Skip to main content

म शिशा पुछ्दिनँ ७

रेलभित्र यात्रुहरु पस्दै थिए । म भित्र छिरे लगत्तै एउटी मगन्ते फिनिश बुढीआमा पनि रेलभित्र पसीन । रेलको टिकट बेच्ने मानिसले मलाई पुलुक्क हेर्दै, आँखा झिम्काउँदै ती बुढी आमालाई टिकट छ ? भनेर सोध्यो ! टिकट बेच्नेलाई जाँच्ने अधिकार भएपनि उनीहरुले त्यसो गरेको मैले देखेको थिइँन । उसले मलाई आँखा सन्काएका हिसावले मैले के बुझेँ भने – ऊ सायद रेलका यात्रुहरु ती बुढीआमाको माग्नेकामले आजित नहुन भन्ने चाहन्थ्यो । बुढीआमा टिकटको वैधानिकता जाँच गर्ने यन्त्र भएको ठाउँमा पुगिन, यन्त्रमा यात्रुकार्ड राखेपछि हरियो बत्ति बल्यो । बुढीआमा यथास्थानमा फर्किन । ऊ मुसुक्क हाँस्यो । बुढीआमालाई धन्यवाद भनेर चालककक्षभित्र छिर्यो । म ट्वा परेँ !
माग्नेमान्छे समेत टिकट लिएर यात्रा गर्छ । माग्ने मान्छेलाई पनि सम्मानपूर्वक व्यवहार गरिन्छ । हाम्रो र यिनीहरुको संसार कति फरक ?! नियमका कुरा सबैलाई बरावरी लागू हुन्छ । र, नियमको सम्मान पनि त सबैले नै गर्छन । यहाँका मान्छेहरुको “सभ्य व्यवहार” को उत्कृष्ट नमुनाहरुको दृश्यपान गरेपछि मैले धेरैपटक यसरी नै ट्वा पर्नु परेको छ । 
***
एकदिन जेब्रा पारमा म, एकजना युवती र उनको बच्चासँगै भयौं । रातो बत्ती बले पनि त्यहाँ गाडीहरु ओहोेरदोहोर गरेका थिएनन् । म हतारमा थिइँन, त्यसकारण रोकीराखेको थिएँ, तर ती महिलाले जेब्रापार गरेपछि बस चढ्नुपर्ने रहेछ, बस बिसौनीमा आइसकेको थियो । उनीमा अलिकति हतासा देखेँ । हरियो बत्ति बल्यो, हामीहरुले जेब्रापार गर्नै लाग्दा, उनको बस बिसौनीबाट छुट्यो । मेरो बस आईपुग्न अझै छ मिनेट जति थियो ।  
जेब्रा पार गर्दै गर्दा मैले सोधेँ, 
तपाइँले बस छुटाउनु भो, हो ?
हो त ! थोरै निराश भावमा उनले भनीन ।
बाटो पार गर्नुभएको भए हुन्थ्यो नी त, एउटा गाडी पनि त थिएन ।
बच्चाकै अगाडि त्यस्तो गर्यो भने उसले के सिक्ला ? आफ्नो चारपाँच वर्षे बच्चालाई हेर्दै उनले प्रष्ट पारिन ।
मैले समर्थन जनाउनु नपर्ने कारण देखिन । उनले अझ प्रष्ट्याउँदै भनीन – “अधिकांश फिनिश बाबुआमाहरुले जस्तो सुकै परिस्थिती भएपनि आफूसँग बच्चा भएका बखत स–साना कुरामा ध्यान दिने प्रयत्न गर्दछन् ।” 
