नेताको छोरा १ - समाज, विकास र चुनाव


(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)


चुनाव प्रचारका क्रममा म्याग्दी दुर्गम गाउँ चौरखानी जाँदै बाटोमा
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 

सडकमा मान्छेहरु हतारिदै आफ्ना गन्तब्यतिर गैरहेको देख्छु । अनि फेरि मनमा अर्को प्रश्न उब्जन्छ, किन यी चिया पसल या चोकहरुमा रोकिएर कुरा गरिरहेका छैनन् ? के यीनले कुरा नगर्ने सन्दर्भ नै नपाएका हुन त? सन्दर्भ त जति पनि छन । तर यी बेफ्वाँकको गफ लगाएर नबस्दा रहिछन । एकपटक मैले रेल बिसौनीमा आधा घण्टाजति बिताउनु परेको थियो । छेउकै कुनामा मेरो सहपाठी मस्त ध्यान गर्दै रहिछ । उसले आँखा खोलेपछि मलाई देख्यो । र, भन्यो – “ओ, निराजान..।” फिनिशहरुमा ऊ मात्रै एउटा साथी छ जसले मेरो नाम यत्तिसम्म शुद्ध भन्न सक्छ । एकछिन कुराकानी भएपछि, म हिडेँ । अलि पर पुगेर उसतिर फर्केर हेरेँ, ऊ पुनः ध्यान मै मस्त बनेछ । हेलसिन्कीको केन्द्रिय रेल बिसौनी सामन्यतयाः निकै चहलपहल हुने स्थान मध्य एक हो । र, त्यही भीडमा मेरो साथी मस्त ध्यान गर्दै थियो । ठीक यहि बखत म मेरा एकजना मित्रलाई याद गर्न पुग्छु, उनी भन्ने गर्थे— खैरेहरू एउटै बिषयमा बर्षौ घोत्लिन सक्छन् । उस बखत उनले सुनाएको खैरे कथाको पात्रसँग म मेरो फिनिश साथीसँग धेरै समानता पाउँछु । आफ्नो रूचीको क्षेत्रमा निरन्तरको लगाव, यिनीहरूको विशेषता हो भन्दा फरक पर्दैन ।

मलाई अक्सर समाज विकासको निर्देशक सिद्दान्त के हुन सक्छ ? भन्ने विषयले गहिरो गरी विथोल्छ । म धेरैबेर त्यसमा घोत्लिन पुग्छु । र, मनमा थुप्रै अपरिषकृत बिचारका बादलहरू मडारिन पुग्छन् । के समाज विकासको मुख्य सुत्रधार आम नागरिकहरू हुन ? नीति निर्माताहरू हुन ? प्रशासनिक संयन्त्र हो या राजनैतिक नेतृत्व ? निश्कर्षहिन विचारका ज्वारभाटाहरू अनिश्चय लक्ष्यका साथ साम्य भएर जान्छन् । मैले केहि मेसो पाउँदिनँ । किनकी, समाज विकासको मुख्य आधार के हो ? या को हो ? भन्ने प्रश्नको ठोस उत्तर मैले आज पर्यन्त पाउन सकेको छैन । 

ठ्याक्कै एक बर्ष पहिले यहाँको स्थानीय निकायको निर्वाचन भएको थियो । नगरपालिकाकाे निर्वाचनमा मात्र नभै अन्य सबै निर्वाचनहरूमा यहाँको सरकार, राजनैतिक दल, नेता, कार्यकर्ता र आम समर्थकहरूले भद्रता पूर्वक चुनावको प्रचार प्रसार गरेको दृश्यले मेरो मथिंगल हल्लाइरहेछ । हाम्रा तिर चुनाव सँगसँगै थुप्रै विकृतिहरूले जरा गाडिरहेको तीतो सन्दर्भलाई नजिकैबाट नियालेको मलाई यहाँको चुनावी माहोलमा एक तहको सहभागिता जनाउन पाउँदा नेपाल र यहाँको चुनावी संस्कारमा विशाल अन्तर रहेको स्पष्टै महशुस भएको छ । उता निर्वाचनमा सहभागी दल र दलका उम्मेदवारहरूले जे जे गर्दा असामान्य व्यवहार (चुनावी आचारसंहिताको अक्षरशः पालना गर्ने स्थिति) भएको ठानिन्छ, ती अभ्यासहरू यहाँको चुनावी संस्कार बनेको छन । मत खसाल्ने दिन नजिकिदै गर्दा स्वंय उम्मेदवार आफ्ना मुद्दाहरू समेटिएर तयार पारेको जानकारी पत्र (ब्रोसर) हातमा लिएर आम मतदाताहरूसँग मतका लागि अपिल गरिरहेको दृश्य सामान्य हो । न कुनै सार्वजनिक भाषणको कार्यक्रम, न कुनै प्रदर्शन, न त जिन्दाबाद र मुर्दाबादको नारा, अरू सामान्य दिनहरू जस्तै मतदानको दिन पनि सामान्य रूपमा नै बित्छ । ठीक यहि बेला मलाई, एउटा प्रश्नले कुत्कुताईरहन्छ, कि यस्तै अवस्था त्यो सुन्दर हिमाली राज्यमा पनि हुन सक्ला ? 


Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)