म "खेल" खेल्दिनँ

आयरल्याण्ड (स्कटल्याण्डमा समेत) मा आयोजित २० ओभरको विश्वकप छनोट प्रतियोगितामा अपेक्षित खेल पस्कन सकेको भए हाम्रो राष्ट्रिय क्रिकेट टोलीले अर्को बर्ष दक्षिणी छिमेकी राष्ट्र भारतमा विश्वकप खेल्ने अवसर प्राप्त गर्ने थियो । तर छनोटचरणका ६ खेल मध्ये वर्षाका कारण स्थगित एक खेल बाहेक बाँकी पाँच मध्ये चार खेलमा नेपालको हार लज्जास्पद त थियो नै, क्रिकेट प्रशंसकका नाताले मलाई हाम्रो टोलीले जितेको एक खेलमा समेत तारिफ योग्य प्रदर्शन गरेजस्तो लागेन । खेल हो, हारजित हुन्छ । यसले मलाई उती दुखित पनि बनाएन । तर अभ्यासखेलदेखि लयमा नफर्केको टोलीले छनोट खेलमा पनि तारिफयोग्य खेल पस्कन असमर्थ रह्यो । 
कुरो क्रिकेट खेलको मात्र पनि रहेन, अरु खेलहरुमा पनि हामीले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनौ । फिफाको विश्व फुटबलको वरियताक्रममा नेपाली राष्ट्रिय टोली निरन्तर ओरालो लाग्ने क्रम कायमै छ । भलिबल, बास्केटबल र कबड्डीमा पनि नेपाली राष्ट्रिय टोलीले कहिल्यै पनि सुखद नतिजा हासिल गरेनन । कुनै बेला हामी दक्षिण एशियाली क्षेत्रमा मार्शल आर्टसमा तारिफयोग्य प्रदर्शन गर्दथ्यौं, तथापी पछिल्ला दिनहरुमा त्यसमा पनि हाम्रो प्रस्तुती चिन्ताजनक देखिन्छ । तर यस्तो हुनुका कारणहरुका सम्बन्धमा ठोस अध्ययन पनि गर्ने गर्दैनौं । 
खेलकुद क्षेत्रको अधोगतिका बारेमा टिप्पणी गर्नुपर्यो भने हामी मध्ये अधिकांशलाई सजिलो हुने प्रतिक्रिया के हो भने यस क्षेत्रमा राजनैतिक हस्तक्षेप छ । वा, नयाँ प्रतिभाले ठाउँ पाउँदैन । यी दुवैथरी प्रतिक्रियाहरु महत्वपूर्ण टिप्पणी हुन । किन्तु, खेलकुद क्षेत्रमा उल्लेख्य प्रगति हुन नसक्नुको मुख्य कारण हामी आफै हौं भन्ने हामीले नकार्न मिल्दैन । हाम्रो परिवार, हाम्रा बुबाआमा र हाम्रो समाज । 
प्रत्येक बाबुआमाको सपना आफ्ना छोराछोरी डाक्टर, पाइलट, इन्जिनियर, अभिवक्ता वा लेखापरिक्षक बनुन भन्ने नै छ । कति त्यस्ता बाबाआमा हाम्रा समाजमा होलान् जसले आफ्ना बालबच्चाले अतिरिक्त क्रियाकलापका क्षेत्रमा राम्रो गरुन भन्ने चाहन्छन् ? फुर्सदको समयमा एकछिन खेल्न निस्किने बालबच्चालाइ समेत हामी अनेकथरी घरायसी काममा अल्झाउन चाहन्छौं । हामीमा एउटा गहिरो विश्वास के छ भने खेलेर कसैको पनि प्रगति हुँदैन । छैन । 
खेलकुदको प्रसंग आउँदासाथ मलाई मेरै गाउँको बुढो चौरको बेहिसाव याद आउँछ । रत्नेचौरमा लमतन्न चौरमा फुटबलको पोस्ट त गाडिएका छन् तर खेल्ने किशोरकिशोरीहरु उत्साहित देखिदैन । खेल्न पुगेका अधिकांशलाई घरको काम गर्नेै पर्ने बाध्यता हुन्छ । त्यसकारण, ती दत्तचित्त भएर खेल्न पनि पाउँदैनन् । न त खेल्न सिकाउने कोही हुन्छ न त खेलकुदका पर्याप्त साधन नै हुन्छन् । जे जे लिएर ती त्यहाँ खेल्न पुग्छन । सबैजना रमाईलोका लागि खेल्न पुग्छन । एकजनाको पनि सपना हुँदैन । जब सपनाविहिन खेलाडी जबरजस्ती रमाइलाका लागि मात्र खेल्छ, उसँग प्रतिभाको विकास हुँदैन । ऊ कसरी ब्यवसायिक बन्न पुग्छ ? 
रमाईलोका लागि खेल्न शुरु गरेकाहरु येनकेन राष्ट्रिय टोलीमा पर्छन । खेल्ने प्रतिभा भएकाहरुको पहुँच पुग्दैन, वा खेल्दाखेल्दै ती खेल्नै छाडिदिन्छन् । अधिकांश उनीहरुलाई जिवीकोपार्जनका लागि क्रिकेटको पीच वा फुटबलको मैदानभन्दा अरबको मरुभूमी किफायती हुन्छ । उनीहरु त्यतै जान लालयित हुन्छन् । जुन देशमा खेलेर भविष्य सुरक्षित गर्न सकिदैन त्यहाँ खेल्नुको पनि औचित्य रहने कुरो भएन । खेलाडीहरुलाई पैसाको पछाडी कुद्नुपर्ने अवस्था आएपछि त्यो भन्दा ठूलो विडम्बना अर्को के होला ? हो, हामी त्यही बिडम्बनायुक्त समयमा बाँचिरहेछौं ।
एउटा जमाना थियो यहि खेलकुद क्षेत्रमा (नजाने अहिले पनि होला), जतिखेर यस क्षेत्रका दलालहरु आफ्ना बन्धुबान्धवहरुलाई “खेलाडी” बनाएर विदेश पैठार गर्थे । असली खेलाडीहरु त्रिभुवन विमानस्थलबाट घर फर्कन्थे । ती लज्जा, क्रोध र हिनताको असह्य पीडामा जिउँदै मर्थे । ती नक्कली फुटबल खेलाडीहरु, कुस्तीबाजहरु, पौडीबाजहरु वा करातेका डनहरु जापान, कोरीया, हंगकंग, अमेरिका र युरोपका कतिपय देशहरुमा नेपाली शरणार्थीका रुपमा उतैको नागरिक भैसके हामीसँग कुनै हिसाव बाँकी रहेन अब । खासमा राजनीतिको आडमा खेलकुदलाई व्यवसायिक नभई “वैदेशिक रोजगारको व्यापार” बनाउने “दलालहरु” का कारण नेपाली खेलकुद यसरी माथि उठ्नै नसक्ने गरी धसारिन पुगेको हो । 
समग्र नेपाली खेलकुद क्षेत्रको उज्ज्वल भविष्यका लागि आम नेपाली अभिभावकहरु आश्वस्त हुनु जरुरी छ कि खेलमा लगाव भएका आफ्ना नानीबाबुहरुलाई आज खेल्न प्रोत्साहित गर्दा उनीहरुको आर्थिक भविष्य समेत असुरक्षित रहनेछैन । र, आम अभिभावकरु आस्वस्त हुन सक्ने सरकारसँग दिर्धकालीन सोंच, योजना र कार्यान्वयन गर्ने इमान्दारीता हुनु महत्वपूर्ण छ । नत्र नेपाली खेलकुदको अँध्यारो भविष्यतर्फको यात्राको शिलशिला चलिरहनेछन । 

Post a Comment

Popular Posts