गलतलाई म गलत भन्छु, म गलत भए मलाई सच्चाऊ

हामीले अर्को एउटा उत्कृष्टता हासिल गरेछौं । धेरै मानिसहरूले यसलाई अभूतपूर्व संयोगका रूपमा ब्याख्या पनि गरेँ । केहि बुझक्कीहरूले भने - अब नेपालले फड्को मार्यौ । अनि केहिले सुझाए - यसमा पृथक टिप्पणी गरिनु नकारात्मकताको अर्को एउटा पोयो फुकाउनु हो । मैले फेरि पनि भने - कोही कसैको केही थियो भनेर सहानुभूतिपूर्वक उसलाई कुनै पदमा निर्वाचित गराउनु, ल्याइनु प्रजातान्त्रिक चरित्र पक्कै थिएन । होईन । र, यो लोकतान्त्रिक मुलुकको एउटा यस्तो दुर्भाग्य बनेको छ कि केही मानिसहरू कसैको कोही भएकै कारणले सांसद बनाइएका छन्, मन्त्री बनाईए र पछिल्लो परिघटना हामीले देख्यौं - (जननेता) कुनै पार्टीका संस्थापक भएकै नाताले बिध्या भण्डारी राष्ट्रपति पदमा निर्वाचित पनि हुनुभो ।

भर्खरै जारी संविधानको संरक्षकत्व गर्ने देशको प्रमुख ओहोदामा एक महिलाको उदयले मलाई पनि प्रफुल्ल पार्नु पर्ने थियो । म पनि भक्कानिनुपर्ने थियो - भावविह्वल हुनुपर्ने थियो । हर्षोल्लास् मनाउनु पर्ने थियो । तर अहँ यो विकसित घटनाक्रमले मलाई कुनै हिसाबले गौरभान्वित बनाउन सकेको छैन । म पूर्वाग्रही भएको पनि हैन, यस्तो फरक विचार आउनुका पछाडी केही आधारहरू छन् । म त्यसै बहकिएको हैन ।

आठ वर्षको थिएँ म जतिखेर मदन भण्डारीको हत्या भएको थियो । चार कक्षामा पढ्थे । सबै नबुझे पनि केही बुझेको थिएँ मैले । आफ्नो बुबा संलग्न दलको सर्वोच्च नेताको रहस्यमय हत्याले मलाई भावुक नबनाउने कुरै थिएन । मलाई याद छ, धेरै दिन बुबा घर फर्किनुभएन । सुनिन्थ्यो - विरोधस्वरूप सदरमुकाममा बा र उहाँका साथीहरू मशाल जुलुश बाल्दै हुनुहुन्थ्यो । कसैको पुत्ला जलाउँदै हुनुहुन्थ्यो । निष्पक्ष छानबिनको माग गर्दै एक स्वतन्त्र छानबिन आयोगको माग पनि गरियो । सरकारले गठन गरेको आयोगमा चित्त नबुझेपछि पार्टीकै छानबिन आयोग पनि गठन गरियो । हात्ति आयो! हात्ति आयो! फुस्स!! भने झैं त्यो आयोगले पनि केहि माखो मारेन । बरू मदनको मृत्युले बिध्या र पार्टीको राजनीतिलाई अपुरणीय क्षति हैन अतुलनिय मुनाफा दियो । संसदीय निर्वाचनमा बिध्याले निवर्तमान प्रधानमन्त्रीलाई चुनाव हराईन । त्यो सदाशयताको मतले उनको राजनीतिको गोरेटो अझ फराकिलो हुँदै गयो । अतः साइकलमा सवार गर्ने स्वर्गीय पतिकी धर्मपत्नीलाई यस्तो असीम सौभाग्य जुर्यो - कि उनी अब करोडौं पर्ने कारगेडमा देशको संरक्षकका नाताले सवार हुनेछिन । ठीक यहि बेला, मलाई घोचिरहने विषय के हो भने पटक पटक राज्य संचालनको प्रमुख हिस्सेदार बनेको पार्टी र स्वंय पनि सार्वजनिक लाभको पद धारण गर्ने अबसर प्राप्त गरेकी रहस्मयी हत्याकाण्डमा मारिएका ब्यक्तिकी पत्नीका नाताले निष्पक्ष छानबीन र त्रुटीरहित प्रतिवेदनको माग उनले किन बुलन्द पारिनन् ? उनी कुन त्यस्तो परिबन्धमा परिन जसले उनको आवाज पछिल्लो दुईदशकदेखि आफैभित्र गुमनाम छ ? म स्तब्धः छु ।

