Skip to main content

सामाजिक संजाल, म अनि मेरा साथीहरू

अचानक १६ डिसेम्बरको दिन, अभूतपूर्व साहसका साथ मैले एउटा निर्णय लिएँ । विद्यमान सामाजिक संजालहरूबाट बाहिरिने । उसो त बेलाबेलामा म सामाजिक संजालहरू विशेष गरी फेसबुकबाट दुईचार दिनका लागि विश्राम लिने गर्दथेँ । त्यसरी विश्राम लिदा एकाध साथीभाईहरूले बडो प्रेमपूर्वक मसँग संचार सम्पर्क स्थापित गर्थे। फेसबुकमा निकै नै सक्रिय हुने मलाई छिट्टै फर्किनलाई आग्रह पनि गर्थे । उनीहरूको आग्रह सँगसँगै म फेरि त्यहि भर्चुअल दुनियाँमा सामाजिक सम्बन्धहरूको नविकरण गर्ने कामलाई निरन्तरता दिने गर्दथे । ट्विटरमा खासै सक्रिय नहुने मलाई इन्स्टाग्राममा बेलाबेलामा तरह तरहका तस्बीरहरू पोस्टिनु मन पर्थ्यो । तर, फेसबुकमा चाँहि म अचाक्ली नै सक्रिय थिएँ । तर ८ बर्षदेखिको फेसबुकको खातालाई सदाका लागि निष्क्रिय पारेपछि मसँग चल्तिका सामाजिक संजालमा प्रोफाइल रहेन ।  अतः बितेका आधा महिनादेखि म साँच्चिकै सामाजिक जीवन बाँच्ने प्रयत्नमा लागेको छु ।

उसो त सामाजिक संजालबाट बाहिरिनुलाई कतिपयले साथीभाईहरूको विशाल संजालबाट आफूलाई विमूख पार्नु हो भनेर बुझ्ने गर्दछन् । यहिँ नेर म फेसबुकमा मसँग जोडिएका करिब १२०० जना साथीहरू र मसँग जोडिन चाहेका उत्तिकै संख्याका ज्ञात अज्ञात मानिसहरूलाई याद गर्न पुग्छु । मसँग साथी भएका १२०० जना साथीहरू मध्य बढीमा २ प्रतिशत करिब २२/२४ जनासँग मात्र मेरो अलिकति आत्मिय र अर्थपूर्ण संवाद हुने गर्थ्यो । ती मध्य पनि बढीमा तीनचारजनासँग नियमित (उदा. कम्तिमा पनि साप्ताहिक) रूपमा संचार या संवाद हुन्थ्यो । १२०० जना साथीहरू मध्य प्रायःजसो ५० देखि ६० सम्मले मेरा सम्प्रेषणहरूमा विभिन्न प्रतिक्रिया (Like, Love, Wow, Angry, Sad) र, ती मध्य ५ देखि ७ जनाले टिप्पणी दिने गर्थे । त्यस्तै म चाँहि मेरा १२०० साथिहरू मध्ये प्रायः ३५ देखि ५० जनासम्म साथीहरूका विभिन्न सम्प्रेषणहरूमा प्रतिक्रिया दिने गर्थेँ, जसमध्य ५-७ जनासँग मेरो दोहोरो संवाद टिप्पणी हुने गर्थ्यो । अतः तथ्यगत विश्लेषणमा पनि म के पाउँछु भने सामाजिक संजाल आफ्ना साथीभाईहरूबीचको एउटा ठूलो संजाल निर्माणमा सहायक त छ नै तर अर्थपूर्ण संजाल विस्तारका लागि यो त्यति उपयोगी माध्यम हुनेमा गहिरो सशंय रहन्छ ।