“तर मैले धेरैपटक देखेको छु कि स–साना बच्चाबच्चीका अगाडि फिनिस बाबुआमाहरुले वेपर्वाह धुम्रपान गरिरहेका हुन्छन् । उनीहरुले यस्तो किन गरेका ?” यसको बचाउमा उनले केही पनि भनिनन् । “यो बिडम्बनापूर्ण छ ।” उनले थप भनिन् – “तर सरकारले १८ वर्ष मुनिकालाई सूर्ति वा अल्कोहलजन्य पदार्थ किन्न र पिउन प्रतिबन्ध लगाएको छ । यसकारण पनि फिनिश बाबुआमाहरुले त्यसो गरेको हुनसक्दछन् ।” उनको यो तर्कले मेरो जिज्ञासालाई पूर्णत सम्बोधन नगरेकाले मैले उनको मत जान्न चाहेँ – “धुम्रपान गर्नेलाई भन्दा उसको वरिपरी रहेका व्यक्तिहरुलाई बढ्ता असर पर्ने हिसाबले पनि के तपाइँ सरकारले आमाबाबुहरुलाई आफ्ना बालबच्चाका अगाडि धुम्रपान गर्न प्रतिबन्ध लगाओस् भन्ने चाहनुहुन्न ?”
“म त सार्वजनिक स्थलमा हुने धुम्रपानलाई समेत प्रतिबन्ध लगाओस् भन्ने चाहन्छु ।” अलिकति मुस्कुराउँदै उनले भनिन ।
“भनेपछि तपाइँ धुम्रपान गर्नुहुन्न ?” मैले जिस्काएको भावमा सोधेँ ।
“म मदिरापान पनि गर्दिन !” उनको बोनस जवाफ आयो ।
“म पनि गर्दिन ।” मैले भनेँ ।
“त्यो हातको के ?” उनले मेरो हातमा भएको वियरको बट्टा औल्याउँदै सोधीन ।
“म गर्मी याममा कहिलेकाही एक वा दुई क्यान पिउँछु । त्यस्तै आधा लिटर भन्दा अलिकति बढी !” झुटको ढाकछोप गर्ने असफल प्रयास थियो मेरो । 
उनी चुप बसिन् । 
मैले प्रसंग बदले । बच्चातिर हेर्दै मैले उनलाई सोधेँ – “बाबुको बुबा ख्वै त ?”
“म एकल आमा (सिंगल मदर) हो । हामी पाँच वर्षजति सम्बन्धमा रह्यौं । बच्चा भैसकेपछि हाम्रो कुरो मिल्न छाड्यो । अनि हामी छुट्टियौं ।” उनले भनिन् ।
“मेरो मुर्ख प्रश्नका लागि मलाई माफ गर्नुस हैं !” विनीतभावमा मैले भनेँ ।
“हैन, केहि छैन ।” सहजतापूर्वक उनको जवाफ आयो ।
“कहाँबाट आउनुभएको ?” उनको प्रश्न थियो ।
मैले जवाफमा भनेँ – “नेपालबाट ।”
“नेपालबाट ?” आश्चर्यतापूर्वक उनले प्रश्न गरिनँ ।
“हजुर ।”
“मेरो पूर्वप्रेमी पनि नेपालको त हो नी ।” बच्चाको कपाल सुम्सुमाउँदै भनिन् । 
“या के गनुहोन्छ ?” नेपाली बोल्ने प्रयास गर्दै सोधीन ।
“म बिद्यार्थी हुँ ।” मैले जवाफ फर्काए ।
मैले केही पर म चढ्ने बस आउँदै गरेको देखेँ । मैले भने – “ल मेरो बस आयो ।”
“हामी साथी बन्न सक्छौं नी ?” उनले साथी बन्ने प्रस्ताव राखीन ।
मैले सहमती जनाएँ । मोबाइल नम्बर आदानप्रदान भयो । बसमा चढेपछि मैले उनको नम्बरमा एसएमएस पठाएँ – हाउस्का तुतुस्तुवा (तपाइँलाई भेटेर खुशी लाग्यो) !
उनले पनि खुशी भएको स्माइली :) पठाईन । 
क्रमशः 

Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…