यसको अलावा, पछिल्ला केहि वर्षदेखि एक जिम्मेवार दलको जिम्मेवार राजनैतिक नेतृत्वमा रहँदा उनीले आफूमा नेतृत्वदायी खुबीको कति विकास गरिन भन्ने पनि महत्वपूंर्ण हुन्छ । एउटा पछिल्लो बहस कार्यक्रम साझा सवालमा प्रस्तुत हुँदा उनले अपनाएको शैली एक सचेत ब्यक्तिका नाताले मेरा लागि त्यो कतै शोभनीय र ग्राह्य थिएन । प्रश्नकर्ताको प्रश्नलाई सुन्दै नसुनी एकोहोरो आफ्नै मात्र विचार लादिरहने उनको उक्त शैलीले मलाई निकै नै दुखित तुल्याएको थियो । छलफलकै क्रममा उनी थुप्रैपटक तर्कहरूबाट बाहिर निस्किनु पर्ने अवस्थाहरू सृजना भए । तर्कको सहि उठान र अवतरण गर्न नसक्दा उनको तात्कालिक मनोविज्ञान निकै असन्तुलित र झिंझ्याँटलाग्दो प्रतित हुन्थ्यो । नेतृका हिसाबले विकसित घटनाक्रम र जनताका आवश्यकताको उपयुक्त बोध गर्न नसक्नु के त्यो उनको महत्वपूर्ण कमजोरी होईन ?


महिला अधिकार र स्वतन्त्रताका विषयमा भण्डारीलाई परम्परागत ढाँचाको विचारशैलीको पक्षपोषकका रूपमा पनि चित्रित गरिएको छ, र यो निराधार आरोप मात्र पनि होईन । विभिन्न सार्वजनिक बहसहरूमा उनका प्रस्तुतीहरूमा यस्तो छनक पाइने गरिन्छ । विश्व भूमण्डलीकरणसँगै विषय, विचार र सोंचहरूमा महत्वपूर्ण फेरबदल भएका छन् । र, ती निकै ओजपूर्ण, संवेदनशील र पृथकरूपमा उन्नत हुँदै आएका छन् । मलाई लाग्छ, महिला भएका नाताले हाम्रा नवनिर्वाचित राष्ट्रपति यस विषयमा सजग हुने नै छिन् ।

अन्त्यमा, राष्ट्रपति पदमा एक जना कुनै पात्र निर्वाचित हुनुले हामीमा पैदा गर्ने उत्साहको ज्वरोले देश र जनताको जीवनमा खास प्राण कहिल्यै पनि संचार गर्दैन । त्यसो हुन्थ्यो त ऐतिहासिक रूपले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति एक फरक सम्प्रदाय (यस अर्थमा कि अभिजात वर्ग वा सम्प्रदायबाहिर) को निर्वाचित हुँदा पनि शासक वर्ग र आम जनसमुदायको सोचमा तात्विक भिन्नता ल्याउन नसक्नुका कारण म निश्चित छु कि देशले एक महिलालाई राष्ट्रपतिका रूपमा पाउँदैमा यसले कुनै तात्विक भिन्नता ल्याउने छैन । हामी त्यतिन्जेलसम्म दुई चिरामा यसैगरी विभाजित हुनेछौं जहिलेसम्म हामीले साँचो रूपमा रूपान्तरणको प्रयासको थालनी गर्ने छैनौं । जहिलेसम्म शक्ति, पैसा र स्रोतसम्पन्नहरूको जयजयकारमा आफ्ना उर्जाशिल समय खेर फालिरहनेछौं । म यत्ति भन्छु - फुरूक्क हैन जिम्मेवार बनौं, अन्धभक्त हैन, सचेतक बनौं । अबुझ, अनदेखा नबनौं, रूपचन्द्र विष्टले भने झैं - थाहा पाऔ भातमाराहरू !


Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)