिनाको “साझा सबाल” को महिला हिंसामा देखिएको दण्डहिनता सम्बन्धी बहस कार्यक्रममा अतिरिक्त प्रहरी महानिरीक्षक नवराज सिलबालले ७० भन्दा बढी अंग्रेजी शब्दहरुको प्रयोग गरेका छन । यो एउटा प्रतिनिधी उदाहरण मात्र हो ।
अनि म बिलखबन्दमा पर्छु, नेपाली भाषाको प्रयोग र यसको प्रवद्र्धनमा कसले जिम्मेवार हुनुपर्ने हो ?
म सुन्न चाहन्छु हाम्रा नानीबाबुहरु आमालाई “ममी” हैन आमा भन्न सिकुन, “थ्यांक यू” हैन धन्यवाद भन्न जानुन । र, प्रत्येक भोर मेरी छोरी मलाई “शुभप्रभात बाबा !” भनून । र मैले भनुँ – “शुभप्रभात छोरी !”
फेरि लाग्छ यो शिशा पुछ्न छाडेर बरु देश जान्छु । र, टल्काउँछु मेरो भाषाको प्रयोगलाई आफैले टिलिक्क पारेर टल्काएको शिशालाई झैं ।

Post a Comment

Popular posts from this blog

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

डा. गोविन्द केसीका शुरूवात तिरका अनशनहरूमा मेरो पूर्ण समर्थन थियो । मैले पनि आफ्ना सामाजिक संजालका भित्ताहरूमा निकै खरा खरा वाक्यहरूसहित तीनका पुछारमा ह्यासट्याग आइएमवीथडाकेसी लेखेकै हुँ । मलाई लुकाउनुपर्ने केहि छैन । डा. केसीका शुरूवाती मागहरू भनेका चिकित्सा क्षेत्रमा बढ्दो राजनैतिक हस्तक्षेप अनि तीसँगै यस क्षेत्रमा बढ्दै गएका विकृती विसंगतीहरूको अन्त्य हुनुपर्छ भन्नेमा केन्द्रित हुन्थे ।तर डा. केसी जति नै निष्ठावान, त्यागी या देवरूप नै किन नहोस उनको, उनका काँधमा बन्दुक राखेर आफ्ना विभिन्न खालका अभिष्ट पूरा गर्न खोज्नेहरूको एउटा ठूलो जमातबाट उनी घेरिएका छन । यो मिथ्याको आरोप हैन । निसन्देहः डा. केसी अनशन बस्नुपूर्व उनले अनशन बस्न थालिसकेपछि स्वास्थ्य क्षेत्रमा महशुस हुनेगरी परिवर्तन भएकै हुन । त्यसको जस पूरापूर उहाँलाई जान्छ । तर यसको अर्थ यो हैन कि स्वास्थ्य क्षेत्र सुधारका लागि सबै कुरा वहाँले नै भनेजसरी हुनुपर्छ । बिडम्बना यो छ कि वहाँको शुरूको अनशन देखि नै माग पूरा गर्ने बहानामा सरकारले एउटा बेथितीको पृष्ठपोषण गर्ने कामको श्रीगणेश गरेको छ । केसीको एक सुत्रिय माग थियो बरिष्ठताका आ…

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?" मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!" "कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।
यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर…