म पुस्तक पढ्दिनँ

पाँच वर्षपहिले नर्वेमा छँदा, एक बेलायती साथीले मुहारप्रिस्थिका (फेसबुक) मा सयवटा कितावहरुको सूची प्रस्तुत गरेपछि म निकै बेर सोचमग्न बने । अंग्रेजी साहित्यका पुस्तकहरुको सूचीमा दिइएका मध्य तीनवटा पुस्तकहरुका समीक्षा सम्म मैले पढेको रहिछु । एनीमल फार्म, ग्रेट ग्याट्सबी, वथेलो ! तर उमेरले म भन्दा ३ वर्ष कान्छी उनले एक सय मध्य सत्ताइसवटा पुस्तकहरू अध्ययन गरेकी रहिछन् । र, बाँकी त्रिहत्तर वटा पुस्तकहरू क्रमशः पढ्दै जानेमा आफू विश्वस्त रहेको पनि उल्लेख गरेकी थिईन । 
कितावसम्बन्धी उनको सम्प्रेषण पढेपछि मैले पनि नेपाली साहित्यका दशवटा पुस्तकहरुको सूची बनाएर मुहारप्रिस्थिकामा राखेको थिएँ । तीन दिनसम्म मेरो सम्प्रेषण बार्‍ह जनाले मन पारेको, र एकजना मित्रले चाँहि सूचीमा रहेको तीन वटा पुस्तकहरु अध्ययन गरेको टिप्पणी राखे । बाल्यकालमा पढिसकेको तर कथावस्तु बिर्सीसकेको एक कृति पनि मैले त्यो सूचीमा रोखको थिएँ । जुन कृति पढिसकेको भनेर टिप्पणीकर्ता मित्रले गरेका थिए । त्यसकारण, मैले मित्रवरको टिप्पणीमा विश्वेश्वरप्रसाद कोइरालाको “मोदिआइन” कृतिका बारेमा उनको धारणा जान्न चाहेँ । उनले भने – “खासै त्यस्तो विशेष छैन । अब उहाँको सृजना भएकाले अलिअलि यौन मनोविज्ञान हुने नै भो, नत्र मोदि भन्ने पात्र श्रीमानसँग झगडा गरेर माईती जान्छे, पछि फेरि यौनको तलतल, पारिवारीक दायित्व सम्झेर घर फर्किन्छे । कथा यहि हो !” मलाई मोदिआइनमा कोही मोदी पात्र भएजस्तो याद भएन । मलाई त मोदिआइन नै स्वयं मुख्य पात्र हुन भन्ने लागिरहेथ्यो । तैपनि मित्रलाई यो भेदका बारेमा जान्नलाई केहि सोधिन । 
तर जब मोदिआइन दोश्रो पटक मेरो हातमा पर्‍यो, कृतिलाई गम्भिरतापूर्वक बुझ्ने चेतना एक हिसावले उन्नत नै बनिसकेको अवस्था थियो । धर्म र शास्त्रीय मान्यतामा गहिरो बुझाई भएका विश्वेश्वरप्रसादको कृति मोदिआइन भौतिक आकारले जति सानो र तुच्छ देखिन्छ, यसले प्रसार गर्ने ज्ञान र कथाको केन्द्रिय भाव ती मित्रवरको झुटो अझै तुच्छ टिप्पणीभन्दा हजार गुणा वजनदार पक्कै थियो । लघु आकारको यो उपन्यासको कथा नै मुख्य पात्र मोदिआइनमा केन्द्रित छ । प्रेमदेखि युद्धका पाटाहरु अटाएको कृतिमा यौनमनोविज्ञान मात्र हैन मनोविज्ञानका अनेकन आयामहरु छन । 
यतातिर म रेलमा, बसमा वा हवाइजहाजमा मान्छेहरु पुस्तक पढ्न ब्यस्त भएको देख्छु । उनीहरुले पढिरहँदा मलाई कुत्कुताउँछ । कहिलेकाही म पनि आफूसँग भएका पुस्तकहरु मध्ये कुनै एउटा यात्रा गर्दा बोक्ने गर्छु । पढ्न शुरु पनि गर्छु । तर कोही परिचित मानिस कतै देखिहाले, किताव लुकाउँछु र उतैतिर कुद्छु । यहि बानीका कारण एक वर्ष पहिले किनेको एउटा किताबको एक चौथाई पनि मैले पढ्न भ्याएको छैन । किताब लुकाउनुको पनि कारण छ । मलाई मान्छेहरुले किताब पढेकै कारण “शान झारेको” नदेखुन भन्नेमा म सचेत हुन खोज्छु । तर कहिले काही मनमा यस्तो पनि लाग्छ, के आफूलाई मन परेको पुस्तक आफूनो फुर्सदको समयमा पढ्नु पनि शानको कुरो हुन्छ र ? अरुलाई प्रदर्शन गरेको हुन्छ र ? हुँदैन नी हैं !? तर हामीले यात्रामा कसैले पुस्तक पढ्दै गरेको देख्यौं भने एकपटक अवश्य सोच्छौं – उसले पढेर हामीलाई देखाएको !
गलत सूचना प्रवाह गर्नेहरुदेखि मलाइ एकदमै रिस उठेर आउँछ । जस्तै ती मित्रले जस्तो पढ्दै नपढेको कृतिमा हावादारी विवेचना गर्ने काम । नपढेको वा थाहा नभएको कुरामा त थाहा छैन वा पढेको छैन भने पनि भैहाल्छ नी । तर हामी मध्ये केहीलाई यस्तो लाग्छ कि अहिले झुटो बोलेर कसैको अगाडि सम्मानयोग्य हुन सकिन्छ भने किन झुटो नबोल्नु ? यस्तो सन्दर्भमा प्रायशः म पश्चिमेलीहरु निकै इमान्दार अनि विश्वसनीय भएको पाउँछु । एकपटक एक फिनिश साथीको घरमा रुवान्डाको नरसंहार सम्बन्धी एउटा किताब देखेँ । “ब्रोकन मेमोरीः अ स्टोरी अफ रूवान्डा” ! मैले उनलाई त्यो पुस्तकका बारेमा सोधेँ । उनले किताब पढ्न नभ्याई सकेको कुरा बताए । सायद उनले पढेको छु भनेर सामन्यतयाः रुवान्डाको नरसंहारका बारेमा एकदुई कुरा भनेका भए मैले उनको कुरा अविश्वास गर्नुमा कुनै कारण रहने थिएन । एकछिनका लागि झुटो बोलेर पछि आफ्नो विश्वसनीयता गुमाउनुभन्दा त्यसो नगर्नु उनलाई वेश लागेको हुनुपर्छ । 
पुस्तक पढ्ने बानीले हामीलाई तार्किक बन्न मद्यत गर्छ भनेर पढ्ने हैन, खासमा पुस्तकहरुले हामीलाई मूर्ख हुनबाट जोगाइराखेका हुन्छन् । फुर्सदका समयमा बेकामका चिया गफमा अल्झिनुभन्दा, वा चोके गफहरुमा मस्तिनु भन्दा, एउटा किताव पढौं । त्यसले जीवनका अनेकन् आयामहरुलाई बुझ्न मद्यत गरोस् । यदि आफूले पढ्न खोजेको किताव अझै लेखिएको छैन भने १९९३ को साहित्यतर्फको नोबेल पुरस्कार विजेता अमेरिकी लेखिका टोनी मोर्रिसनले भने झैं “आफैले त्यो लेख्नुपर्छ !” को मर्मलाई पनि बुझिदिओं । 
पुस्तकका विषयमा कुरा गर्दैगर्दा समकालिन विश्व साहित्यका एक हस्ती, जापानी लेखक हारुकी मुराकामीको एक भनाई उद्दरित गर्नु मन लाग्छ । उहाँ भन्नुहुन्छ – "यदि तिमी अरुले पढेजस्तै किताब मात्र पढ्छौं भने तिमी पनि त्यही मात्रै सोच्नेछौ जुन उनीहरुको जस्तै हुनेछ ।” हाम्रो सोचाइको दायरा फगत चिया गफहरुले वा चोके गफहरुले विस्फारित हुन सक्दैन । सोचाइको दायरा बढाउनलाई पनि हामीले पुस्तकहरु अध्ययन गर्ने बानीको विकास गर्नु जरुरी छ ।

Post a Comment

Popular Posts