बितेको दुई हप्ताभन्दा बढिको समयमा मैले अनावश्यक सन्दर्भहरूमा घोत्लिनु या समय खेर फाल्नु परेको छैन । जस्तै को साथी कहाँ यात्रा गर्दैछ ? कुन साथीले के खाना खायो ? कुन साथीले कुन ब्रान्डको जुत्ता किन्यो ? कुन रेस्टुरेन्टमा पुगेर कुन साथीले कुन मम खायो ?  कुन साथी कुन संस्था (टोल छिमेकका संस्था जुन दर्ता पनि छैन) के मा निर्वाचित भो ? कसको भाई या बैनी पढ्न या काम गर्नका लागि कुन देशका लागि कतिबेला उड्दै छ ? कुन केटी साथी कोसँग बिहाबन्धनमा बाँधिदै छे ? कसले कसको खोइरो खन्यो ? कसले कसको प्रशंसामा फूलबुट्टा भर्यो? फलानाले बिहेमा कस्तो सुट लगायो ? अझ गज्जप त त्यतिखेर लाग्दो रहिछ, जब हरेक मान्छे राजनैतिक, समाजशास्त्रिय, लैङ्गिक, आर्थिक, द्वन्द्व सम्बन्धि विश्लेषकका रूपमा आफूलाई प्रस्तुत गरिरहेको हुन्छ । यसकारण पनि सामाजिक संजालमा आबद्द अधिकांश आम प्रयोगकर्ताहरू अविश्लेषकहरूको अवैज्ञानिक विश्लेषणमा निर्भर छन । विशेषतः वस्तुपरक एवं तथ्यगत विश्लेषण नगरिएका अपुष्ट एवं अप्रमाणित स्रोतलाई उद्दृत गर्दै कुनै पनि ब्यक्ति या समूहलाई प्रोत्साहन या मानमर्दन गर्ने समाचार, लेख आदिहरू अति थोरै समयमा धेरै मानिसहरूबीच पुर्याइन्छन् या प्रायोजित गरिएका हुन्छन । 

अझ केहि ब्यक्तिहरू सामाजिक संजालका माध्यमबाट आफ्ना कुत्सित मनोकाङ्क्षा पूरा गर्न लागिपरेको पाइन्छ । विशेषत तस्वीर बाडिने सामाजिक संजालहरू मार्फत प्रायः मानिसले आफूलाई सुन्दर मानिसका रूपमा चिनाउन प्रयत्न गरिरहेका छन । म स्वंयले नै कतिपय समयमा कुनै पनि विशिष्ट समय या स्थानमा सम्झनाका लागि भन्दा फेसबुक या इन्स्टाग्राममा प्राप्त हुने रियाक्सनका लागि तस्बीर खिचाएँ । अझ दुःख लाग्दो कुरो त सामाजिक संजालमा सक्रिय रहँदा नै दुर्भाग्यवशः मैले जिन्दगीमा सबभन्दा बढी क्रुरूर फोटोग्राफरहरूका तस्बीरहरू हेर्नुपर्यो । आगोमा जलेका, गाडिले किचेका, धारिलो हतियारले मारिएका मानिसहरूको तस्वीर मात्र हैन सबभन्दा बढी हत्या, हिंसा, बलत्कार, कुटपिट, झैझगडासँग सम्बन्धित समाचारहरू नै धेरैजसोले बाँडेको पाएँ । यस्तो हुँदा नचाहेर पनि ती समाचार या तस्वीरमा आँखा पुग्दो रहिछ र समाचारहरू पढिदो रहिछ । यस्ता समाचार पढेपछि कस्ता भयानक सपनासम्म देखेँ भन्ने म यहाँ लेख्न पनि सक्दिनँ । 

अचानक सामाजिक संजालबाट बाहिरिएपछि मलाई याद गरेर फोन गर्ने मेरा आधा दर्जन साथीहरूलाई म यस बखत विशेष याद गरिरहेको छु । म खासमा कोलाहलबाट बाहिरिएको हुँ । चहलपहलबाट बाहिरिएको हुँ । देखाउनेहरूबाट टाढिएको हुँ । रोष, घृणा, तनाव, कुण्ठा ओकल्नेहरूको जमातबाट अलिकति टाढा बस्न मात्र खोजेको हुँ । साथीहरूबाट टाढिएको छैन । तपाइँ हाम्रा साथीहरूको खास संख्या मुश्किलले १ दर्जन मात्र हो । तपाइँ हामीलाई अप्ठ्यारोमा मद्दत गर्ने साथीहरू पनि दुईचार जना नै हुन् । तपाइँका प्रगति, सफलता या लाभमा  साँचो अर्थमा खुशी हुने साथी भनेको तपाइँ स्वंय बाहेक अरू कति जना हुन्छन होला ? तपाइँका दुःखलाई तपाइँले झैं महशुस गर्ने साथी तपाइँबाहेक अरू कति जना हुन्छन होला ? म मेरो खुशी बाहेक मेरा साथीहरूको खुशीमा खुशी हुने र आफ्ना दुःखहरू जस्तै उनीहरूका दुःखलाई महशुस गर्ने प्रयत्नमा छु । त्यसैले म  खास सामाजिक हुने प्रयासमा छु ।
info@thapanirajan.com
Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…