(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'

'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 

तर आज?

आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरूसँग साक्षात्कार गरी केहि सिक्ने अवसर दिएको छ भन्ने मेरो ठनार्इ थियो, तर मेरो बुझार्इ आंशिक पुष्टार्इ मात्र हुन सक्ने स्थितीमा रहेछ । हामीहरू धेरैलार्इ के लागेछ भने, हाम्रा लहैलहैहरू, हाम्रा एकपक्षीय बुझार्इहरू मात्र ठीक र सहि छन । 

२० वर्षपछि, सात मध्ये तीनवटा नाम विहीन प्रदेशहरूमा पहिलो चरणको निर्वाचन सम्पन्न भर्इ नतिजाहरू आउने क्रम रहँदै गर्दा, मैले पनि ब्यग्रताका साथ मेरो नगरपालिकाको निर्वाचन परिणामलार्इ कुरिरहेथेँ । विगत १४ बर्षदेखि राजनीतिमा सापेक्ष स्वतन्त्र परिचय बनाउन प्रयासरत मलार्इ यो निर्वाचनको नतिजापश्चात: जिल्लाका तथाकथित बुद्दिजीवी, युवा र समाजसेवीहरूका तारन्तारका सामाजिक सम्प्रेषणले तटस्थ रूपमा रहनै दिएनन । म उनीहरूका सामु लाचार छायाँ बन्ने स्थिती आएपछि मैले अभिब्यक्त हुन बाध्य ठानेँ । भएँ । र, हुँदैछु पनि ।

अचेल सामाजिक सञ्जाल विशेषतः फेसबुक हाम्रा लागि शिघ्र प्रतिक्रिया या विचार सम्प्रेषणका लागि एउटा गतिलो मञ्च बनेको छ । परन्तु, निर्वाचन शुरू हुनूपूर्व र मतदान भैसकेर गणना हुँदै मत परिणाम आउने बेलासम्म हामीले फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोग भन्दा बढी दुरूपयोग गर्यौ । सचेत युवादेखि दुर्इबिस उमेर खार्इसकेका सामाजिक पहिचान बनाएका ब्यक्तित्वहरू नै फेसबुकमा यति नांगो रूपमा प्रस्तुत भएकी फरक विचार र आस्थाका नेता, कार्यकर्ताहरूको उल्लिबिल्ली गर्ने मात्र नभै नानाथरीका ब्लगहरूमा प्रकाशित अत्यन्तै भ्रामक, आधारहिन अनलार्इन समाचार, टिप्पणीहरू सम्प्रेषण गर्दै 'बल्ल खार्इस'को भावमा प्रस्तुत भयौं । आफूलार्इ सचेत, बौद्दिक र वस्तुनिष्ठ विश्लेषण गर्ने क्षमता राख्दछु भनेर विश्वास गर्ने साथै समाजले पनि असल चरित्रका रूपमा स्वीकार गरिसकेका उर्जाशिल, प्रेरक ब्यक्तित्वहरूबाट यो हदसम्म निकृष्टता मेरा लागि अकल्पनीय मात्र नभै अस्वीकार्य थियो, छ र रहनेछ । 

तटस्थ भएर आत्मसाक्षी राखी चुनावी नतिजाको विश्लेषण गर्ने हो भने, बेनी नगरको निर्वाचन परिणाम एक वा दुर्इपार्टीको विजयसँग गाँसिएको विषय होर्इन । हुँदै होर्इन । तर यसलार्इ यसरी नै परिभाषित गर्ने धृष्टता गरिदैछ ताकी १७ बर्ष पहिले मैले लेखेको कविताको शिर्षकमा जस्तो बेनी नरहोस् । मानौं, यसलार्इ शान्त रहने छुट नै छैन । 

निष्ठावान ब्यक्तित्वको छवि कायम गरेका ब्यक्तित्वलार्इ स्वंयको मात्र नभै अर्को एक राजनैतिक शक्तिको इमान्दार साथ र समर्थन प्राप्त भएर मात्र वहाँलार्इ आज प्रथम नगरपिताका रूपमा पदस्थापन हुने सौभाग्य जुरेको हो । जुन सौभाग्य उस्तै साथ र समर्थनको सम्झौता गरेर उपमेयरसहित चुनावी मैदानमा उत्रेको दललार्इ प्राप्त भएन । बिडम्बना त्यो भन्दा बढि यो रह्यो कि आफ्नो दलले एक्लै चुनावमा लडेर त्यो मुकाम हासिल गरेको झैं बिजयको उन्माद मनाउँदै गर्दा कतिपय होनहार युवाहरूलार्इ लाग्यो, अब नगरपालिकाको बागडोर हाम्रै हो । हामी नै सर्वेसर्वा हो । हामीले चाहेकै हिसाबले नगर चल्नेछ । मतगणनाका अधिकांश समय चुपचाप, उद्विग्न अनि पूरै सन्नाटमय भएको जमात मेयरको ताजसँगै जर्याकजुरूक भएर अकल्पनिय विजयको अस्वभाविक बिजयोत्सव मनाउनु पुग्दा अर्को पक्षलार्इ असैह्य हुनू स्वभाविक हुने नै भयो । तर ...

तर के आफ्नो छटपहाटलार्इ अभिव्यक्त गर्दैगर्दा जनमतको बेर्इज्जत गर्ने छुट त्यो पक्षलार्इ छ त ? छैन । एकदम छैन । 

आफूलार्इ सजिलो पर्ने तथ्याङ्कको दावाले यहाँहरूको बहुमतको पुष्टि हुँदैन । जनताको अभिमत गणितिय तथ्याङ्कमा त्यति सजिलो तरिकाले ब्यक्त गर्न मिल्दैन । ख्याल गर्नुस् त, यहाँहरूले जितेका ८ वटै वार्डमा यहाँको विजेता उम्मेदवारले प्राप्त गरेको मत र अरू दलबाट पराजित निकटम प्रतिद्वन्द्वीसहित अन्यको मत जोड्नुस् कुन पक्षको ज्यादा हुन आउँछ ? सबैभन्दा धेरै मत ल्याउनुको मतलब सबैले उनलार्इ रोजे या धेरैले उनलार्इ रोजे भन्ने होर्इन । यो अभिमत त  मैदानमा उत्रिएका बिकल्पहरू मध्य एक जना छानिए भन्ने होर्इन र ? यहाँहरूको विपक्षले जितेको मेयर पद जस्तै यहाँहरूले जितेको दुर्इतिहार्इ पदहरू जनताको प्रतिनिधी मत मात्र हुन । यसलार्इ दूर्बोध्य नबनाउनु मै सबैको हित छ । 

चुनावी अभियानमा भएका तिक्तताहरूलार्इ बिर्सेर तपाइँहरू किन जनताहरूलार्इ सामूहिक एकताको भावबाट हामीहरूले खोजेको विकास सम्भव छ भन्ने सन्देश दिने प्रयत्न गर्नुहुन्न ? 

मेरा प्रिय कांग्रेसी मित्रहरू, बिपीले परिकल्पना गरेको नेपालको समाजबाद ब्यवस्थाको कुन अध्यायमा छ कि विपक्ष मतहरू व्हाइट वास गर्नुपर्छ? नबिर्सिनुस्, राष्ट्रिय स्वाधिनता खतरामा परेको महशुस गरेपछि जिन्दगीभर जसको विरूद्द बिपी लड्नुभो उसँगै हातेमालो गरी राष्ट्र निर्माणका लागि बिपी त्यसै फर्किनुभएको थिएन । लहड र वंशका आधारमा कांग्रेसी हुनुभएको हो भने प्रबुद्द एवं आदरणीय प्रदिप गिरीसँग काङ्ग्रेसका बारे बुझ्ने यत्न गर्नुस । 

त्यस्तै प्रिय कम्युनिष्ट मित्रहरू, जनताको बहुदलीय जनबादको कुन परिच्छेदमा मदन भण्डारीले विपक्षीले धम्काए, ढुंगा हुत्याए भने तीनका छातिमा छुरी रोप्नुपर्छ भनेर उल्लेख गर्नुभएको छ ? अझ त्यो पनि प्रहरी प्रशासनकै अगाडि । खुलेआम । खुल्ला आकाशमुनि, हजारौं मान्छेहरूको भिडमा ? यहि हुँकार गर्दै एकताका गामवेशी, शहरबजार कुद्ने 'क्रान्तिकारीहरू' को हविगती जनमतले के गरार्इदियो ? हेक्का राख्नुस् कामरेडहरू , यो उन्नाइसौ‌ शताब्दीको रक्तरंजित पूर्वाद्द हैन । हामी २१ औं शताब्दीमा प्रवेश गरिसक्यौं, जहाँ प्रतिशोध बन्दुक उठाएर हैन जनमत लिएर गरिन्छ । 

जसरी नगरवासीहरूले आफ्नो जनमत ब्यक्त गरेका छन, त्यसलार्इ शिरोपर गर्दै नगरविकासको खाका कोर्न एकजुट हुने समय शुरू भएको छ । जनताले ५ वर्षको समय दिएका छन् । समयको ख्याल गरौं । अनि नबिर्सौ, अबको ५ वर्षपछि धेरै जनताहरू अझ अरू जागरूक हुनेछन । र, सायदै कोही मासुभात खुवाएर, पेट्रोल राखिदिएर, एक बोरा चामल वा एउटा लुङ्गीमा आफ्नो अमूल्य मत बेच्नेछन् । 

जदौं ।
Post a Comment

Popular Posts